
News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनपछि रोकिएका फिल्मको छायांकन धमाधम सुचारु हुन थालेको छ र दशैंअघि छायांकन सक्ने तयारी भइरहेको छ।
- फिल्म 'कुमारी' को छायांकन जेनजी आन्दोलनले रोकिएपछि सोमबारदेखि पुनः तनहुँमा सुरु हुने तयारीमा छ।
- जेनजी आन्दोलनका कारण रोकिएका गीतहरू युट्युबमा सार्वजनिक हुन थालेका छन् र दशैंका गीतको तयारी धमाधम भइरहेको छ।
काठमाडौं । जेनजी आन्दोलनले रोकिएका फिल्मको छायांकन धमाधम सुचारु हुन थालेको छ । हल खुलिसकेका छन् भने फिल्म छायांकन थलोतर्फ प्रस्थान गर्न थालिसकेका छन् ।
रेखा थापाको फिल्म ‘३६ को आँकडा’को रोकिएको छायांकन सुचारु भएको छ । दशैंअघि छायांकन सक्ने गरि सुटिङ भैरहेको रेखाले जानकारी दिइन् ।
दिनेश राउतले निर्देशन गर्ने फिल्म ‘कुमारी’को छायांकन सुरु भएको ६ दिन हुँदा अचानक जेनजी आन्दोलन चर्कियो । रोकिएको छायांकन सोमबारदेखि पुनः तनहुँमा सुरु हुने तयारीमा छ ।
क्याप्टेन साब, गोबर गणेश, काजी लगायतका फिल्मको रोकिएको छायांकन पनि धमाधम सुरु हुन थालेको छ । ‘परालको आगो’ले पनि रोकिएको छायांकन सुरु भएको निर्माताले जनाएका छन् ।
निर्देशक चन्द्र पन्तले पनि आफू निर्देशित फिल्म ‘आबाट आमा’को छायांकन सुचारु भएको जनाएका छन् ।
रोकिएका गीत आउन थाले
जेनजी आन्दोलन र सरकारले सामाजिक संजालमा प्रतिबन्ध लगाएपछि रोकिएको फिल्म ‘बलिदान’को शीर्ष गीत मंगलबार युट्युबमा सार्वजनिक भएको छ ।
गायिका तृष्णा गुरुङको गीत ‘लै बरी लै बरी’ आउँदो शुक्रबार रिलिज हुने भएको छ । जेनजी आन्दोलनको कारण तृष्णाले गीत रोकेकी थिइन् ।
खेम सेन्चुरी र सुनिता बुढाको गीत ‘गास कहाँ होला’ मंगलबार युट्युबमा आएको छ । शान्तिश्री परियार, समीक्षा अधिकारीका गीत पनि रोकिएका छन् । उनीहरू पनि चाँडै गीत ल्याउने तयारीमा छन् ।
दशैं सुरु हुन ६ दिन मात्री बाँकी रहेको स्थितीमा स्टुडियोले अहिले धमाधम पेन्डिङमा रहेका गीतको काम गरिरहेका छन् । अघिल्ला वर्षमा भने दशैं गीत तयार पार्न स्टुडियोलाई भ्याइनभ्याइ हुन्थ्यो ।
परिस्थिती भिन्न रहेपछि यसवर्ष दशैंका गीत प्रभावित हुने देखिएको छ । मुलुकको परिस्थितीको कारण गायक हेमन्त शर्माले यसवर्ष दशैं गीत नल्याउने निर्णय गरिसकेका छन् ।
बरु, शर्माले आन्दोलनअघि तयार पारेको एक भिडियो गीत भने चाँडै सार्वजनिक गर्ने बुझिएको छ । नृत्य निर्देशक मौसम हिमालीले आफ्नो एक गीतको छायांकन मुस्ताङमा गर्ने तयारीमा छन् ।
गायक दुर्गेश थापाले रोकिएको यूके टूर पुनः सुरु गर्दैछन् । गायक सज्जनराज वैद्यले भने अन्तर्राष्ट्रिय टूर दुई महिनाको लागि रोकेका छन् । नोभेम्बर १ मा हङकङमा प्रस्तुति दिँदै उनले टूर सुचारु गर्नेछन् ।
प्रतिक्रिया 4