
३१ भदौ, विराटनगर । जेनजी समूहको आन्दोलनका क्रममा अराजक समूहले तोडफोड र आगजनी गर्दा कोशी प्रदेश सरकारका ४२ वटा भवनमा क्षति पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको प्रारम्भिक विवरण अनुसार प्रदेश मन्त्रालयका १८ वटा भवनमा पूर्णरुपमा क्षति भएको छ । २४ वटा भवनमा आंशिक क्षति भएको छ ।
प्रारम्भिक रिपोर्टमा प्रदेश सरकारका ६४ वटा चार पाङ्ग्रे गाडी जलेको छ । ती गाडी अराजक समूहले जलाएको थियो । १२ वटा चार पाङ्ग्रे सवारीमा आंशिक क्षति भएको छ । प्रदेश सरकार मातहतका कर्मचारीले प्रयोग गर्ने १४४ वटा मोटरसाइकल र स्कुटर पूर्णरुपमा क्षति भएको छ । १७ वटामा आंशिक क्षति पुगेको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता एकदेव अधिकारीका अनुसार यो प्रारम्भिक विवरण हो । विस्तृत विवरण संकलन भइरहेको छ । उनका अनुसार प्रारम्भिक विवरण हेर्दा प्रदेशमा एक अर्ब ५० करोड हाराहारी क्षति भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संकलन गरेको विवरण अनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका ९ वटा चार पाङ्ग्रे सवारी जलेका छन् । चार वटा भवन पूर्णरुपमा क्षति भएको छ । २ वटा भवनमा आंशिक क्षति छ ।
पर्यटन वन तथा वातावरण मन्त्रालयको पाँच वटा भवन पूर्णरुपमा क्षतिग्रस्त भएको छ । १० वटा चार पाङ्ग्रे सवारी जलेका छन् । खानेपानी सिचाइँ तथा उर्जा मन्त्रालयमा ४ वटा चार पाङ्ग्रे सवारी जलेका छन् ।
उद्योग कृषि तथा सहकारी मन्त्रालयका ११ वटा गाडी जलेको छ । ५ वटा भवनमा आंशिक क्षति भएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको एउटा भवन र एउटा चार पांग्रे सवारी पूर्णरुपमा क्षतिग्रस्त भएको छ ।
सामाजिक विकास मन्त्रालयको २ वटा भवनमा पूर्ण क्षति भएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालय २ वटा भवन र ८ वटा सवारी, भौतिक पूर्वाधार विकास मन्त्रालयका ७ वटा चार पांग्रे सवारी जलेका छन् । स्वास्थ्य मन्त्रालयमा ३ वटा चार पांग्रे सवारी जलेका छन् । कोशी प्रदेशसभा सचिवालयको ४ वटा भवन र ८ वटा चार पांग्रे सवारी जलेको छ । प्रदेश योजना आयोगको तीन वटा चार पांग्रे सवारी जलेको छ ।
कोशीमा १० जनाको मृत्यु
जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशमा १० जनाको मृत्यु भएको छ । पाँच जनाको आन्दोलनको क्रममा मृत्यु भएको हो, पाँच जनाको कंकाल भाटभटेनीमा भेटिएको हो ।
कोशी प्रदेश प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलका अनुसार मृतकमध्ये पाँच जनाको पहिचान खुलेको छ, पाँच जनाको सनाखत हुन बाँकी छ ।
आन्दोलनका क्रममा झापाको बिर्तामोडमा अर्जुनधारा नगरपालिका–११ का ३० वर्षीय गोपाल सेढाईं, अर्जुनधारा–८ का ३२ वर्षीय दिनेश राजवंशी र पाँचथरको हिलिहाङका ३० वर्षीय कमल भण्डारीको मृत्यु भएको थियो । सुनसरीको इटहरीमा इटहरी उपमहानगरपालिका–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठ र इटहरी–१४ का चंखे भनिने मोहन सरदारको मृत्यु भएको थियो ।
प्रहरीका अनुसार धरानको भाटभटेनीमा गत शुक्रबार चार जनाको शव फेला परेको थियो । सोमबार भाटभटेनीको विराटनगर शाखामा १ जनाको जलेको कंकाल फेला परेको थियो । दुवै घटनामा भेटिएको कंकालको पहिचान खुलेको छैन । आन्दोलनका क्रममा एक सय १४ प्रहरी र ४६ आन्दोलनकारी घाइते भएका छन् ।
मुुख्यमन्त्री काममा फर्किए
जेनजी आन्दोलनको क्रममा सुरक्षाको कारण देखाउँदै सुरक्षित स्थानमा बसेका कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की मंगलबारबाट काममा फर्किएका छन् । उनले आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट क्षतिग्रस्त मुख्यमन्त्री कार्यालयको अनुगमन गरे ।
अनुगमनपछि उनले प्रदेशमा ठूलो क्षति पुगेको बताए । कर्मचारीहरूलाई त्रासमुक्त भएर काममा फर्कन आग्रह गर्दै दशैंअघि नै कार्यालय सञ्चालन हुने वातावरण बनाउन निर्देशन दिए ।
नेपालको इतिहासमै सबैभन्दा ठूलो भौतिक क्षति भएको बताउँदै उनले भने, ‘विभिन्न राजनीतिक आन्दोलन र विरोधका कार्यक्रमहरू भए, तर यति ठूलो क्षति कहिल्यै भएको थिएन ।’
प्रतिक्रिया 4