+
+
Shares

निर्विवाद छैन जेन-जी आन्दोलनको नेतृत्व दाबी गर्ने ‘हामी नेपाल’

मानवीय सहयोग र आन्दोलनमार्फत समाजसेवामा जोडिएको ‘हामी नेपाल’लाई सहयोग गर्ने संस्थाहरू धेरै देखिन्छन् । पछिल्लो समय तिनै कतिपय सहयोगी संस्थाका कारण यो संस्थामाथि प्रश्न उठिरहेको छ ।

कौशल काफ्ले कौशल काफ्ले
२०८२ असोज १ गते २१:५०

१ असोज, काठमाडौं । जेन-जी आन्दोलनले जन्माएको नयाँ सरकारकै राजीनामा माग्ने अवस्थामा आइपुगेका छन् सुदन गुरुङ, जो आफूलाई जेन-जीको नेतृत्व दाबी गर्छन् । यो परिवर्तन आफ्नै कारण आएको भन्दै फेरि उथलपुथल ल्याइदिने धम्की दिन्छन् ।

आइतबार राति मात्र बालुवाटारस्थित प्रधानमन्त्री निवासको ३ नम्बर गेट अगाडि सुशीला कार्कीको राजीनामा माग्दै सुदनले भने, ‘सबसे पावरफुल नेपाली जनता हो । कसैले हामीलाई रोक्न सक्दैन । जुन ठाउँमा लगेर हामीले राखेका छौं, त्यो ठाउँबाट थुतेर निकालिदिन्छु ।’

आफैँले प्रधानमन्त्रीमा सिफारिस गरेर प्रधानमन्त्री सुशीला कार्कीको खुट्टा ढोगेका उनी स्वयं दुई दिन नबित्दै राजीनामा माग्ने अवस्थामा आइपुगे । यसरी क्रमशः अस्थिर र अशान्त चरित्र देखाइरहेको उनको पृष्ठभूमि ‘हामी नेपाल’ भन्ने संस्थासँग जोडिन्छ । उनी हामी नेपालका संयोजक हुन् ।

सुदनले नेतृत्व गरेको यो संस्था पनि निर्विवाद देखिँदैन । सुरुवातदेखि विभिन्न संघ–संस्थासँग जोडिएका काम गरेको छ, जुन आफैँमा विवादित र शंकास्पद रहेको भन्दै टिप्पणी भइरहेका छन् ।

नेपालमा १२ वैशाख २०७२ मा ७.६ रेक्टरको ठूलो भूकम्प गयो, जसमा करिब ९ हजार जनाको ज्यान गयो भने २२ हजारभन्दा बढी घाइते भए । प्राकृतिक विपत्तीले देश संकटमा फस्यो ।

यही पृष्ठभूमिमा सुदनले २०० स्वयंसेवक जम्मा गरे, जुन पछि विस्तार भएर १ हजार ६०० जनाको समूह बन्यो । यी युवाहरूले काठमाडौँका अस्पतालहरूलाई व्यवस्थित गर्न रातदिन खटे । पछि, उनीहरूले नेपालका ४८ वटा दुर्गम स्थानमा पनि सहयोग पुर्‍याए । यही समूहले ‘हामी नेपाल’ नाममा एउटा औपचारिक थलो बन्यो ।

यसरी हामी नेपाल सन् २०१५ मा स्थापना भए पनि सन् २०२० मा मात्र दर्ता भएको देखिन्छ, दर्ता नम्बर ६०९७८९०६५० मा । गैर–नाफामूलक संस्थाको रूपमा दर्ता भएको यसले दाताहरूलाई सिधै सहयोग चाहिनेहरूसँग जोड्ने यसको वेबसाइटमा उल्लेख गरिएको छ । हामी नेपालले जनाएअनुसार यसका सबै स्वयंसेवकहरू आफ्नै खर्चमा काम गर्छन् ।

‘हाम्रो मुख्य उद्देश्य भनेको कुनै हिचकिचाहट वा प्रतिफलको अपेक्षा नराखी आवश्यकता भएकालाई सहयोग गर्नु हो,’ हामी नेपालले भनेको छ ।

हामी नेपालले उल्लेख गरेअनुसार यसले अहिलेसम्म ५४ करोड ९८ लाख १७ हजार १२० रुपैयाँ प्राप्त गरेको देखिन्छ, जसमा अब ६३ लाख ५२ हजार रुपैयाँमात्र बाँकी छ । वेबसाइटमा यसको खर्च कहाँ र कसरी भयो भनेर स्पष्ट खुलाइएको छैन । जति खुलाइएको छ, त्यसअनुसार हिसाब गर्दा गडबड देखिन्छ ।

हामी नेपाल स्थापना गर्नुअघि सुदन इभेन्ट म्यानेजमेन्टसम्बन्धी काम गर्थे । उनी डीजे थिए र काठमाडौँमा ‘ओएमजी’ नामको नाइट क्लबसमेत चलाउँथे । उनको आफ्नो रेस्टुरेन्ट पनि थियो । तर २०७२ सालको भूकम्पपछि उनको जीवनको लय फेरिन्छ । अझ त्यसमा आफ्नै छोरा गुमाएपछि सामाजिक सेवामा लाग्न प्रेरित भएका उनले विभिन्न मिडियामा बोल्दै आएका छन् ।

त्यसपछि उनी निरन्तर हामी नेपालको नाममा सक्रिय हुन्छन् । सामाजिक सञ्जाल फेसबुकमा हामी नेपालको पहिलो पोस्ट १६ जुन, २०१५ मा भएको देखिन्छ । ‘आई टु वी’ इज नाउ- हामी नेपाल’ लेखिएको एउटा समान्य ग्राफिक्स छ ।

त्यसपछि यो समूहले भूकम्पले क्षतविक्षत घरलाई ‘नमस्ते घर’ भन्दै नयाँ घर बनाउन केन्द्रित गरेको देखिन्छ । १ अगस्टमा आएर यसले आफ्नो लोगो सार्वजनिक गरेको छ, जसबारे व्याख्या गर्दै अर्को पोस्टमा लेखिएको छ- यहाँ प्रयोग भएका रङले शान्ति, डेडिकेसन, कन्सिस्टेन्सी र इनिसिएसनबारे जनाउँछ ।

यसरी विवादित संस्थासँग सम्बन्ध रहेको देखिएपछि हामी नेपाललाई पनि सन्देहको दृष्टिले हेर्न थालिएको छ ।

त्यसपछि यसले आफूले गरेको काम प्रदर्शन गर्न थाल्छ । ‘बिफोर एन्ड आफ्टर’ भन्दै सम्बन्धित ठाउँमा आफूले काम सम्पन्न गर्नुअघि र गरेपछिको अवस्थाबारे देखाइन्छ ।

लगत्तै, २५ अगस्टमा अर्को पोस्ट गरेको छ, जसबाट यो संस्था आन्दोलनका गतिविधिमा पनि संलग्न हुन थालेको देखिन्छ । ‘टुगेदर फर युनाइटेड नेपाल- इनफ इज इनफ’ भन्दै खुल्लामञ्चमा प्रदर्शनमा आउन आह्वान गर्छ । ढाका टोपी र राष्ट्रिय पोसाकमा सजिएर र्‍यालीमा आउन भन्छ । सोही योजनाअनुसार प्रदर्शन गर्छ ।

त्यसपछि यसले फेरि समाजसेवा गरेका विभिन्न भिडियो हाल्न थालेको देखिन्छ । कहिले समाजसेवा त कहिले आन्दोनलमा देखिने यो समूह विभिन्न व्यावसायिक घराना र संस्थाको लागि विश्वसनीय संस्था बन्दै जान्छ ।

सबैले यसलाई सहयोग दिन थाल्छन्, जसको हिसाब-किताबको विवरण वेबसाइटमा स्पष्ट नरहेको माथि उल्लेख गरिएको छ ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा भने सन् २०२० मा आएर यो समूह सक्रिय हुन थालेको (यदि अहिलेकै ह्यान्डललाई आधार मान्ने हो भने) देखिन्छ ।

त्यस्तै, १८ अगस्ट २०२० हामी नेपालले डोमेन लिएको देखिन्छ । डोमेन भनेको वेबसाइट सञ्चालनको लागि चाहिने आधारभूत कुरा हो । त्यसबेला लिएको यो डोमेनको समय १८ अगस्ट २०२६ सम्म रहेको छ । त्यसबाहेक २१ अगस्ट २०२८ मा यसमा केही अपडेट गरिएको देखिन्छ ।

तर, यो वेबसाइट अनमोल महर्जनको नाममा रहेको देखिन्छ । त्यसपछि हामीले उनै महर्जनसँग सम्पर्क गर्‍यौं । ‘सुदन दाइले बोलाएर डोमेनहरू लिन सहयोग गर्न भनेपछि मैले सहयोग गरेको हुँ । आईटीका केही काममा सघाएको हुँ । त्यसपछि म यो संस्थामा कुनै तरिकाले पनि संलग्न छैन,’ उनले भने ।

यसरी स्थापना भएको यो संस्थाले क्रमश : भूकम्प, कोरोनाकाल लगायत विभिन्न विपतमा सहयोगको हात फैलाएको देखिन्छ । पछिल्लो समय यसले सन् २०२२ मा वीर अस्पतालको कोभिड वार्डमा ४०० भन्दा बढी कम्बल दान गर्‍यो ।

कोभिड महामारीको समयमा प्लाज्मा र अक्सिजन बैंक बनायो र ग्रामीण क्षेत्रका बालबालिकालाई स्कुल ज्याकेटहरू बाँड्यो । सन् २०२३ मा जाजरकोट भूकम्पमा पनि यो संस्थाले १३ हजारभन्दा बढी परिवारलाई आश्रय, खाना र स्वास्थ्य सहयोग पुर्‍यायो ।

त्यस्तै, हामी नेपालले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रभावकारी र सहज प्रशासनको माग गर्दै दुई महिनाको ‘सेभ घोपा’ अभियान पनि चलायो, जसको चर्चा र तारिफ त्यसबेला अधिकांशले गरे ।

यसले अन्य सामाजिक मुद्दा र बेथितिमा पनि सँगसँगै प्रश्न उठाउँछ, आन्दोलन गर्छ । कोरोना महामारीबीच पनि सरकारका अनियमितताका खबर दैनिकजसो आइरहेका थिए । यसबाट आजित सामाजिक अभियन्ता ईः लगायतले ‘इनफ इज इनफ’ आन्दोलन चर्काएका थिए । त्यसमा पनि हामी नेपाल संस्था जोडिएको देखिन्छ ।

हालै नेपालको सत्तापलट नै हुनेगरी भएको जेन-जी आन्दोलनमा पनि सबैलाई प्रदर्शनमा आउन आह्वान गर्दा सुदनले त्यो प्रसंग कोट्याएका थिए । उनले हामी नेपालको इन्स्टाग्राम ह्यान्डलबाट गरिएको भिडियो पोस्टमार्फत भनेका थिए, ‘इनफ इज इनफको आन्दोलन पनि हामीले त्यसबेला सफल बनाएका थियौँ । त्यसैले यसलाई पनि सफल बनाउनुपर्छ । सबैजना आइदिनुहोला ।’

‘इनफ इज इनफ’ नारालाई आफूले फेसबुक पेज बनाउँदादेखि नै नाराको रूपमा प्रस्तुत गरिरहेकोले पनि पछिल्लो समय सोही नाममा चर्किएको आन्दोलनमा हामी नेपालले दाबी गरेको हुनसक्ने विश्लेषण कतिपयको छ । यद्यपि, कोरोनाकालमा चर्किएको सो आन्दोलनमा पनि उनले सहजीकरणको नाममा अनेक दुःख दिएको अनुभव त्यसका अभियन्ताले सुनाएका छन् ।

‘जेन-जी आन्दोलनलाई तुहाउनु हुँदैन । म त सुरुमा सहजीकरण गर्ने हिसाबले मात्र गएको थिएँ । हामीले सधैंजस्तो यो आन्दोलनमा पनि सहयोग गरेको हो,’ सुदनले भनेका छन्, ‘तर पछि सबैले मलाई विश्वास गरेर नेतृत्व लिइदिनु भनेपछि अगाडि आएको हुँ । त्यसैले यो आन्दोलन सुरुवात मैले गरेको हैन, अन्त्य चाहिँ मैले गरेको हुँ ।’

यसरी मानवीय सहयोग र आन्दोलनमार्फत समाजसेवामा जोडिएको हामी नेपाललाई सहयोग गर्ने संस्थाहरू धेरै देखिन्छन् । पछिल्लो समय तिनै कतिपय सहयोगी संस्थाका कारण यो संस्थामाथि प्रश्न उठिरहेका छन् ।

जेन-जी आन्दोलनको नेतृत्व सुदनले लिएपछि यस संस्थालाई जोडेर अनेक ‘कथ्य’बारे सामाजिक सञ्जालमा टीकाटिप्पणी भइरहेका छन् । यसलाई सहयोग गर्ने संस्था नै विवादित भएकाले यो आन्दोलनमा अनेक चलखेल भएको कतिपयको अनुमान छ ।

त्यसको सबैभन्दा प्रमुख कारण रह्यो, यसमा जोडिएको संस्था, स्टुडेन्ट फर अ फ्री तिब्बत । हामी नेपालको वेबसाइटमा सहयोगी संस्थाको रूपमा राखिएको यस संस्था दलाइ लामासँग मिलेर तिब्बतको स्वतन्त्रताका लागि काम गर्ने गरेको देखिन्छ । नेपालमा भएका कतिपय त्यस्ता चीन विरोधी गतिविधिमा सोही संस्थाको हात रहेको विभिन्न घटनाक्रमले देखाउँदै आएका छन् ।

हामी नेपालले आफ्नो वेबसाइटमा राखेको उक्त संस्थाको लोगोमा क्लिक गर्दा पनि सो संस्थाको वेबसाइटमा पुगिन्छ । र, त्यहाँ यसका उद्देश्य स्पष्ट लेखिएको छ, ‘तिब्बतमा रहेका तिब्बतीहरूको आवाजलाई बुलन्द बनाउँदै… ।’

एकातिर स्वतन्त्र तिब्बत अभियानमा संलग्न संस्थाले हामी नेपाललाई सहयोग गर्नु, अर्कोतर्फ जेन-जी आन्दोलनपछि उसकै सक्रियतामा बनेको सुशीला कार्कीको अन्तरिम सरकारलाई दलाइ लामाको शुभकामना सन्देश पठाइहाल्नु संयोग मात्रै हो कि अरु केही छ ? प्रश्न उठिरहेको छ ।

हामी नेपालसँग जोडिएको संस्था, स्टुडेन्ट फर अ फ्री तिब्बत (रातो घेरामा) ।

छिमेकी मुलुक चीनकै राष्ट्रपति सी चिनफिङभन्दा अगाडि उनको सन्देश आएको भन्दै कतिपयले शंकाको दृष्टिले हेर्न थाले, जुन आफैँमा संयोग हो वा के हो समयले पुष्टि गर्ला ।

त्यस्तै, जेन-जी आन्दोलनको केन्द्रमा सुदन देखिन थालेसँगै डा. सन्दुक रुइत नेतृत्वको बारबरा फाउन्डेसनले आर्थिक सहयोग गरेको भन्दै प्रश्न उठ्न थाल्यो । जसबारे डा. रुइत र स्वयं बारबरा फाउन्डेसनले ‘कोरोनाकालबाहेक अन्य समयमा कुनै किसिमको सम्बन्ध छैन’ भनेर स्पष्ट पारिसकेको छ ।

तर, यहीबीचमा फेरि अर्को भिडियो भाइरल भयो, जसमा हामी नेपालका सुदनले ‘म डा. सन्दुक रुइतकै निर्देशनमा चल्छु’ भनेका छन् । यसबारे प्रश्न गर्दा रुइतले भावुक हुँदै भनेका छन्, ‘म उसको कुनैबेला मेन्टर हो । कोभिडको समयमा हामीले सहयोग पनि गरेको हो । त्यो अहिले भाइरल भएको भिडियो पनि त्यहीबेलाको हो । कृपया, टिप्पणी गर्नुअघि सबैले फ्याक्ट चेक गर्नुहोला ।’

निश्चल भावनाले खोलिएको भनिएको हामी नेपाल आज जेन-जी आन्दोलनसम्म आइपुग्दा अब प्रश्नको घेरामा छ । विभिन्न विवादित संघ-संस्थासँगको हिमचिम र अहिलेको अस्वाभाविक राजनीतिक उलटफेरले यसलाई शंकाको दृष्टिले हेर्न थालेका हुन् । तर हामी नेपालका संयोजक सुदन गुरुङ भने यी सबै कुरा अपवाह भएको बताउँछन् ।

‘जेन-जी आन्दोलनलाई तुहाउनु हुँदैन । म त सुरुमा सहजीकरण गर्ने हिसाबले मात्र गएको थिएँ । हामीले सधैंजस्तो यो आन्दोलनमा पनि सहयोग गरेको हो,’ सुदनले भनेका छन्, ‘तर पछि सबैले मलाई विश्वास गरेर नेतृत्व लिइदिनु भनेपछि अगाडि आएको हुँ । त्यसैले यो आन्दोलन सुरुवात मैले गरेको हैन, अन्त्य चाहिँ मैले गरेको हुँ ।’

लेखक
कौशल काफ्ले

काफ्ले अनलाइनखबरमा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?