
जेनजीहरूले गरेको अव्यवस्था र भ्रष्टाचारविरुद्धको आन्दोलनपछि भएको आगजनीका कारण धेरै भवनहरंमा क्षति पुगेको छ । आक्रोशित प्रदर्शनकारीहरूले अग्ला संरचना, सरकारी भवन तथा व्यापारिक भवनहरूमा आगो लगाए । ती भवनहरूमा लामो समयसम्म आगो लाग्यो । कतिपय स्थानमा २४ घन्टासम्म आकाशका धुँवा उडिरहेको देखिन्थ्यो।
प्रभावित क्षेत्रमा आन्दोलनकारीको भीड र अराजकताका कारण प्रहरी आफ्नो जिम्मेवारी निर्वाह गर्न असमर्थ रहँदा, दमकलहरू पुग्दा पनि आगो नियन्त्रणमा कठिनाइ भयो ।
आगोको धुँवा र धुलोले आकाश अँध्यारो र धुवाँमय भयो । जलिरहेका भवनहरूले नेपालको गम्भीर राजनीतिक अस्थिरताबाट उत्पन्न युवाका अशान्त मनोवृत्तिको कथा उद्घाटित गरिरहेका थिए ।
क्षतिग्रस्त कंक्रीट, बिग्रिएका स्टील संरचना तथा खण्डहरमा परिणत भएका पुराना भवनहरूले नेपालको शहरी आकाशलाई देशको कालो वास्तविकताले ढाकेको अनुभूति गराए। मानिसहरूले हेर्दै गर्दा सहरका धेरै आधुनिक संरचना, सिसाका भवनहरू, र ऐतिहासिक राणाकालीन भवनहरू जस्तै सिंहदरबार लामो समयसम्म जले ।
यस्ता आन्दोलन, आगजनी र प्रदर्शनपछि यी भवनहरू प्रवेशका लागि साँच्चै सुरक्षित छन् कि छैनन् भन्ने प्रश्न उठ्छ। संरचनात्मक मूल्याङ्कन बिना भवनमा प्रवेश गर्दा भग्नावशेष खस्ने वा भत्किने जोखिम रहन्छ। ध्यानपूर्वक संरचनात्मक मूल्याङ्कन गरिएको खण्डमा मात्र ती भवनहरूले भविष्यमा सुरक्षित रूपमा सार्वजनिक सेवा प्रदान गर्न सक्षम हुन्छन्।
भवनहरू बाह्य रूपमा सुरक्षित देखिए पनि वास्तविकतामा अझै भय र जोखिम कायम रहेको छ। आगलागीबाट क्षतिग्रस्त यी संरचनाहरूमा सामान्य नागरिक, पत्रकार वा अन्य व्यक्तिहरु अवलोकनका लागि तुरुन्त प्रवेश गरेको देखिएको छ।कोही समाचार संकलनका लागि, कोही बाँकी रहेका बहुमूल्य सामग्रीहरू लुट्न, जसले गर्दा मानिसहरूमा यस्ता भवनहरू असुरक्षित छन् भन्ने चेतना पर्याप्त रूपमा विकसित नभएको देखिन्छ। यस्ता जीर्ण भवनहरूको छाना भत्किने जोखिम उच्च हुन्छ। यस्ता जलेका भवनहरूमा प्रवेशको अनुमति केवल इन्जिनियरहरूले संरचनात्मक मूल्याङ्कन पूरा गरेपछि मात्र दिनुपर्छ।
संरचनाहरूमा आगलागीको अदृश्य प्रभाव
आगो र विस्फोटबाट हुने क्षति केवल जलेका कालो पर्खाल वा टुटेका झ्यालमा मात्र सिमित हुँदैन। सबैभन्दा ठूलो चिन्ता भनेको संरचनात्मक तत्वमा के भइरहेको छ भन्नेमा निहित हुन्छ। आगोको उच्च तापक्रमले कमजोर पारेका क्षतिग्रस्त स्टील र कंक्रीट संरचनाहरूले प्रारम्भिक संकेत देखाउँदैनन्।
यदि इन्जिनियरहरूले भवनको मूल्याङ्कन गरे भने, कुनै पनि जनतालाई जोखिममा नपारी, उनीहरूले इन्जिनियरिङ विधिबाट कंक्रीटमा दरार, स्टील बाङ्गो, र अन्य संरचनात्मक स्टील घटकहरूमा कमजोरीका संकेतहरू पहिचान गर्न सक्छन्।
भवनमा आगोको क्षति प्रायः आँखाले देख्न नसकिने स्तरको हुन्छ। कङ्क्रिट आगोको तापको खराब माध्यम भएकाले यसले केही हदसम्म तापक्रमको वृद्धि सहन सक्छ। तर, कार्बोनेसनका कारण कङ्क्रिटको रंगमा परिवर्तन हुँदै गुलाबी हुँदै अन्ततः खैरो रंग देखिन थाल्छ। तापक्रमको प्रभावले ल्याउने असरलाई रङ परिवर्तनबाट अध्ययन गर्न सकिन्छ।
आगोको प्रत्यक्ष असरका रूपमा प्लास्टर वा कङ्क्रिटको सतह झर्ने प्रमुख दृश्यात्मक प्रभाव हो। यस्तो असर र निरन्तर जलनका कारण कङ्क्रिटभित्र रहेको स्टील रेइन्फोर्समेन्टको संरचना र बलसमेत कमजोर बन्छ। यसले सम्पूर्ण रेइन्फोर्स्ड कङ्क्रिट संरचनाको वहन क्षमता घटाउँछ।
स्टील संरचनाको हकमा, अत्यधिक तापक्रमका कारण स्टीलका तत्त्वहरू बंगिनु र आफ्नो स्वरूप तथा कार्यक्षमता गुमाउनु जस्ता समस्याहरू देखिन्छन्। साथै, जडान भएका भागहरूमा बोल्टहरू संरचनात्मक दृष्टिले भाँचिन सक्ने सम्भावना हुन्छ।
आगलागीबाट क्षतिग्रस्त संरचनाहरूको अध्ययनले सम्भावित क्षतिको गहिरो विश्लेषण प्रदान गर्न सक्छ। जब कंक्रीटलाई ४००–६०० डिग्री सेल्सियसको उच्च तापक्रममा १–२ घण्टा राखिन्छ, यसको कम्प्रेसिभ क्षमताको २०–५० प्रतिशत गुमाउन सक्छ। त्यहि तापक्रमसम्म स्टीलमा कुनै उल्लेखनीय क्षति देखिँदैन। तर, ८०० डिग्री सेल्सियसमा पुग्दा, स्टीलको उपज शक्ति लगभग ३० प्रतिशत ले घट्छ, जबकि कंक्रीटको कम्प्रेसिभ शक्ति उल्लेखनीय रूपमा ८२ प्रतिशतले घट्छ।
साथै, आगो निभाउन प्रयोग गरिएको पानीबाट हुने तीव्र चिस्याईले संरचनात्मक क्षति थप बढाउन सक्छ।आगो लागेपछि भवन बाह्य रूपमा स्थिर देखिए पनि, वास्तविकतामा संरचनात्मक सदस्यहरूको क्षमता आधा वा अझ कम भएको हुन सक्छ।
नेपालको अग्नि सुरक्षा प्रणालीमा रहेको कमजोरी
नेपाल भूकम्पीय दृष्टिले उच्च जोखिममा रहेको देश हो र हालैको नेपाल भवन संहिताको परिमार्जनले भूकम्पीय सुरक्षालाई प्राथमिकता दिएको छ। तर, यस्तै प्राथमिकता आगो प्रतिरोधी डिजाईन र संरचनामा पनि दिनु आवश्यक छ। अन्तर्राष्ट्रिय भवन संहिता, यूरोकोड EN 1992-1-2, वा NFPA निर्देशिका अपनाउने देशहरूको तुलनामा, एनबीसी मा संरचनात्मक सदस्यहरूको लागि आगो प्रतिरोध डिजाईन अनिवार्य गरिएको छैन।
यस नियमावलीको अभावले भवनहरू गम्भीर आगोको भार सामना गर्न पर्याप्त रूपमा तयार नहुने बनाउँछ, जसले आगपछिको प्रयोगक्षमता र सार्वजनिक सुरक्षामा जोखिम उत्पन्न गर्दछ।
चिन्ताजनक कुरा के छ भने, नेपालमा स्थानीय भवनहरूको आगलागीपछि कार्यसम्पादनमा आधारित अनुसन्धान र केस स्टडीहरू पर्याप्त छैनन्। इन्जिनियर र सम्बन्धित अधिकारीहरूको अपर्याप्त ज्ञान तथा दक्षताका कारण जोखिम व्यवस्थापन चुनौतीपूर्ण छ । त्यसैले, प्राविधिक दक्षता र सचेतनाको तत्काल आवश्यकता रहेको छ।
विश्वव्यापी रूपमा, आगोपछि संरचनाको फोरेंसिक मूल्याङ्कन गरिन्छ, जसले क्षतिग्रस्त संरचनाका बाँकी क्षमता, स्थिरता, र आवश्यक मर्मत वा पुनःसुदृढीकरणको आवश्यकता निर्धारण गर्दछ। यी मूल्याङ्कनहरू महत्वपूर्ण छन् किनभने आगोले प्रभावित संरचनात्मकहरूले आफ्नो लोड-बेयरिङ क्षमता गुमाउँछन् र कंक्रीटको क्षमता कम हुन सक्छ। केवल सतही मर्मत वा पर्खाल पुनःरंगले लुकेका कमजोरीहरू समाधान हुँदैनन्।
यदि अधिकारीहरूले यस्तो मूल्याङ्कन आदेश गर्न ढिला गर्छन् भने, कमजोर संरचनाहरू विफल हुँदा आवश्यक सेवामा बाधा आउन सक्छ, जसले जीवन र सम्पत्तिका लागि जोखिम सिर्जना गर्दछ।
आगामी कदमहरू
अहिले देशभर व्यापक संरचनात्मक क्षति पुर्याएको छ। सुपरमार्केट तथा अन्य व्यवसायिक आउटलेटहरू सहित धेरै भवनहरू पूर्ण रूपमा ध्वस्त भएका छन्। धेरै होटलहरू, शो–रूमहरू, र डाटा सेन्टरहरू समेत गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्। यसबाट लगानीकर्ताहरूले आफ्नो पूँजी गुमाएका छन्, बीमा कम्पनीहरूले वित्तीय भार बेर्नु परेको छ, कामदारहरूले रोजगारी गुमाएका छन् ।
विशेष गरी हालैको विरोध-सम्बन्धित प्रकोपहरूको सन्दर्भमा, आगो डिजाईन कोडहरू भूकम्पीय कोडहरू जस्तै समान महत्वका साथ लागू गर्नु आवश्यक छ। भवनलाई आश्रय वा पुनः प्रयोग गर्नु अघि, संरचनात्मक इन्जिनियरहरूले आगोपछिको निरीक्षण अनिवार्य रूपमा गर्नु पर्छ।
इन्जिनियरहरूले आगलागीबाट क्षतिग्रस्त भवनहरूको प्रारम्भिक मूल्याङ्कन गर्दा द्रुत दृष्टि मूल्याङ्कन बाट प्रक्रिया सुरु गर्नु आवश्यक हुन्छ, जसका लागि पूर्वतयारीस्वरूप एक चेकलिस्ट तयार गरिएको हुनुपर्छ।
निरीक्षणको क्रममा भएको क्षतिको आधारमा जोखिमको स्तर पहिचान गर्न सकिन्छ। यदि प्रारम्भिक मूल्याङ्कन गरियो भने, इन्जिनियरहरूले भवनहरूलाई प्रयोगको लागि वर्गीकृत गर्न सक्छन् – सुरक्षित, सीमित प्रयोगयोग्य, वा असुरक्षित। त्यसका आधारमा रातो, पहेँलो र हरियो रंगका प्लाकार्डहरू प्रयोग गरी भवन तुरुन्त प्रयोग योग्य छ कि छैन, सानो मर्मत वा मजबुतीकरण आवश्यक छ कि छैन, अथवा पूर्ण रूपमा भत्काउनुपर्ने अवस्था छ कि छैन भन्ने निर्णय गर्न सकिन्छ।
प्रयोगशालागत परीक्षणसम्मको विस्तृत मूल्याङ्कनले नागरिक र सम्बन्धित पक्षहरूलाई भवन प्रयोगको लागि सुरक्षित छ कि छैन भन्ने विश्वस प्रमाण प्रदान गर्छ।
यदि निरीक्षणहरूलाई प्राथमिकता दिइयो र निष्कर्षहरू उचित रूपमा कार्यान्वयन गरियो भने, प्रशासनिक केन्द्रहरू, कारखानाहरू र घरहरू पुनः सञ्चालनमा आउन सक्छन् । लामो समयसम्म सुरक्षित रहन सक्छन्।
मूल्याङ्कन नगरी जलेका संरचनामा प्रवेश कडाइका साथ निषेध हुनुपर्छ । किनभने ती कुनैबेलासमेत बिना चेतावनी भत्किन सक्छन्। सुरक्षित घोषित नभएसम्म यस्ता संरचना प्रतिबन्धित क्षेत्र मानिनुपर्छ। उचित पोस्ट-डिजास्टर प्रोटोकल बिना त्यहाँ जान मिल्दैन ।
(श्रेष्ठ स्ट्रक्चरल इञ्जिनियर र भट्ट भूकम्प इञ्जिनियर हुन् ।)
प्रतिक्रिया 4