
News Summary
Generated by OK AI. Editorially reviewed.- जेन जी प्रदर्शनमा हिंसा फैलिँदा संसद भवन, पुराना भवन र निजी सम्पत्तिमा तोडफोड र आगजानी भयो।
‘ए ब्रो, नगरौं न यार । हाम्रै पैसाले बनाएको प्रपर्टी हो ।’
आक्रोशित जमात संसद भवनको भर्खाल भत्काउन खोज्दै थिए, त्यही भीडबाट एक युवा उठे । र, चर्को स्वरमा कराए, ‘नगर भाइ छाड्देऊ । नगर । यो हाम्रै पैसाले बनाएको हो । हाम्रै प्रपर्टी हो ।’ तर, उग्र भीड रोकिन तयार भएनन् । बरू उनीमाथि पनि रिस पोख्न थाले ।
सजन श्रेष्ठ, जसलाई जेन जी प्रदर्शनका थुप्रै भिडियो क्लिपमा देख्न सकिन्छ । र, अधिकांशमा उनी भनिरहेका छन्, ‘तोडफोड नगरौं। प्राइभेट प्रपर्टीमा ढुंगा नहानौं ।’
जथाभावी ढुंगा हान्दै बढेको एउटा जमातले सिप्रदी ट्रेडिङको शोरुमलाई लक्षित गर्छ । त्यहाँको सिसा झर्यामझुरुम फुटाइन्छ । तब सजन ती उच्छृंखल युवाहरूलाई संकेत गर्दै भन्छन्, ‘यिनीहरू आन्दोलनमा आएको हो जस्तो लाग्दैन । तोडफोड गर्न थालिसके । रोकौं न यार । सबै मिलेर रोकौं ।’
सम्भव भएसम्म उनी भीडलाई तोडफोड, आगजानी नगर्न भनिरहेका देखिन्छन् । यद्यपि अनियन्त्रित भीड कसरी रोक्ने ?
जेन जी प्रदर्शन जब हिंसामा बदलियो, त्यसले धेरै संरचनालाई खरानी बनाइदियो । पौराणिक विरासत बोकेको शताब्दी पुरानो भवनदेखि निजी घर र उद्योगलाई खण्डहर बनाइदियो । कैदीहरू कारागार भत्काएर भागे। सडकमा आगो बल्यो। शहरमा कोलाहाल मच्चियो ।
यस्तो स्थितिमा पनि कतिपय युवाहरू भने भीडलाई संयम रहन र तोडफोड नगर्न भनिरहेका थिए । त्यसैमध्येका एक थिए, सजन पनि ।
भनिरहनु परेन, उनी कमेडियन हुन् । अहिलेका पुस्तामा निकै रुचाइएका । मस्त हाँस्ने र हँसाउने उनी त्यसदिन भने जेन जी प्रदर्शनमा गएका थिए । प्रदर्शनमा उनी पुग्दा कस्तो थियो, पछि के भयो ?
हामीले उनको अनुभव लियौं ।
‘माथि गोली चल्यो रे’
जेन जी प्रदर्शनका लागि म माइतीघर पुग्दा त्यस्तै ११ बजेको हुँदो हो । हर्षोल्लास थियो । कोही पानी बाँडिरहेका थिए । कोही गीत गाइरहेका थिए । कतिले भ्रष्टचार विरुद्ध प्लेकार्ड बोकेका थिए । एकदम शान्तिपूर्वक सबैकुरा भइरहेको थियो ।
माइतीघरको त्यो प्रदर्शन बिस्तारै बानेश्वरतर्फ बढ्यो । म पनि अगाडि बढें । बिजुलीबजारमा पुग्दा एक जना युट्युबर साथीसँग भेट भयो । उनले सुनायो, ‘माथि गोली चल्यो, प्रदर्शनकारीको टाउको फुट्यो रे ।’
म हतारिदै बानेश्वर चोकमा पुगें । त्यहाँ खास तनावग्रस्त स्थिति भएजस्तो लागेन । भीड त बाग्लो थियो तर हानाहान थिएन । अलि पर तीन जना भाइले संसद भवनमा ढुंगा हान्दै गरेको देखें । मैले उनीहरूलाई रोक्दै भनें, ‘यो शान्तिपूर्ण आन्दोलन हो, ढुंगा नहानौं भाइहरू ।’ तर उनीहरू रोकिने छाँट देखिएन । अर्को छेउमा रेलिङ निकाल्न थालिएको रहेछ । म उनलाई पनि रोक्न खोज्दै थिएँ । त्यहीबेला टियर ग्यास प्रहार भयो । भागाभाग भयो । म पनि भागेर बैंकको कम्पाउन्डमा गएँ ।
त्यसबेला प्रहरीहरू निजी घरभित्र पसेर टियर ग्यास हानिरहेका रहेछन् । प्रदर्शनकारीहरू ‘यहाँबाट हान्यो, यता छ’ भनी प्रहरीलाई लक्षित गर्दै ढुंगा हान्न थाले । त्यसपछि टियर ग्यास हान्ने, आवाज आउने क्रम बढ्न थाल्यो ।
म बानेश्वरबाट फर्किएँ । बाटोमा एम्बुलेन्स देखियो । त्यहाँ एक जना प्रदर्शनकारीलाई राखिँदै थियो । टाउकोमा गोली लागेको छ भनी हल्ला चल्यो । बाटोमा रगतको आहाल थियो ।
म पहिलेकै ठाउँतर्फ फर्किएँ । तल भने खासै तनावको स्थिति थिएन । पहिलेको जस्तो शान्तिपूर्वक प्रदर्शन गरिरहेका थिए । त्यो दिन यतिकै भयो । म घर फर्किएँ । भ्लग एडिट गरें । त्यसदिन ठूलै विध्वांश मच्चिएको भन्ने पनि मैले भेउ पाइनँ ।
भाइबहिनीहरूको टाउको–टाउकोमा गोली हानिएको थाहै भएन ।
भोलिपल्ट के होला भन्ने थियो । जे होस् शहर सरसफाइमा लाग्नुपर्छ होला भन्ने मानसिकता बनाएको थिएँ । बिहान निस्किएँ । त्यहीबेला कुनै मन्त्रीको घर तोडफोड भयो रे भन्ने सुनियो । म सडकमै थिएँ, तर कहाँ के भइरहेको छ भन्ने थाहा पाउन सकेको थिइनँ । तोडफोड, आगलागी सुरु भइसकेको रहेछ ।
थापाथली चोकमा पुग्दा मान्छेहरू सिप्रदी ट्रेडिङको शोरुममा ढुंगा हान्न तम्सिदै थिए । त्यो मान्छेहरू प्रदर्शनकारी जस्ता थिएनन् । उपद्रो गर्नकै लागि आएको जस्तो देखिन्थे । मैले उनीहरूलाई रोक्न खोजें । निजी सम्पतिमाथि यसरी तोडफोड नगरौं भनें । तर, उनीहरूले मलाई सुनेनन् ।
तोडफोड गर्नेहरूलाई रोकौं न सबै मिलेर भनें । तर, त्यहाँ रोक्ने भन्दा तोडफोड गर्नेहरू बढी थिए । त्यसदिन घर फर्कँदा एकदमै नरमाइलो लाग्यो । बाटोमा जे जस्ता दृश्य देखिए, त्यो चित्तबुझ्दो थिएन । कतै आगो लगाइएको, कतै तोडफोड गरिएको।
बाटोमा जेलबाट भागेका कैदीहरू पनि भेटिए । के भयो के ? सोच्न पनि सकिनँ ।
राति आएर एउटा भिडियो बनाएँ, जेन जी प्रदर्शनबारे । सुरुमा मैले जेन जी प्रदर्शनलाई समर्थन गरेको थिएँ, सहभागी पनि भएको थिएँ । तर, त्यसमा घुसपैठ भयो । शान्तिपूर्ण प्रदर्शनलाई हिंसा गर्न उक्साइयो । जे नसोचेको, त्यही भएर छाड्यो ।
प्रतिक्रिया 4