३ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाविधेशनका बारेमा केन्द्रीय समिति र विस्तारित बैठकमा छलफल गर्ने भएको छ ।
७ असोजमा बस्ने केन्द्रीय समिति बैठकमा पार्टीको कार्यदिशासम्बन्धी बृहत प्रस्ताव पेश हुनेछ । केन्द्रीय समितिले पारित गरेको प्रस्तावलाई छलफलका लागि विस्तारित बैठकमा पेश गरिने भएको छ । विस्तारित बैठकको मिति केन्द्रीय समितिले निर्धारण गर्ने भएको छ ।
रास्वपाले पहिलो महाधिवशेनका लागि आगामी ७ देखि ९ सम्मको समयावधि तोकेको थियो । फागुन २१ मा निर्वाचन हुने भएको हुँदा त्यस समयमा महाधिवेशन नहुने भएको छ ।
प्रवक्ता मनिष झाले भने, ‘फागुन ७, ८ र ९ गते आयोजना गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेकोमा, वर्तमान सरकारले २०८२ फागुन २१ गते आम निर्वाचन घोषणा गरेको परिवर्तित परिस्थितिलाई ध्यानमा राखी, महाधिवेशनसम्बन्धी आवश्यक छलफल र निर्णय आगामी विस्तारित बैठकमा गर्ने प्रस्ताव गरिएको छ ।’
बिहीबार बसेको रास्वपाको सचिवालय बैठकले विध्वंस, लुटपाट र तोडफोड रास्वपाको राजनीतिक संस्कृति नभएको स्पष्ट पारेको छ । जेनजी आन्दोलनपछिको संवेदनशील अवस्थामा समाज विभाजित हुन नदिन ‘सद्भाव तथा सहकार्य अभियान’ प्रारम्भ गर्ने सचिवालयले निर्णय गरेको छ । ‘असहमतिलाई वैमनस्यता बाट होइन, संवाद र सहिष्णुताबाट समाधान गर्ने पार्टीको दृढ प्रतिवद्धता फेरि पनि जाहेर गर्दछौं,’ प्रवक्ता झाले भने ।
प्रतिक्रिया 4