
भदौ २३ र २४ गतेका प्रदर्शनमा आफ्ना जीवन गुमाउने सबैमा आज १३ औं पुण्यतिथिको यो दिनमा श्रद्धाञ्जली अर्पण गर्छु । हाम्रा भत्किएका घर फेरि बन्नेछन्, कार्यालय पनि फेरि बन्नेछन् । तर हाम्रो गुमेको यो जीवन फेरि फर्कनँ । मलाई कतिपय साथीहरूले घाइते कि नभेटेको भनेर सोध्नुभयो । मैले भनेँ– म अहिले जान सक्दिनँ । मलाई अफ्ठ्यारो लाग्छ । भ्रष्टाचारको अन्त्य र सुशासनको माग राख्दाराख्दै उनीहरू लडे र ढले । यो माग पूरा गर्ने सन्दर्भमा मेरो प्रयत्नले केही ठोस परिणाम ल्याउन सक्यो भने त्यो परिवारलाई भेट्नका लागि योग्य ठान्छु ।
भर्खरै अन्तरिम सरकार बनेको छ । आन्दोलनको बलमा । निर्वाचन यसको म्यान्डेट हो । हामी सबैले सहयोग गर्नुपर्छ । यो बाहेक दुईवटा कुरा यसले गर्नुपर्छ ।
पहिलो, भाद्र २३ गतेको आन्दोलनमा व्यापक दमन भएको छ । दमनको छानबिन हुनुपर्छ ।
भदौ २४ गतेको आन्दोलनमा एकातिर नौजवानहरूको रिस थियो, आक्रोश थियो, परिवर्तनको चाहना थियो, त्यो एउटा पाटो भयो । सँगसँगै कतिले यही मौका छोपेर व्यापक रुपमा आफ्नो प्रतिशोध साँध्ने काम गरेको छ । निहीत स्वार्थ पूरा गर्ने प्रयत्न गरेको छ, व्यापक घुसपैठ भएको छ । अदालतदेखि सिंहदरबार र राष्ट्रपतिको भवनसम्म जलाउनका लागि प्रयोग भएका हतकण्डाहरू हामीले हेर्यौं भने, नेताहरूको घरभित्र भएको आक्रमण हेर्यौं भने, कतिपय बिजनेस हाउसमा भएका तार्गेटहरू हेर्यौं भने यसले धेरै कुराहरू हामीलाई बताउँछ । धेरै विवरण सार्वजनिक भइरहेका छन्, कतिपय पार्टीका मानिसहरू संलग्न भएको भेटिएको छ । अझै धेरै खुल्दै जाला । त्यसैले आन्दोलनको पवित्रता एकातिर छ, घुसपैठ अर्कोतिर छ । घुसपैठ कसले गरे, किन गरे सबैमा छानबिन भएर दोषिले सजाय पाउनुपर्छ । यो दण्डहीनताले प्रशय पाउनुपर्छ भनेर मात्रै होइन । यदी यतिले सजाय पाएनन् भने अलि पछि जब भाद्र २३ र २४ को सम्झना हुन्छ । त्यो बेलामा यत्रो त्याग र बलिदानबाट युवाहरूले गरेको आन्दोलनलाई बदनाम गराउनका लागि यीनै कुरा प्रयोग हुन्छन् । यीनै घटनाका विवरण प्रयोग हुन्छ । त्यसका लागि पनि हामी सबैको माग हुनुपर्छ । २३ गतेको दमन र २४ गतेको घुसपैठ दुवैको छानबिन हुनुपर्छ ।
दोस्रो कुरा भ्रष्टाचार । २०४६ सालपछि जोजो मुख्य जिम्मेवारीमा छौं, म बसेको छु । मन्त्री भएको छु, ४ पटक सांसद भएको छु । म जस्तो राजनीतिक दलमा आबद्ध भएका अड्डा अदालत प्रहरी, प्रशासन, सेवा सबैमा काम गर्नेहरूको सम्पत्ति, स्रोत, जग्गा, जमीन, व्यापार, व्यवसाय, हामी संलग्न भएको भनिएका कतिपय व्यवसाय, काण्ड प्रत्येकको बिना प्रतिशोध छानबिन हुनुपर्छ । दूधको दूध पानीको पानी जसले गल्ती गरेको छ, उसले सजाय पाउनुपर्छ । अनिमात्रै अलिकतिमात्रै उपलब्धि भएको ठहर्छ ।
सरकारले त गर्नुपर्छ भनेर हामी भन्छौं । तर, हामी पार्टीले के गर्ने हो ? यत्रो उथलपुथल भएको छ, हामीले पार्टीलाई जस्ताको तस्तै राख्न सक्छौं ? राखेर टिकाउन सक्छौं ? यत्रो भइसकेपछि यो आन्दोलनमा व्यक्त भएको भावनालाई हामीले बोकेर हिँड्नसक्ने अवस्था छ कि छैन ? छ । पार्टीको पुनर्गठन नगरी यो सम्भव छैन । म कसैलाई दोष दिएर यो भनिरहेको छैन । म आफैं कांग्रेसको महामन्त्री छु, म मेरो भागको मात्रै होइन, अरु दोष लिन पनि तयार छु । मेरो र अर्को महामन्त्रीको कमजोरी के ठान्दछु भने, हामीले जहिलेपनि सही विषयवस्तु उठायौं । तर, हामीले उठाएको विषयलाई कहिलेपनि टुंगोमा पुर्याउन सकेनौं । बीचमै छाड्यौं । त्यो हाम्रो कमजोरी भयो । तर, यो पटक हामी छाड्दैनौं । यो पटक गर्ने भनेको पार्टीको पुनर्गठनका लागि अधिवेशन नै हो । हामीसँग अर्को कुनै बाटो छैन ।
अधिवेशन गर्ने दुईवटा बाटो छन् । एउटा, हामी नयाँ अधिवेशन गर्न सक्छौं । पुरानो क्रियाशील सदस्यताको नवीकरण यहीँ छाडेर सबैलाई कायम राख्ने । दुई महिनाका लागि नयाँ क्रियाशील सदस्यता खोलिदिने । विषम परिस्थितिमा जो जो पार्टी सदस्य बन्न चाहने सबैलाई स्वीकार गर्ने । विधानको सबै धारा निलम्बन गर्ने र पार्टीका सदस्यबाट सिधा चुनाव गरेर पार्टीको सभापति छान्ने । यो सबैका लागि राम्रो बाटो हुनसक्छ ।
यसमा नजाने हो भने हामीसँग एउटा उपाय हुन्छ । पुरानै प्रतिनिधिबाट विशेष महाधिवेशन गर्ने । त्यसले नयाँ नेतृत्व छान्छ । यो केवल नयाँ नेतृत्व छान्ने विषय मात्रै होइन । पार्टीको नीति, नियम, पार्टीका कमजोरीलाई सुधार्ने, नयाँ कुराको संकल्प गर्ने यो एउटा मौका पनि हुन्छ ।
यो नयाँ कुरा पनि होइन । २०१२ सालमा निर्वाचित भएको सुवर्णशमशेरको कमिटीले निर्णय गरेर, सुवर्णजी आफैंले राजीनामा दिएर २०१४ सालमा विराटनगरमा नेपाली कांग्रेसको विशेष महाधिवेशन भयो जसबाट बीपी कोइराला नेपाली कांग्रेसको सभापति बन्नुभयो । त्यही बीपीको नेतृत्वको पार्टीले नेपाली कांग्रेसलाई दुई तिहाइसहितको पार्टी बनायो । आज फेरि यही बेला आएको छ । कि नयाँ महाधिवेशन गरौं, कि पार्टी सभापति र केन्द्रीय समितिले नै छाडिदिने र विशेष महाधिवेशन गर्न दिने । त्यसबाट नयाँ नेतृत्व लयाउने बाटो खोलिदिने ।
कतिपय साथीहरूले सभापति उपचार गरिरहनुभएको बेलामा यस्तो असंवेदनशील कुरा गर्न सुहाउँछ भनेर । हामी संवेदनाहीन छैनौं । सभापतिको स्वास्थ्यबारे निरन्तर जानकारी लिइरहेका छौं । सभापतिसँग सल्लाहले नै यो कुरा गरौं भनेको हो, सभापतिलाई नै पहिलो कदम चाल्नुस् भनेको हो । तर, एउटा कुरा चाहीँ हो, मनाउने हो फकाउने हो, तर मान्नुभएन कोही फकिनुभएन भने हात उठाउने होइन, अगाडि बढ्ने हो । हामीसँग त्यो भन्दा अर्को विकल्प छैन ।
आफ्नाबारेमा सोचेको भनिरहनुभएको छ कतिपयले । पार्टी रुपान्तरण र पुनर्गठनको यो अभियानमा लाग्दा म जस्तोसुकै मूल्य चुकाउन तयार छु । पार्टीको साधारण सदस्य भएर बस्न तयार छु, भुइँमा बस्न तयार छु । किन यो मेरो विषय होइन । म भन्दा माथि पार्टी छ, पार्टीभन्दा माथि देश छ । देशसँगै यो पनि र्बिसन हुँदैन कि, नौजवानले आगो ओकलेका छन् । उनीहरूले परिवर्तन खोजेका छन् । त्यसलाई सम्बोधन गर्ने पार्टी भयो भने मात्रै रेलिभेन्ट हुन्छौं । त्यस्तो पार्टी भयो भने मात्रै त्यो पार्टीले उनीहरूले सोचेजस्तो देश बनाउने कुरामा कन्ट्रिबयुट गर्न सक्छौं । त्यसो भयो भने मात्रै जो आज घाइते, शहीद परिवारका सदस्यलाई स्वास्थ्य लाभको कामना गर्न सकौंला, श्रद्धाञ्जली अर्पण गर्न सकौंला । अनि मात्रै आन्दोलनप्रतिको सच्चा सम्मान हुन्छ । यस्तो पार्टी बनाऔं, यो पार्टीले मात्रै देशका लागि गर्नपर्ने जिम्मेवारी पूरा गर्न सक्छौं । तपाईंहरू सबैको साथबाट मात्रै यो कुरा सम्भव छ ।
(महामन्त्री गगन थापाले भिडियो सन्देशमार्फत राखेका भनाइको सम्पादित अंश)
प्रतिक्रिया 4