५ असोज, काठमाडौं । जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएको आगजनीले वैदेशिक रोजगार विभाग पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
आगलागीले विभागभित्रका प्रशासन, लेखा र म्यानपावर व्यवसायीसम्बन्धी फाइलहरू खरानी बनाएपछि विभाग अहिले वैदेशिक रोजगार कार्यालयमार्फत अस्थायी रूपमा सेवा प्रवाह गर्दै आएको छ ।
जलेर खरानी भएका फाइलहरूको व्यवस्थापनमा जटिलता आएको छ । विभागले कर्मचारीहरू तथा म्यानपावर व्यवसायीसँग भएका कागजातलाई फोटोकपी गरेर ल्याउन लगाउने तयारी गरेको छ । त्यसका लागि विभागले सार्वजनिक सूचना जारी गर्ने तयारी गरेको छ ।
विभागका महानिर्देशक कमल प्रसाद भट्टराईका अनुसार प्रशासनिक र लेखासम्बन्धी अधिकांश फाइलहरू जलेका छन् । ‘म्यानपावर व्यवसायीहरूको दर्ता नवीकरणसम्बन्धी केही कागजात आंशिक रूपमा जलेका छन् । तर प्रशासनिक फाइल र लेखाका फाइल बढी क्षति पुगेका छन्,’ भट्टराईले बताए ।

उनका अनुसार उजुरी–सुझावसम्बन्धी व्यक्तिगत छलीका फाइल सुरक्षित छन् भने संस्थागत छलीसम्बन्धी केही कागजात मात्र नष्ट भएका छन् । ‘धरौटीसम्बन्धी सबै कागजपत्र जले पनि त्यसको अभिलेख व्यवसायीहरूसँग र बैंकमा हुने भएकाले सार्वजनिक सूचना निकालेर विवरण संकलन गर्ने तयारी भइरहेको छ,’ उनले भने ।
हाल विभागले १७ सयभन्दा बढी दर्ता भएका म्यानपावर व्यवसायीहरूमध्ये प्रत्येकले राखेको ५० हजार रुपैयाँ धरौटीको अभिलेख अद्यावधिक गर्न मन्त्रालयसँग छलफल गरिरहेको छ । ‘यो धरौटी अरबौं रुपैयाँको छ, त्यसैले व्यवसायी र बैंक दुबैबाट क्रस–भेरिफिकेशन गरेर सरकारी रकममा एक रुपैयाँ पनि फरक नपर्ने गरी अद्यावधिक गर्ने काम भइरहेको छ,’ भट्टराईले भने ।
उनका अनुसार प्रशासनिक फाइलहरू पुन: संकलन गर्न कर्मचारीलाई आफ्ना कागजातहरूको प्रतिलिपि ल्याउन भनिएको छ भने लेखासम्बन्धी विवरण व्यवस्थापनबारे परामर्श भइरहेको छ ।
‘विशेषगरी प्रशासनको र लेखाको बढी समस्या भयो । कर्मचारीको सरूवा बढुवा रमनाका फाइल थिए । ति सबै जले । त्यसको व्यवस्थापनका लागि जो आफूसँग भएको फोटोकपी गरेर ल्याउ भनेर त्यसलाई अपडेट गराइरहेका छौं,’ भट्टराईले भने ।

प्रतिक्रिया 4