
५ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबारे सके केन्द्रीय समितिबाटै निर्णय गराउने नभए हस्ताक्षर अभियान चलाउने तयारी गरेका छन् । कांग्रेस विधानमा विशेष महाधिवेशन बोलाउन सकिने व्यवस्था छ ।
केन्द्रीय समितिले निर्णय गरेको वा कारण खुलाएर ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको अवस्थामा विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था कांग्रेसको विधानमा छ ।
केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्रसमक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने छ ।
‘हाम्रो पार्टी विधानको दफा १७ को उपदफा २ मा केन्द्रीय समितिले चाहेमा विशेष महाधिवेशन बोलाउने सक्नेछ भन्ने प्रावधान छ’ महामन्त्री शर्माले भने,’हामीले प्रस्ताव राखिसकेका छौं, त्यसैले केन्द्रीय समितिले यही निर्णय गर्छ भन्ने अपेक्षा छ ।’ उनका अनुसार केन्द्रीय कमिटीले नगरेको अवस्थामा मात्र अन्य विकल्पमा जाने हो ।
सभापति शेरबहादुर देउवा उपचाररत रहेकाले केन्द्रीय समिति बैठकको टुंगो लागेको छैन । अर्कोतर्फ, देउवा पक्षीय नेताहरूले विशेष महाधिवेशनका लागि मुख खोलेका छैनन् ।
महामन्त्री थापा निकट केन्द्रीय सदस्य मधु आचार्य केन्द्रीय समितिबाट विशेष महाधिवेशनको निर्णय सहज नदेखिएको हुँदा हस्ताक्षर सुरु गर्ने अवस्था बनेको बताउँछन् ।
चुनावमा जुट्न समयको चाप रहेको उल्लेख गर्दै आचार्यले अनलाइनखबरसँग भने, ‘२१ फागुनको चुनावका लागि तयारी अवस्थामा रहन पनि विशेष महाधिवेशनको टुंगो चाँडो लगाउनुपर्ने अवस्था भइसक्यो ।’ केन्द्रीय समिति बैठक बोलाउन ढिलो भए हस्ताक्षर अभियान अघि बढ्ने आचार्यले जानकारी दिए ।
महामन्त्रीद्व थापा र शर्माले गत शुक्रबार बसेको कार्यसम्पादन समितिमा नियमित वा विशेष महाधिवेशनमा गएर नयाँ नेतृत्वसहित चुनावमा जानुपर्ने मत राखेका थिए ।
जेनजी आन्दोलनपछि भौतिक रूपमा उपस्थित भई कांग्रेसको कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्यो । बैठकमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले पार्टी पुनर्गठनका लागि नियमित वा विशेष महाधिवेशन गर्न सकिने विचार राखे ।
सभापति देउवा नेतृत्वको कार्यसमितिको नियमित अवधि यही मंसिरमा सकिने हुँदा १५औं महाधिवेशन गर्न सकिने तर्क महामन्त्रीद्वको थियो । नियमित महाधिवेशन गर्ने अवस्था नबने विशेषमा जानैपर्नेमा दुवै महामन्त्रीको जोड छ ।
नेपाली कांग्रेसको इतिहासमा २०१४ सालमा एक पटक मात्रै विशेष महाविधेशन भएको छ । २०१२ सालमा सभापतिमा निर्वाचित भएका संस्थापक नेता सुवर्णशमशेर राणाले २०१४ सालमा विशेष महाधिवेशन आह्वान गरेका थिए ।
विशेष महाधिवेशनले बीपी कोइरालालाई सभापति चुनेको थियो । विशेष महाधिवेशनका लागि नयाँ प्रतिनिधि छनोट गर्नु पर्दैन भने सभापति मात्रै चयन गर्छ ।
विशेष महाधिवेशनको विषय जोडतोडसँग उठेसँगै संस्थापन पक्ष सशंकित भएको छ । प्रवक्ता डा. प्रकाशशरण महतले आइतबार मात्रै दुई महामन्त्री लक्षित टिप्पणी गरेका छन् ।
‘पार्टी सभापतिमाथि त्रासदीपूर्ण आक्रमण भयो । अझै उहाँ उपचारमा हुनुहुन्छ । त्यस्तो बेला संवेदनशील हुन नसक्नु दुर्भाग्यपूर्ण हो,’ महतले भने, ‘पार्टीभित्र अहिले जुन बहस भइरहेको छ, त्यो आलो घाउ ठिक नहुँदै सुरु भएको छ । त्यसप्रति हामी गम्भीर हुनुपर्छ ।’
सभापति उपचाररत रहेकै बेला असंवेदनशील कुरा गरेको भन्दै पार्टीभित्र विषय उठान गरेकोप्रति आफू सचेत रहेको महामन्त्री थापाले बताएका छन् । संवेदनाहीन नभएको र सभापतिको स्वास्थ्यबारे निरन्तर जानकारी लिइरहेका उनले बताए ।
महामन्त्री थापाले सभापति देउवा नियमित वा विशेष महाधिवेशन बोलाउन सहज तयार नभए आफूहरू पछि नहट्ने बताएका छन् ।
उनी भन्छन्, ‘सभापतिलाई नै पहिलो कदम चाल्नुस् भनेको हो । मनाउने हो, फकाउने हो, तर मान्नुभएन, कोही फकिनुभएन भने हात उठाउने होइन, अगाडि बढ्ने हो । हामीसँग त्यो भन्दा अर्को विकल्प छैन ।’
१५औं महाधिवेशनमा प्राप्त गरेको मतको आधारमा संस्थापनइतरलाई ४० प्रतिशत प्रतिनिधिको हस्ताक्षर पुर्याउन कठिन देखिँदैन । त्यसबेला सभापतिमा प्रतिस्पर्धा गरेका नेता डा. शेखर कोइरालाले १ हजार ८५५ मत पाएका थिए भने महामन्त्रीमा थापाले ३ हजार २३ मत ल्याएका थिए ।
सभापतिका प्रत्यासी कोइरालाले ४० र महामन्त्री थापाले ६५ प्रतिशत मत प्राप्त गरेको हुँदा हस्ताक्षरका लागि संख्याको कमी नहुनेमा महामन्त्री पक्षधर ढुक्क छ ।
केन्द्रीय सदस्य आचार्य भन्छन्, ‘४० प्रतिशत पुर्याउनु पर्ने हो । त्यसको दोब्बर संख्या पुग्ने देखिन्छ ।’ पार्टीमा नयाँ मूल नेतृत्व र नीतिसहित चुनावमा होमिनुपर्ने अवस्था आएको आचार्यले बताए ।
विगतमा विषय उठान गर्ने तर निष्कर्षमा पुर्याउन नसकिएकोप्रति आत्मालोचना गरेका दुवै महामन्त्रीले दल पुनर्गठनलाई टुंगोमा पुर्याएरै छोड्ने प्रतिवद्धता व्यक्ति गरेका छन् ।
महामन्त्री थापा भन्छन्, ‘मेरो र अर्को महामन्त्रीको कमजोरी के ठान्दछु भने, हामीले जहिले पनि सही विषयवस्तु उठायौं । तर हामीले उठाएको विषयलाई कहिले पनि टुंगोमा पुर्याउन सकेनौं । बीचमै छाड्यौं । त्यो हाम्रो कमजोरी भयो । तर यो पटक हामी छाड्दैनौं ।’
प्रतिक्रिया 4