
५ असोज, काठमाडौं । जेनजी विद्रोहका कारण १० दिन सैनिक ब्यारेक बसेर गुण्डू फर्किएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक सक्रियता बढाएका छन् ।
सैनिक ब्यारेकमा हुँदै नेताहरूसँग टेलिफोन संवादमा रहेका ओलीले अहिले गुण्डूमै भेटवार्ता बाक्लो बनाएका हुन् । स्रोतका अनुसार नेकपा एमालेका पदाधिकारीलाई प्राथमिकतामा राखेर ओलीले संवाद गरिरहेका छन् ।
‘पार्टीभित्र तुलनात्मक प्रभाव राख्ने नेताहसँग उहाँको सम्वाद चलिरहेको छ । पदाधिकारीहरू त्यसैपनि प्राथमिकतामा देखिन्छन्’, स्रोत भन्छ । भेटवार्ताकै क्रममा आज वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल गुण्डू पुगेका थिए । ओली–पोखरेलबीच टेलिफोन संवाद चल्दै आए पनि जेनजी विद्रोहपछि यो पहिलो भेटवार्ता हो ।
ओलीले आजै उपमहासचिव पृथ्वीसुब्बा गुरूङसँग पनि कुराकानी गरेका छन् । ओलीलाई भेट्न गुरूङ पनि गुण्डू नै पुगेका थिए । आज वरिष्ठ उपाध्यक्ष पोखरेल र उपमहासचिव गुरुङलाई गुण्डू बोलाएका ओलीले हिजो उपाध्यक्ष विष्णुप्रसाद पौडेलसँग भेटेका थिए ।
ओली नेतृत्वको मन्त्रिपरिषदमा पौडेल उपप्रधान एवं अर्थमन्त्री र गुरूङ सरकारका प्रवक्ता सहित सञ्चारमन्त्री थिए ।
बालकोटको घरसमेत प्रदर्शनकारीले जलाए पछि गुण्डूमा डेरा लिन पुगेका ओलीले तिनै पौडेल र गुरूङलाई प्राथमिकतामा राखेर कुराकानी गरिरहेका छन् ।
‘विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङ अहिले एमालेभित्र धेरैको चासोमा हुनुहुन्छ । उहाँहरूले लिने निर्णयले पार्टीभित्र शक्ति समीकरण फेरिने भएकाले पनि चासोमा पर्नु भएको हो’, एक नेता भन्छन् ।
उनका अनुसार आज गुण्डूमा भेट हुनुअघि नै पौडेल र गुरूङसँग ओलीले टेलिफोनबाट पनि निरन्तर सम्वाद गरिरहेका छन् । विघटित प्रतिनिधि सभाको सवभन्दा ठूलो शक्ति नेपाली कांग्रेसकै समर्थनमा बनेको ओली सरकारमा समेत पौडेल र गुरूङ शक्तिशाली मन्त्री थिए । उनीहरूलाई ओलीले सकेसम्म मन नदुखाउने परिस्थितिको निर्माण गरेका थिए ।
बेलाबेला चल्ने मन्त्रिपरिषद् पुनर्गठनको हल्लामै पनि उनीहरूको पद सुरक्षित हुन्थ्यो । किनकी पौडेल र गुरुङकै साथ पाउँदा ओलीले एमालेभित्र आफूलाई थप सुरक्षित र बलशाली बनाउँदै लगेका थिए ।
एमालेमा फरक मत राख्नेहरू अल्पमतमा पर्दा विधान नै ओलीको अनुकूल हुनेगरी दोस्रो विधान महाधिवेशनबाट संशोधन गरिएको थियो । अर्थात् एमाले ओलीकै कब्जामा राखिराख्न पौडैल र गुरूङ महत्वपूर्ण पात्र थिए ।
तर जेनजी विद्रोहपछि मुलुककै राज्य–सत्ताको कोर्स फेरिएको छ । संसद् भवन जल्यो, प्रतिनिधि सभा विघटन गरियो । सिंहदरबार, बालुवाटार सबै जल्यो, ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिएर सेनाको ब्यारेकमा लुक्नु पर्यो ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी अन्तरिम सरकार बनेको छ । अन्तरिम सरकारले जेनजी विद्रोहका घटना छानबीन गर्न उच्च स्तरीय आयोग गठन गरिसकेको छ । यो आयोगले ओली नेतृत्व सरकारको निर्णयप्रति छानबिन गर्न सक्छ ।
तर सडक विद्रोहबाट सत्ताच्यूट ओलीले अझै एमालेलाई कब्जामै राख्ने नीति अन्तर्गत गुण्डूमै भेटवार्तालाई बाक्लो बनाएको नेताहरू बताउँछन् ।
‘जेनजी प्रदर्शनमा गोली चलाउने आदेश नगरेको र विदेशी चलखेलबाट आफू सत्ताच्यूट हुनुपरेको तर्क गरेर आफूलाई निदोर्ष सावित गर्नेतिर केपी ओली लागेको देखिन्छ,’ एक पदाधिकारी भन्छन्, ‘तर पार नलाग्ने तर्क गरेर एमालेलाई सिध्याउने काम गर्नु हुँदैन । कार्यकर्ताहरू पनि एमाले जोगाउन सचेत दखिन थालेका छन् ।’
सैनिक ब्यारेकबाट निस्केर पनि पार्टी बैठक बोलाउने संकेत नगर्नु, तर नेताहरूसँग व्यक्तिगत रुपमै एक्लाएक्लै कुरा गर्नेतिर लाग्नुले ओलीमा अझैपनि पार्टी नछोड्ने मनसाय देखिएको उनी बताउँछन् ।
उनका अनुसार पार्टीभित्रको अन्तरसंघर्षमा प्रष्ट नखुलेका नेताहरूलाई प्राथमिकतामा राखेर ओलीले कुराकानी गरिरहेका छन् ।
एमालेको पछिल्लो अन्तरसंघर्षमा उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा र गुरु बरालले सार्वजनिक अभिव्यक्ति दिएका छैनन् ।
उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिवहरू लेखराज भट्ट, छबिलाल विश्वकर्मा, रघुबीर महासेठ र पद्या अर्याल पनि प्रष्ट बोलेका छैनन् । यद्यपि बराल, भट्ट र अर्याललाई ओलीले आफ्नो पक्षमा आवश्यक पर्दा बोल्छन् भन्ने विश्वास गरेको उच्च स्रोत बताउँछ ।
बाँकी पदाधिकारीप्रति भने ओलीले भर गरेका छैनन् । विद्या भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउने निर्णयप्रति असहमति जनाए पनि अष्टलक्ष्मी शाक्यले ७० वर्षे उमेर हद हटाउने ओलीको प्रस्तावमा असहमति जनाएका थिए । शाक्य, नेकपा विभाजनका बेला १० बुँदे सहमति गरेर एमालेमै निरन्तर रहेको पृष्ठभूमिका नेता भएकाले पनि जेनजी विद्रोह पछि विकसित घटनाबारे उनको अडान कस्तो हुन्छ भन्नेमा अलमल छ ।
त्यसैले उनलाई फकाउन ओली र उनी निकट नेताहरू लागिपरेका छन् । ३ असोजमा आयोजित संविधान दिवस कार्यक्रमको अध्यक्षता गर्न दिएर पनि शाक्यलाई फकाउन खोजिएको लुक्दैन ।
माओवादी पृष्ठभूमिका बादलले १९ भदौको सचिवालय बैठकमा ओलीको निर्णयमा फरक मत राखेका थिए ।
विद्या भण्डारी रोक्ने निर्णयमा असहमति जनाएका बादलले ओलीकै निरन्तरतामा अडान लिन्छन् अथवा स्वतन्त्र मत राख्छ्न् भन्ने अन्योल छ ।
स्रोतका अनुसार सचिवहरू रघुवीर महासेठ र छविलाल विश्वकर्मा पनि जेनजी विद्रोहपछि आफ्नै विगतको निर्णय बदल्ने मूडमा छन् । यस्तो बेला उपाध्यक्ष पौडेल र उपमहासचिव गुरुङले निर्णय बदलेसचिवालयमै ओली अल्पमतमा पर्नेछन् ।
शंकर पोखरलसँग पौडेल र गुरूङको लामै समयदेखि अन्तरसंघर्ष चल्दै आएकाले यस्तो सम्भावना पनि छ ।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले त जेनजी विद्रोह अघि नै ओलीलाई नेतृत्वबाट हट्न आग्रह गरिसकेका थिए । जेनजी विद्रोहपछि सचिवहरू गोकर्ण विष्ट र योगेश भट्टराईले पनि नेतृत्व परिवर्तन मार्फत् एमाले पुनर्निर्माण गर्नुपर्ने वकालत गरिरहेका छन् ।
स्रोतका अनुसार वरिष्ठ उपाध्यक्ष पोखरेलले गुण्डू भेटवार्तामा ओलीलाई बदलिएको परिस्थितिबारे सचेत गराएका छन् ।
थप संकटबाट जोगिन तत्काल पार्टी बैठक बोलाउन सुझाव दिएका पोखरेलले सबै नेताहरूको राय लिन आग्रह गरेका छन् । ‘परिस्थिति राम्रो छैन भनेर तलका साथीहरूले भनिरहेका छन् । सबैसँग कुराकानी गर्नुस्, र बैठक राखेर एउटा निर्णयमा पुगौं’ पोखरेलको सुझाव थियो ।
पोखरेलकै सुझाव जस्तो ओलीले नेताहरूसँग निरन्तर सम्वाद गरिरहेका छन्, तर भिन्न आशयसहित । ‘जेनजी आन्दोलनलाई सम्हाल्न नसकेको, सडक विद्रोहबाट सत्ता गुमेको, पार्टीलाई ठूलो धक्का लागेकोप्रति कुनै नैतिक जिम्मेवारी देखिदैन,’ अर्का एक नेता भन्छन्, ‘विदेशी चलखेल भनेर केपी ओलीलाई जोगाउने रचना बुनिन थालेको बझ्छु । जुन, ठूलो दुर्भाग्य हुनेछ ।’
ओलीको नेतृत्व जोगाउन हत्ते गरेर लागेकाहरूमा महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल छन् । महासचिव पोखरेल त ब्यारेकबाट बाहिरिएका ओलीलाई गुण्डूमा स्वागत गर्न नै पुगेका थिए । अहिले उनी सहित ज्ञवाली र रिमाल मातहतका पंक्ति मनाउन लागि परेका छन् ।
प्रतिक्रिया 4