+
+
Shares

नेपालको अस्कर विवाद अमेरिकास्थित मुख्यालयमा पुग्यो, निर्णय खारेज गर्न माग गर्दै उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १२:४४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली फिल्ममेकरले अस्कर अवार्डको नेपालस्थित छनोट समितिको निर्णयविरुद्ध लस एन्जलसस्थित अस्कर मुख्यालयमा उजुरी दिएका छन्।
  • उजुरीमा फिल्म 'अञ्जिला' लाई सिफारिस गर्ने निर्णय खारेज गरी नयाँ आवेदन खुलाउन र पारदर्शी प्रक्रिया अपनाउन माग गरिएको छ।
  • समितिको निर्णय स्थगित गर्ने अध्यक्षको भनाइसँगै सदस्यको खण्डनले छनोट समिति अलमलमा परेको देखिन्छ।

काठमाडौं । अस्कर अवार्डको नेपालस्थित छनोट समितिको निर्णयमा आपत्ति जनाउँदै नेपाली फिल्ममेकरले अस्करको अमेरिकास्थित मुख्यालयमा आइतबार उजुरी दिएका छन् ।

दीपक रौनियार, समुन्द्र भट्ट, विनोद पौडेल, नाजिर हुसेन, एलन आर मिलिगन, रामकृष्ण पोखरेल, दीपेन्द्र लामा, पूर्णसिंह बराइली, नवीन, सुब्बा, मनोज पण्डित लगायतका फिल्ममेकर र सो क्षेत्रसँग सम्बन्धितको हस्ताक्षरसहितको उजुरी लस-एन्लसस्थित एकेडेमी अफ मोसन पिक्चर्स एन्ड साइन्सेजमा बुझाइएको हो ।

उजुरीमा आगामी ९८ औं अस्करको अन्तर्राष्ट्रिय फिचर विधाको लागि नेपालबाट ‘अञ्जिला’लाई सिफारिस गर्ने निर्णयलाई खारेज गर्न माग गरिएको छ ।

उजुरी पत्रको बोधार्थ काठमाडौंस्थित चलचित्र विकास बोर्ड र समितिलाई पनि पठाइएको छ । ‘हाम्रो माग स्पष्ट छ- समितिले हालको निर्णय खारेज गरोस् । नयाँ आवेदन खुलाओस् र पारदर्शी प्रक्रियामार्फत योग्य सबै फिल्महरू हेरेर निर्णय गरोस’ उजुरीकर्ता मध्येका निर्देशक रौनियारले अनलाइनखबरसँग भने ।

उजुरी पत्रमा आवेदन प्रक्रिया पारदर्शी र वैज्ञानिक नभएको उल्लेख छ । जम्मा ९ दिन समय दिएर आवेदन दिन भनिएको, ७४ जनाको ज्यान जाने गरि मुलुकमा भएको संवेदनशिल घटनाको समयमा सुटुक्क कुनै एक फिल्मलाई सिफारिस गरिएको, छनोट समितिका सदस्यमा नैतिकता नदेखिएको र स्वार्थ बाझिएको, निस्क्रियलाई समितिको सदस्य बनाइएको लगायतका कुरा उल्लेख छ ।

समितिले गतसाता मिलन चाम्स निर्देशित फिल्म ‘अञ्जिला’लाई अस्करमा सिफारिस गर्ने निर्णय गरेको थियो ।

आइतबार मात्रै समिति अध्यक्ष विमल पौडेलले निर्णय स्थगित गरेर पुनः आवेदन आह्वान गरिने कुरा अनलाइनखबरलाई बताएका थिए । उनको बोलीको केही घण्टा नबित्दै समितिका अर्का एक सदस्यले अध्यक्षको भनाइलाई खण्डन गर्दै निर्णय नभैसकेको बताए ।

अन्य मिडियासँगको कुराकानीमा भने अध्यक्ष पौडेलले आफ्नै कुराबाट पछि हट्दै निर्णय नभैसकेको बताएको बुझिएको छ । अध्यक्ष र सदस्यको परस्पर विरोधी कुरा सुन्दा छनोट समिति अलमलमा परेको देखिन्छ ।

अस्करको मुख्यालयमा केही सदस्यको नामै तोकेर उजुरी दिइएको छ । उजुरी प्राप्त भएपछि अस्करको मुख्यालयले यसबारे अध्ययन गरेर निर्णय गर्ने बुझिएको छ । अन्य मुलुकले भने अस्करमा आफ्नो मुलुकको प्रतिनिधित्व गर्ने फिल्म पठाउन थालिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?