+
+
Shares

२ वर्षअघि आजकै दिन घरबाट निस्किएकी थिइन् जेरुसा राई, कहाँ गुमनाम भइन् ?

जेरुसाकी आमालाई लाग्छ, उनी कुनै गुम्बामा आनी भएर बसेकी छिन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १४:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गायिका जेरुसा राई ६ असोज २०७९ मा सुत्न कोठामा जान्छु भन्दै घरबाट निस्किएकी थिइन् र अहिलेसम्म उनको कुनै खबर छैन।
  • जिल्ला प्रहरी परिसर ललितपुरका अनुसन्धान अधिकृतका अनुसार, जेरुसाले आफ्नो जीवनको निर्णयमा कसैको दोष नभएको उल्लेख गरेकी थिइन्।
  • जेरुसा डिप्रेसनमा थिइन् र उनको आमा विश्वास गर्छिन् कि उनी कुनै गुम्बामा आनी भएर बसिरहेकी हुन सक्छिन्।

काठमाडौं । ठीक २ वर्षअघि आजकै दिन गायिका जेरुसा राई सानेपास्थित घरबाट निस्किएकी थिइन् ।

अहिलेसम्म उनीबारे अत्तोपत्तो छैन । परिवार, प्रहरी र सर्वसाधारणले उनको धेरै खोजी गरे । अहिलेसम्म खोजी रोकिएको छैन ।

यो कुरा अहिले पनि रहस्यकै विषय छ ।

अहिले पनि परिवार उनी फर्किने बाटो हेरिरहेको बसिरहेको छ । ६ असोजको राती जेरुसा सुत्न कोठामा जान्छु भन्दै घरबाट बाहिर निस्किएकी थिइन् ।

उनको कोठामा आमा पुग्दा जेरुसा थिइनन् । बरु त्यहाँ एउटा कागज थियो, जसमा बाँच्नुपर्ने जीवन बाँचिसकेको भन्दै आफ्नो खुशीले निर्णय लिएको उल्लेख गरिएको थियो ।

जिल्ला प्रहरी परिसर, ललितपुरका एक अनुसन्धान अधिकृतका अनुसार, नोटमा ‘संसारबाट अलप’ हुन लागेको भनिएको थियो । उनले आफ्नो निर्णयमा कसैको दोष नभएको भन्दै आफ्नो जीवनको दोषी आफैं रहेको भनेकी थिइन् ।

जेरुसाले प्रयोग गर्ने ल्यापटपको माथिपट्टी फेला परेको नोटमा उनले ‘बागमती खोला’ समेत उल्लेख गरेकी थिइन् ।

उर्लिएको खोलामा निकै खोजी भयो । गोताखेर परिचालन भए । केही पत्तो लागेन । अहिले पनि जेरुसाकी आमालाई लाग्छ- उनी कतै गुम्बामा आनी भएर बसिरहेकी हुन सक्छिन् ।

को हुन् जेरुसा ?

युट्युबमा चर्चित जेरुसा पप-रक-इन्डी जानराकी गायिका हुन् । उनले सन् सन् २०११ देखि अंग्रेजी कभर गीतहरु युट्युबमा अपलोड गर्न थालेकी थिइन् । यद्यपि, त्यसअघिबाटै उनी गीत लेखन र गायनमा सक्रिय थिइन् ।

माओवादी द्वन्द्वको विषयलाई समेटेर तयार ‘बारुद’ शीर्षकको गीत सन् २०१७ मा सार्वजनिक भएपछि उनी चर्चामा आएकी थिइन् । एक अन्तर्वार्तामा द्वन्द्वको समयमा बुबा खोटाङमा हुँदा भएको अपरहण, हत्या र जबरजस्ती युद्धमा सामेल गराउन भएका प्रयासबारे सुनेकाले त्यसलाई गीतमा उतारेको उनले बताएकी थिइन् ।

स्थायी घर खोटाङ भएकी उनले जावलाखेलको सेन्ट म्यारिज स्कुल पढेकी थिइन् । विद्यालय शिक्षा सकेर उनी थप अध्ययनका लागि सन् २०१० मा बेलायत गएकी थिइन् । त्यहीँबाट उनले गीत, संगीतलाई अघि बढाइरहेकी थिइन् ।

पारिवारिक स्रोतका अनुसार, स्नातकोत्तर अध्ययनका लागि उनी लण्डनबाट अमेरिका गएकी थिइन् । अमेरिकामा रहँदा उनको एक जना व्यक्तिसँग विवाह पनि भयो । तर, सम्बन्ध लामो समयसम्म टिकेन ।

पछि उनी अर्का व्यक्तिसँग पनि नजिकिइन् । ती व्यक्तिसँग पनि सम्बन्ध राम्रो नभएपछि उनी थप विक्षिप्त भइन् ।

त्यसक्रममा उनी डिप्रेसनमा समेत पुगेको परिवारका सदस्यहरुले प्रहरीसँग भनेका छन् । त्यसक्रममा उनी अमेरिकाको विभिन्न अस्पतालमा पनि गइन् भने नेपाल पनि निरन्तर आउन थालिन् ।

सम्पर्कविहीन हुनुअघि उनी नेपाल आएको चार महिना मात्र भएको थियो । उनी आफ्नो मोबाइलसमेत घरमै छाडेर हराएकी थिइन् । प्रहरी प्रधान कार्यालयमा रहेको डिजिटल फरेन्सिक ल्याबमा जाँच गर्दा उनले केहीअघि ‘मान्छे नदीमा डुबेको कति समयमा मर्छ’, भनेर सर्च गरेको हिस्ट्री भेटिएको थियो ।

जेरुसाकी आमा इस्का भने प्रहरीको भनाइसँग सहमत छैनन् । उनलाई लाग्छ- छोरी जेरुसा कुनै गुम्बामा आनी हुन गएकी छे । पारिवारिक स्रोतका अनुसार, पछिल्ला वर्षहरुमा उनको अध्यात्मतर्फ ध्यान बढेको थियो ।

‘ऊ दुःखमा परेकालाई सहयोग गर्दै हिँड्थी, समाजसेवी मान्छे, मलाई दुई पटक आनी हुन्छु भनेर भनेकी थिई’, आमा इस्काले अनलाइनखबरसँग भनिन्, ‘पहिले पनि हराउँथी, कहाँ गएको भन्दा गुम्बामा गएर आएको नि भन्थी ।’

जेरुसाकी आमा इसाइ धर्ममा आस्था राख्छिन् । जेरुसा चाहिँ पछिल्लो समय बौद्ध धर्मप्रति आकर्षित थिइन् । घरमा धुप बाल्थिन्, कोठामा ध्यान गरेर बस्थिन् । ‘म गएँ, संसारबाट अलप भएँ, सबै सुख प्राप्त गरेँ लेखेकी थिइन्’, आमाले आशा व्यक्त गरिन्, ‘उसले अर्कै दुनियाँ अगाँलेकी छ, ऊ कुनै दिन आउँछे ।’

भदौ १६, २०८१ मा अनलाइनखबरमा प्रकाशित गौरव पोखरेलको स्टोरी ‘कहाँ होलिन जेरुसा ?’बाट लिइएको तथ्यको आधारमा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?