
६ असोज, काठमाडौं । नवनियुक्त चार मन्त्रीको शपथ ग्रहण समारोहमा सभामुख देवराज घिमिरे पनि उपस्थित भएका छन् ।
संसद् विघटनपछि यसअघि तीन मन्त्रीको शपथग्रहण समारोहमा नदेखिएका सभामुख घिमिरे आज भने शीतल निवास पुगेका हुन् ।
यसअघि प्रधानमन्त्री सुशीला कार्कीले ३० भदौमा पहिलोपटक मन्त्रिपरिषद् विस्तार गरेकी थिइन् । त्यतिबेला उनले कुलमान घिसिङ, ओमप्रकाश अर्याल र रामेश्वर खनाललाई नियुक्त गरेकी थिइन् ।
त्यतिबेला सभामुख घिमिरे उपस्थित थिएनन् । सोमबार शितलनिवासमा आयोजित विशेष समारोहमा उनी उपस्थित थिए ।
पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारले मन्त्रीको शपथ लिइसकेका छन् ।
सिन्हाले उद्योग, कानुन र भूमि मन्त्रालय, पुनले शिक्षा विज्ञान तथा प्रविधि, खरेलले सञ्चार तथा सूचना र परियारले कृषिमन्त्रीको शपथ लिएका हुन् ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् ।
प्रधानमन्त्री कार्कीसहित उनको ८ सदस्यीय मन्त्रिमण्डल बनेको छ ।
प्रतिक्रिया 4