
News Summary
Generated by OK AI. Editorially reviewed.- युरोपका हिथ्रो, ब्रसेल्स र बर्लिन एयरपोर्टमा म्यूज सफ्टवेयर ह्याक भएपछि स्वचालित चेकइन प्रणाली ठप्प भयो।
- साइबर आक्रमणले तीनवटै एयरपोर्टमा उडान रद्द र घण्टौँसम्म ढिलाई हुन पुग्यो।
- कोलिन्स एरोस्पेसको मातृ कम्पनी RTX ले समस्या समाधान भएको र भविष्यमा रोकथामका लागि काम भइरहेको बताएको छ।
काठमाडौं। विश्वभर विमानस्थलहरुको कामलाई नियमन गर्नका लागि विभिन्न खालका सफ्टवेयरहरुको प्रयोग गरिन्छ । ती सफ्टवेयरहरुले एयरपोर्टका विभिन्न उपकरणहरु चलाउँछन्, जसबाट काम कारवाही स्वचालित हुन्छ र समयको बचत हुन्छ ।
यसबाट यात्रुहरुलाई झण्झट कम हुन्छ र सुविधामा बढोत्तरी हुन्छ भने जहाजहरुलाई समयमा उडान भर्नमा मद्दत मिल्दछ । तर सफ्टवेयरको भरोसामा चल्ने विमानस्थलको त्यस्तो प्रणाली एक्कासी ठप्प भयो भने के होला ?
यस्तै घटना शनिवार युरोपका केही ठूला विमानस्थलहरुमा घटित भयो । साइबर आक्रमणकारीले बेलायतको हिथ्रोदेखि ब्रसेल्स र बर्लिन एयरपोर्टमा प्रयोग हुने म्यूज (Muse) नामक सफ्टवेयर ह्याक गरेपछि यस्तो अवस्था सिर्जना भएको हो । यसको असर आयरल्याण्डको डब्लिन र कोर्क एयरपोर्टमा पनि परेको थियो ।
आकस्मिक रुपमा भएको उक्त साइबर हमलाले यात्रु तथा विमानसेवा दुबैलाई ठूलो नोक्सानी पूरायो । यसबाट तीनवटै एयरपोर्टमा स्वचालित चेकइन प्रणाली ठप्प भयो । फलस्वरुप कतिपय उडानहरु रद्द गर्नुपर्यो भने कतिपय उडानमा घण्टौँसम्म ढिलाई भयो ।
दशकौँ पछि धकेलिए एयरपोर्ट
अहिले एयरपोर्टमा अधिकांश प्रक्रियाहरु प्रविधिको भरमा चल्दछन् । तर त्यहीँ प्रविधिको सिस्टम क्र्यास भएपछि अवस्था यस्तो बन्यो कि एयरपोर्टका कर्मचारीहरुले पूरानो तरिकाहरु अपनाउनुपर्यो । कर्मचारीहरुले हातले नै ब्यागेट ट्याग लेख्नुपर्यो र फोनमा बोर्डिङ सूची बनाउनुपर्यो।
त्यो दृश्य यस्तो थियो कि एयरपोर्टहरु दशकौँ पछाडिको समयमा फर्किएका छन् । अधिकांश कामहरु अटोमेटेड भएसँगै ठूला एयरपोर्टहरुले मानव कर्मचारीको संख्या घटाएको अवस्थामा एकाएक प्राविधिक प्रणाली ठप्प हुँदा कर्मचारीहरुको चरम अभाव खट्कियो । त्यहाँ न त पर्याप्त कर्मचारी थिए, न त म्यानुअल प्रोसेसिङको व्यवस्था । जसका कारणले गर्दा यात्रुहरुले लामो लाइनमा बस्नुपर्ने देखि उडान रद्द हुनेसम्मका समस्या झेल्नुपर्यो ।
कसरी काम गर्छ म्यूज सफ्टवेयर ?
पछिल्लो साइबर हमलाको तारो बनेका म्यूज सफ्टवेयर हाल विश्वका विभिन्न एयरपोर्टहरुमा प्रयोग हुँदै आएको छ । यो सफ्टवेयरले एयरपोर्टको प्रोसेसिङ प्रणालीलाई सम्हाल्ने गर्दछ । यो वास्तवमा यात्रुको प्रोसेसिङ सिस्टम हो, जसले एयरलाइन्स कम्पनीहरुलाई एउटै हार्डवेयरबाट चेकइन तथा बोर्डिङ गर्ने सुविधा दिन्छ । यसको मद्दतले कम्पनीहरुले चेकइन तथा बोर्डिङका लागि फरक फरक गेट तथा कर्मचारीमा अतिरिक्त खर्च गर्नु पर्दैन ।
बीबीसीको रिपोर्टअनुसार म्यूज सफ्टवेयर निर्माता कोलिन्स एरोस्पेसको मातृ कम्पनी RTX ले उक्त सफ्टवेयरमा साइबर हमलापछि प्रणाली अबरुद्ध भएको पुष्टि गरेको छ । साथै समस्याको पहिचान गरेर तत्कालै समाधान गरिएको कम्पनीको दाबी छ । साथै भविष्यमा यस्तो समस्या आउन नदिनका लागि आवश्यक काम भईरहेको पनि कम्पनीले जनाएको छ ।
साइबर आक्रमणले सिकाएको सबक
यो घटनाले प्रविधिमाथि पूर्णरुपमा निर्भर भएको प्रणाली एउटा साइबर आक्रमणबाट कति ठूलो संकटमा आउन सक्दछ भन्ने प्रष्ट पारेको छ । साथै यसले साइबर सुरक्षाको महत्व कति छ भन्ने पनि देखाएको छ ।
युरोपेली विमानस्थलको प्रणालीमा भएको यो ह्याकिङ विश्वका सरकारी निकाय तथा कम्पनीहरुमा भईरहेका साइबर आक्रमणको पछिल्लो कडी हो । यस्ता खालका साइबर हमलाहरुले स्वास्थ्य सेवा र प्रतिरक्षा देखि खुद्रा व्यापार र अटोमोबाइल क्षेत्रसम्मलाई निसाना बनाएका छन् । हालै लक्जरी कार निर्माता जागुआर ल्याण्ड रोभरमा भएको साइबर आक्रमणले कार उत्पादन नै बन्द गर्नुपरेको थियो । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4