
७ असोज, काठमाडौं । विवादित पृष्ठभूमिका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले जेनजी प्रदर्शनका क्रममा गरिबका छोराछोरीले ज्यान गुमाएको तर सरकार बन्ने बेलामा सुकिला मुकिलाहरू नै मन्त्री बनेको भन्दै आपत्ति जनाएका छन् ।
मंगलबार एक पत्रकार सम्मेलन आयोजना गर्दै उनले यस्तो बताएका हुन् ।
विभिन्न फाउन्डेशनका नाममा उदाएका मान्छेहरू नै सरकारमा पुगेको भन्दै उनले १३ वर्षअघि नै हजारौं मान्छे यस्तै गतिविधिका लागि सक्रिय भएको समेत बताए ।
‘अहिले सरकार के बन्यो, कसको बन्यो ? त्यो सरकार बन्यो, आन्दोलन गर्ने बेलामा गरिबका छोरालाई मारियो,’ प्रसाईंले भने, ‘तर, हाइज्याक गरेर मन्त्री हुन बार्बरा, समता लगायतका फाउन्डेशनका सुकिला, मुकिला, देशका पत्रकार, डाक्टर, इन्जिनियर पुगे । एक हजार मान्छे परिचालन गरिएको थियो । मलाई यो १३ वर्षदेखि नै थाहा भएको हो ।’
साथै, उनले २२ भदौमा मात्रै आफूलाई जेनजीबारे थाहा भएको, आफूले पनि मुद्दा मिल्ने देखेपछि सहयोग गर्छु भन्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले स्टाटस लेखेर रोकेको बताए ।
‘मैलै २२ गते बिहानमात्रै यो जेनजी भन्ने सुनेँ । मैले साथीहरूलाई सोधेँ– म त नपढेको मान्छे हुँ । १३ वर्षदेखि २८ वर्षबीचका बच्चाले गर्ने आन्दोलन हो भन्ने आयो । यो नेपोबेबी, भ्रष्टाचार गर्नेका छोराछोरीको कुरा देखि सबै लिएर आएको छ भनेपछि जसले गरेपनि यो त हामीले उठाउने मुद्दा हो,’ प्रसाईंले भने, ‘यो त जसले उठाए पनि हामीले सहयोग गर्नुपर्छ भनेर मोटामोटी १२ बजे एउटा पोष्ट गरेँ । त्यसको दुई घण्टामा यो आन्दोलन भएको कारणले गर्दा म आफैं सरिक हुन्छु भनेर पवित्र मनले स्टाटस लेखेँ । तयसको दुई घण्टापछि महानगरका मेयर बालेनजीको स्टाटस आयो । यो त २८ वर्ष मुनिको हो, कोही जाने होइन भनेर स्टाटस आयो । मैले त्यतिबेलै मेरो टिमलाई भनेँ, यो खेल पश्चिमाको खेल हो है भनेँ ।’
उनले २४ भदौमा सिंहदरबार र सर्वोच्च अदालतमा आगो लागेको देखेर आफू पनि अचम्ममा परेको उनको भनाइ छ ।
‘भोलिपल्ट आन्दोलन सुरु भयो । यसरी बर्बर दमन सुरु भयो । त्यो आन्दोलनको नेतृत्व लिने कोही भएन,’ प्रसाईंले भने, ‘भोलिपल्ट भत्काउने कुरा मात्रै भयो । सिंहदरबार र सर्वोच्च अदालतमा आगो लागेको देखेर हामी पनि छक्क पर्यौं ।’
यो आन्दोलनबाट विदेशीले कसरी गरिब मुलुकलाई प्रयोग गरेर नष्ट बनाउँछ भन्ने प्रष्ट भएको पनि बताए ।
प्रतिक्रिया 4