+
+
Shares

मुख्यमन्त्री सिंहसँग मतभेदपछि जनमतका सांसदहरू विपक्षी बेन्चमा

मुख्यमन्त्री सतिशकुमार सिंहसँगको मतभेदपछि असन्तुष्ट बनेका जनमतका सांसदहरू विपक्षी बेन्चमा बसेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ७ गते १८:५५

७ असोज, जनकपुरधाम । मधेश प्रदेश सरकारको नेतृत्व गरेको जनमत पार्टी सदनमा प्रतिपक्ष बेन्चमा बस्न सुरु गरेको छ ।

मुख्यमन्त्री सतिशकुमार सिंहसँगको मतभेदपछि असन्तुष्ट बनेका जनमतका सांसदहरू विपक्षी बेन्चमा बसेका हुन् ।

जेनजी आन्दोलनको क्रममा मुख्यमन्त्री सतिशकुमार सिंहले सामाजिक सञ्जाल फेसबुकबाट राजीनामा घोषणा गरेका थिए ।

तर, पछि उनले राजीनामा नदिने अडान लिएपछि जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै मुख्यमन्त्रीसहित दुई मन्त्रीलाई फिर्ता बोलाएको थियो ।

जनमतले प्रदेश सभामुख रामचन्द्र मण्डललाई ३१ भदौमा सरकारलाई गरेको समर्थन फिर्ता लिएको पत्र समेत पठाएको थियो । सोही पत्रका आधारमा जनमतका सांसदलाई प्रतिपक्षी बेन्चमा बस्ने व्यवस्था समेत मिलाइएको थियो ।

यद्यपि मुख्यमन्त्री सतिशकुमार सिंह भने सत्ताकै कित्तामा बसेका थिए ।

‘जेनजीको आन्दोलनको क्रममा मुख्यमन्त्रीले फेसबुकबाट राजीनामा घोषणा गरिसक्नुभएको छ।  जनमत पार्टीका दुई मन्त्रीले राजीनामा पनि गरिसक्नु भएको छ । आफ्ना मुख्यमन्त्री र दुई मन्त्रीलाई फिर्ता बोलाइसकेको पत्र प्रदेश सभामा बुझाइसकेका छौं । हामी स्पष्ट पार्न चाहन्छौं, हामी विपक्षी दलको बेन्चमा छौं’ जनमत संसदीय दलका नेता महेशप्रसाद यादवले भने ।

उनले मुख्यमन्त्री सिंहलाई लक्षित गर्दै जनमत संघीयता विरोधी रहेको भनेर भन्न थालेको भन्दै आक्रोश व्यक्त गरे ।

जेनजी आन्दोलनको क्रममा आगजनीका कारणले जलेको मधेश प्रदेश सभा भवनमै आज बैठक बसेको थियो ।

जेनतेन मर्मत सम्भार र कुर्सीहरू राखेर प्रदेशसभा बैठक आजदेखि सुरु गरिएको हो ।

आजको बैठकमा देशको पछिल्लो घटनाक्रमलाई लिएर संघीयता सबलीकरणमाथि दलका प्रतिनिधिहरूले आफ्ना धारणा राखेका थिए ।

सो क्रममा मुख्यमन्त्री सिंहले आफूले संघीयता बचाउनकै लागि फेसबुकमा राजीनामा घोषणा गरेको बताए ।

आफूले विज्ञहरूको सल्लाह-सुझाव अनुसार राजीनामा नदिएको मुख्यमन्त्री सिंहको तर्क छ ।

उनले आफूले सदन फेस गर्ने कुरा पहिले नै स्पष्ट पारिसकेको समेत बताए ।

बैठकमा सांसदहरूले संघीयता लोकतन्त्र गणतन्त्रको रक्षा गर्नुपर्ने र त्यसकका लागि कुनै पनि कदम चाल्न आफूहरू तयार रहेको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?