
७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक भोलि दिउँसो १ बजे बस्नेगरी स्थगित भएको छ ।
मंगलबारबाट केन्द्रीय कार्यालय बनस्थलीमा बसेको केन्द्रीय समिति बैठकमा सदस्यहरूले बोल्ने क्रम नसकिएपछि बैठक भोलि पुन: बस्ने भएको हो ।
आजको बैठकमा बोल्ने अधिकांश सदस्यहरूले पछिल्लो जेनजी प्रदर्शनका क्रममा नख्खु कारागार पुगेका नेताहरूबारे आपत्ति जनाएका छन् ।
सभापति रवि लामिछाने कारागारबाट छुट्ने भएपछि केन्द्रीय नेताहरूसमेत नख्खु कारागार पुगेका थिए । प्रवक्ता मनिष झाले आगजनीमा संलग्न टोलीलाई उक्साएको भिडियो समेत भाइरल बनेको थियो ।
सो विषयमा दिउँसो आयोजित पत्रकार सम्मेलनमा झाले आपत्ति जनाएका थिए ।
यद्यपि बैठकमा भने अधिकांश नेताहरूले प्रश्न उठाएका छन् ।
‘कारागार अगाडि पुगेका नेताहरूको बारेमा बैठकमा आफ्ना धारणा राख्नेमध्ये ८० प्रतिशतले आपत्ति जनाएका छन्,’ एक केन्द्रीय सदस्यले अनलाइनखबरसँग भने ।
त्यस्तै, जेनजी आन्दोलनको स्वामित्व पार्टीले लिन नसकेकोप्रति पनि अधिकांश नेताहरूले टिप्पणी गरेका थिए ।
केही नेताहरूले रुपन्देहीमा उम्मेदवार छनोट प्रणालीको मतपरिणाम किनसार्वजनिक गरिएन ? भन्दै प्रश्न गरेका थिए ।
केही प्रदेश इन्चार्जको भूमिकाबारे पनि प्रश्न उठेको छ ।
प्रतिक्रिया 4