
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली राजदूतावास अबुधाबीले यूएईमा कार्यरत नेपालीलाई त्यहाँको कानुन, नियम र मूल्य मान्यताको पूर्ण पालना गर्न आग्रह गरेको छ।
- दूतावासले मादक पदार्थ सेवन गरी झगडा गर्ने, ट्राफिक उल्लंघन गर्ने र साइबर अपराधमा संलग्न नहुन चेतावनी दिएको छ।
- आफ्नो राहदानी, इमिरेट्स परिचय पत्र र फोनको सीम कार्ड कसैलाई नदिन र सामाजिक सञ्जालमा अनावश्यक पोस्ट नगर्न पनि अनुरोध गरेको छ।
७ असोज, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) मा काम गरिरहेका नेपालीलाई तोकिएका कानुन, नियम र मूल्य मान्यताको पूर्ण पालना गर्न नेपाली राजदूतावास, अबुधाबीले आग्रह गरेको छ ।
दूतावासले एक सूचना जारी गर्दै यूएईमा कार्यरत नेपालीले कार्यस्थलका नियम विपरीत हुने कुनै पनि गतिविधि नगर्न चेतावनी दिएको हो ।
पछिल्ला दिनमा केही नेपाली मादक पदार्थ सेवन गरि झैझगडा गर्ने, अनुशासनहीन व्यवहार, गैरकानुनी लेनदेन, ट्राफिक उल्लंघन, साइबर अपराध लगायतका कारण कारबाहीमा परेको दूतावासमा जानकारी पुगेको उल्लेख गरिएको छ ।
‘आफू कार्यरत कम्पनी र बसोबास गर्ने स्थानमा सधै मर्यादित र अनुशासित भई आफ्नो पेशा र व्यवसायप्रति सधै इमान्दार, कर्तव्यनिष्ट रही आफु बसोबास गर्दै आएको मुलुकको यूएईको नियम, कानुन, मूल्य मान्यता र अनुशासन पूर्ण रुपमा पालना गर्न नेपाली राजदूतावास सबैमा हार्दिक अनुरोध गर्दछ,’ सूचनामा उल्लेख छ ।
दूतावासले यूएईमा रहँदा यहाँको ऐन, कानुन, नियम र मूल्य मान्यताको पूर्ण पालना गर्ने, कानुनले निषेध गरेका कुनै पनि कार्यहरू नगर्न भनेकाे छ। त्यस्तै मादक पदार्थ सेवन गरी झैझगडा नगर्न, कुनै पनि व्यक्तिले दिएको सरसामग्री चेकजाँच नगरी नबुझ्न अनुराेध गरेकाे छ।
त्यस्तै ट्राफिक नियमको सधैं पालना गर्न, जेव्रा क्रसिङबाट मात्र बाटो काट्ने र ट्राफिक सिग्नलको सधै पालना गर्न, इमिरेट्स आईडी सधैं साथमा लिएर हिड्न भनेकाे छ।
सधैं शिष्ट मर्यादित र अनुशासित व्यवहार पालना गर्न, कसैसँग कुनै किसिमको नगद कारोबार वा लेनदेन नगर्न, कसैको लोभ लालच र मुलाहिजामा नफस्न समेत अनुराेध गरेकाे छ ।
साथै आफ्नो राहदानी, इमिरेट्स परिचय पत्र र फोनको सीम कार्ड कसैलाई पनि नदिने र इमिरेट्स आईडी बुझाई कुनै किसिमको बैकिङ्ग ऋण नलिन, फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालहरूमा व्यक्तिगत चरित्रहत्या गर्ने तथा सामाजिक सद्भाव खलबल्याउने किसिमले जथाभावी पोस्ट नगर्न र यहाँका निकायहरूमा अनावश्यक इमेल नगर्न समेत अनुराेध गरेकाे छ ।
आफ्नो देशको चाडपर्व, धर्म संस्कृति सामूहिक रुपमा आयोजना गर्दा तोकिएको स्थानमा यूएईको सम्बन्धित निकायबाट पूर्व स्वीकृति लिएर स्थानीय कानुनको मापदण्डभित्र रही अनुशासित तवरमा मात्र आयोजना गर्न भनेकाे छ ।
नेपाली समुदायबीच ऐक्यवद्धता कायम गर्न सबै संघसंस्था र समाजहरूबीच पारस्परिक सम्बन्ध र भातृत्व कायम गर्न अनुराेध गरेकाे छ ।
प्रतिक्रिया 4