
७ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुण्डु पुगेका युवा विद्यार्थीहरूले केहीबेर नाराबाजी गरे ।
सैनिक ब्यारेकबाट फर्किएका ओलीसँग सामूहिक भेटका लागि गुण्डु पुगेका युवा तथा विद्यार्थीहरूले उनका पक्षमा नारा लगाएका हुन् । उनीहरूले ‘केपी बा– वी लभ यू, केपी ओली– वी लभ यू, राजनेता केपी ओली– जिन्दावाद’ जस्ता नारा लगाएका थिए ।
२०७७ मा नेकपा फुटेपछि ओलीका लागि यस्तो नारा लाग्न थालेको हो । प्रतिनिधि सभा विघटन गर्ने निर्णय पछि ओलीलाई साथ दिने युवा तथा विद्यार्थीहरूले ‘केपी बा– वी लभ यू’ को नारा लगाएका थिए । एमाले र माओवादी केन्द्रको पुनर्स्थापना हुँदै राजनीति सामान्य अवस्थामा फर्किएपछि भने यस्तो नारा लाग्न छोडेको थियो ।
तर जेनजी पुस्ताको सडक विद्रोहका कारण प्रधानमन्त्री पदबाट राजीनामा दिएर १० दिन सैनिक ब्यारेक बसेका ओलीका निम्ति उनको निवासमा ‘वी लभ यू’को नारा लागेको छ । यो नारा लगाउने समूहको नेतृत्व युवा संघका अध्यक्ष क्षितिज थेबे, अनेरास्ववियुका उपाध्यक्ष अञ्जना सिवाकोटी र महासचिव दीपक धामीले गरेका थिए ।
सामुहिक रुपमा भेट्न आएका यो टोलीलाई ओलीले छोटोमा सम्बोधन पनि गरेका थिए । सम्बोधन पछि पनि ‘वी लभ यू’ को नारा लागेको थियो । यसपछि सामूहिक तस्वीर लिएर टोली छुटेको थियो ।
प्रतिक्रिया 4