+
+
Shares

रास्वपामा सन्तोष परियारको प्रस्ताव : पार्टीको विशेष महाधिवेशन वा विस्तारित बैठक गरौं

‘राजनीतिक दलहरु भन्दा राजनीति अन्तै पुगेको छ । नागरिक सरकारका नाममा संविधानभन्दा बाहिर गएर सरकार बनाइएको छ । एउटा राजनीतिक दलका लागि यो सामान्य कुरा होइन ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते ११:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले मंसिरमा महाधिवेशन गर्ने वा विस्तारित बैठक गर्ने दुई विकल्प प्रस्तुत गर्नुभएको छ।
  • परियारले संविधानमाथि आघात पुगेको बताउँदै विघटित प्रतिनिधि सभाको अवस्थालाई चिन्ता व्यक्त गर्नुभएको छ।
  • पार्टी सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्कँदा उठेका प्रश्नहरूको सत्य तथ्य जनतालाई जवाफ दिनुपर्ने परियारको प्रस्ताव छ।

८ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले पार्टीमा रुपान्तरण आवश्यक रहेको बताएका छन् । यसका लागि उनले केन्द्रीय समितिको बैठकमा दुईटा विकल्प प्रस्तुत गरेका छन् । पहिलो मंसिरमा महाधिवेशन  र दोस्रो, महाधिवेशन नगर्ने भए विस्तारित बैठक आयोजना ।

यी दुई मध्ये एउटामा जानुपर्ने उनको प्रस्ताव छ । केन्द्रीय समितिको बैठकमा बोल्दै उनले आगामी फागुन ७, ८ र ९ गतेका लागि महाधिवेशनको मिति विगतमा तोकिएको स्मरण गरे ।

त्यसअनुसार पार्टी महाधिवेशन गर्ने गरी अभियान चलिरहेकै बेला परिस्थिति बदलिएकाले छिटो महाधिवेशन गर्न सकिने उनको पहिलो प्रस्ताव छ ।

‘अब यो बदलिँदो परिस्थितिमा महाधिवेशनलाई अगाडि ल्याएर छिटो महाधिवेशन गर्न सक्छौं, त्यो महाधिवेशन मंसिरमा गर्न सक्छौं’ परियारले समितिमा राखेको भनाई उल्लेख अनलाइनखबरसँग भने, ‘मंसिरमा महाधिवेशन गर्ने हो भने अहिले भएका सबै समितिहरु भंग गरौं यो केन्द्रीय समितिलाई महाधिवेशन गर्ने आयोजक समितिमा रुपान्तरित गरौं ।’

यसो गर्दा जिल्ला जिल्लामा भएका सदस्य संख्याको भारमा प्रतिनिधि लिएर आउने र एउटा विशेष खालको महाधिवेशन गरेर अगाडि जानसकिने उनको प्रस्ताव छ ।

महाधिवेशनपछिको संगठन, विचार, नीति र राजनीतिक मुद्दामा आधारित भएर एउटा स्पष्ट कार्यदशासहित प्रतिनिधि सभाको चुनावमा होमिने उनको प्रस्ताव छ ।

प्रतिनिधि सभाको चुनाव फागुन २१ गतेका लागि तोकिएको छ । उक्त चुनाव समयमै हुनपर्ने र चुनावमा जाँदा महाधिवेशनपछिको संगठन लिएर जाँदा पार्टीलाई अझ धेरै फाइदा पुर्‍याउन सक्ने उनको प्रस्ताव छ ।

यदि मंसिरमा महाधिवेशन नगर्ने हो भने विस्तारित बैठक गर्ने र अगाडि बढ्न सकिने उनको दोस्रो प्रस्ताव छ ।

‘होइन भने एउटा विस्तारित बैठक गरौं दशैं तिहार पछाडी अथवा कहाँ गर्न सकिन्छ मिति तोकौं । विस्तारित बैठकमा कुन तहको साथीहरु सहभागी हुने त्यो पनि टुंगो लगाऔं’ परियारले भनेका छन्, ‘त्यो विस्तारित बैठकले पार्टीको संगठनको पुनर्गठन गरौं, विचारको पुनर्गठन गरौं गरौं, राजनीतिक मुद्दाको पुनर्गठन गरौं र एउटा कार्यदिशा पारित गरौं ।’

यसो गर्दा अहिले भएका मौजुदा समिति सबै आफ्नो–आफ्नो ठाउँमा रहि रहने र विस्तारित बैठकबाट पार्टी केन्द्रको सचिवालय पुनर्गठन गर्ने, पुनर्गठित केन्द्रीय समितिमा हाल केन्द्रीय समितिमा भएका व्यक्तिहरुको जिम्मेवारी हेरफेर गर्ने र अगाडि जाने उनको प्रस्ताव छ ।

यी दुई विकल्पमध्ये एउटा विकल्पमा जानुपर्ने उनको प्रस्ताव छ । यसो गर्दा फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभाको चुनावमा जनतासामु उर्जावान संगठन लिएर जान सकिने उनको आग्रह छ ।

केही गरी फागुन २१ मा चुनाव भएन भने महाधिवेशन वा विस्तावित बैठकबाट आएको पुनर्गठित केन्द्रीय समिति र पुनर्गठित केन्द्रीय सचिवालयले पुनर्गठित विचार र राजनीतिक मुद्दाहरु लिएर पार्टी संगठन निर्माणमा लाग्न सकिने उनको आग्रह छ ।

उनले भनेका छन्, ‘यो दुईटा प्रस्ताव छ यो दुईटा प्रस्ताव भन्दा दायाँ बायाँ गर्‍यौं भने हाम्रो राजनीति कठिन छ ।’

यो सँगै नयाँ र वैकल्पिक अन्य शक्तिलाई समेत समेटेर रास्वपा अगाडि बढ्न सक्नुपर्ने परियारको अर्को प्रस्ताव छ । रास्वपा बाहिर रहेका परिवर्तन पक्षधर शक्तिलाई जोड्न सक्नुपर्ने र यसका लागि पार्टीले नीति नै बनाएर अगाडि बढ्नुपर्ने नेता परियारको आग्रह छ ।

संविधानमा आघात पुग्यो
विघटित प्रतिनिधि सभामा रास्वपाका प्रमुख सचेतक रहेका परियारले संविधानमाथि आघात पुगेको निष्कर्ष समेत केन्द्रीय समितिको बैठकमा सुनाएका छन् ।

‘एउटा सामान्य अवस्थामा हामी बैठक बसिरहेका छैनौं’ उनले भनेका छन्, ‘यो कुरा साथीहरुले बुझ्नु पर्यो– आज हामीसँग भएको संविधान माथि हस्तक्षेप भएको छ । संविधानलाई आघात पुगेको छ । जननिर्वाचित प्रतिनिधि सभा छैन ।’

जेनजीको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका थिए । त्यसपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार बनेको छ । कार्की नेतृत्वको सरकार संविधानले परिकल्पना गरे जस्तो संविधानको धारा ७६ अन्तर्गत बनेको छैन । राष्ट्रपतिको काम, कर्तव्य र अधिकार अन्तर्गतको धारा अन्तर्गत कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको हो ।

प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ २७ गते प्रतिनिधि सभा विघटन गरेका छन् । आगामी फागुन २१ गतेका लागि मध्यावधि चुनावको मिति तोकिएको हो ।

यो पृष्ठभूमिमा बसेको केन्द्रीय समितिको बैठकमा परियारले संविधानलाई आघात पुगेको निष्कर्ष सुनाएका हुन् ।

परियारले भनेका छन्, ‘राजनीतिक दलहरु भन्दा राजनीति अन्तै पुगेको छ । नागरिक सरकारका नाउमा संविधान भन्दा बाहिर गएर सरकार बनाइएको छ । एउटा राजनीतिक दलका लागि यो सामान्य कुरा होइन ।’

जेनजीले उठाएका विषय रास्वपाले पनि उठाउँदै आएका विषय र मुद्दा भएको उल्लेख गर्दै उनले भदौ २३ र २४ गते भएका गतिविधिहरू भने रहस्यमै रहेको बताए ।

‘मूलत २४ गते जुन विध्वंस भयो, त्यस पछाडि जे जस्ता गतिविधिहरु भए ति गतिविधिहरु के हुन् र कस्तो हुन् भन्ने कुरा हामीले आजै खुट्टाउन सकेको अवस्था छैन’ उनले भनेका छन्, ‘यसका सत्य तथ्यहरु अझ आउन बाकी नै छ ।’ यो अवस्थामा बसेको पार्टीको केन्द्रीय समितिको बैठक वर्तमान सत्यलाई अवमूल्यन गरेर, अन्देखा गरेर अगाडि जान नसक्ने उनको भनाइ छ । उनले भनेका छन्, ‘हामी यथास्थितिमा रह्यौं भने हाम्रो आगामी राजनीति निकै जटिल देख्छु ।’

पार्टी सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्कँदाको सन्दर्भमा अनेकन प्रश्न उठेकाले तयसलाई पनि पार्टीले निरुपण गरेर जानुपर्ने परियारको प्रस्ताव छ ।

‘भदौ २४ गतेको आन्दोलनका क्रममा नख्खु कारागारमा भएको विषयमा हामीलाई यावत प्रश्नहरु छन्, त्यो प्रश्नको जवाफ हामीले दिनुपर्छ । ‘के हो भन्नुपर्छ’ उनले भनेका छन्, ‘के भएको थियो ? सत्य तथ्य हामीले जनतालाई जवाफ दिनुपर्छ ।’
अहिले प्रष्ट नपारे भविष्यमा निकै लामोसमयसम्म जवाफ दिइरहनुपर्ने हुन सक्ने उनको आग्रह छ । ‘यो देशको चौथो ठूलो राजनीतिक पार्टी, त्यसमाथि निस्किएका प्रश्नहरू त्यो माथि आएका प्रश्नहरू, त्यसले जवाफबाट भाग्न पाउँदैन’ परियार थप्छन्, ‘त्यसको सत्य तथ्य जवाफ दिने पनि हाम्रो जिम्मेवारी हो । हामीले जवाफ दिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?