
८ असोज, हुम्ला । हुम्ला सदरमुकाम सिमकोटदेखि ९५ किलोमिटर कच्ची सडक पार गरेपछि पुगिन्छ, चीनसँग जोडिएको हिल्सा नाका ।
सरकारले चीनसँग सीमा जोडिएका १५ जिल्लाका नागरिकले जिल्ला प्रशासनबाट अस्थायी सीमा पास लिएर सीमापार ओहोरदोहोर गर्न पाउने प्रावधान ल्याएको छ । यो प्रावधानसँगै चीनको ताक्लाकोट प्रवेश गर्ने नेपालीको संख्या बढेको छ ।
नेपाल-चीन दुईपक्षीय सम्झौताअनुसार दुवै देशका सीमावर्ती जिल्लाका नागरिकले ३० किलोमिटरसम्म बिना राहादानी जिल्ला प्रशासनको पत्रका आधारमा आउजाउ गर्न पाउँछन् ।
तर, सीमावर्ती क्षेत्रमा निगरानी तथा नियमन र सीमापार अपराध रोकथाम तथा नियन्त्रणमा प्रशासन र सुरक्षा संयन्त्रको उपस्थिति कमजोर भने देखिएको छ । जसका कारण अपराधिक गतिविधिको जोखिम छ ।
सीमा नाकामा नेपालीलाई कडा निगरानी
हुम्लाबासीको मुख्य बजार नै चीनको ताक्लाकोट हो । व्यापार-व्यवसाय, ज्याला-मजदुरीदेखि चाहिने दैनिक उपभोग्य सामान खरिदका लागि ताक्लाकोटमै निर्भर छन् । तर, हिल्सा नाकाबाट चिनियाँ गेट प्रवेश गर्नेबित्तिकै चिनियाँहरूको व्यवहारका कारण नेपालीहरूको मनोबल गिर्ने गरेको नाम्खा गाउँपालिका-५ का तेन्जिन पाल्जोर लामा बताउँछन् ।
‘चीन छिरेपछि उनीहरूकै निगरानीमा बस्नुपर्छ । मनोबल नै कमजोर हुन्छ,’ लामा भन्छन्, ‘मन लागे चीनले नाका खोल्छ, मन नलागे बन्द गर्छ ।’
गाउँको उत्पादनले तीन महिना पनि नपुग्ने भएपछि खाद्यान्न ल्याउन चीनको ताक्लाकोट पुग्न बाध्य भएको नाम्खा गाउँपालिकाका नागरिक बताउँछन् । घरमा आश्वयक पर्ने मैदा, उवा, तेल ल्याउन ताक्लाकोट पुग्नुपर्ने यहाँका नागरिकको बाध्यता छ ।
ताक्लाकोटमा नेपाली बजार छुट्टै
हुम्ला सदरमुकाम सिमकोदेखि हिल्सा नाकासम्म गाडी चल्न थालेपछि चीनसँगको निर्भरता अझै बढेको छ । केही नागरिकहरू ताक्लाकोटमा होटेल–पसल गर्छन् भने कोही श्रम गरी ताक्लाकोटमै बस्ने गर्छन् ।
वर्षेनी रोजागरी र व्यवसायका लागि ताक्लकोट आउजाउ गर्नेको संख्या बढ्दै गएको छ । जिल्लाका विभिन्न स्थानबाट चीनको ताक्लाकोटमा रोजगारी र व्यवसाय गर्न नेपालीलाई चिनले छुटटै बजार व्यवस्था गरेको छ ।
झन्डै २०० नेपालीले होटेल-पसल व्यवसाय गर्दै आएको कैलाश व्यापार संघका अध्यक्ष नाङमाछिरिङ लामा बताउँछन् ।
हालसम्म जिल्ला प्रशासन कार्यालय हुम्लाबाट ताक्लाकोट प्रवेशका लागि ८ हजारभन्दा बढीले अस्थायी सीमापास लिएका छन् । हिल्सा प्रहरी चौकीको तथ्यांकअनुसार २ हजार बढी नेपाली ताक्लाकोटमै व्यापार व्यवसाय र मजदुरी गरी बसेका छन् ।
नाकामा चिनियाँको मनपरी
पाँच वर्षयता सीमामा चिनियाँहरूको मनपरी देखिँदै आएको छ । सीमा सञ्चालनमा कुनै नीति नियम छैन । मन लागेको बेला सीमा खोल्ने तथा बन्द गर्ने, कुनै सामान बढी पठाउने, कुनै वस्तुको कोटा तोक्ने जस्ता काम चिनियाँ पक्षको तलबिजमा चल्ने गरेको स्थानीय बताउँछन् । जसका कारण हुम्लाको जनजीवन नै असहज बनेको छ ।
ताक्लाकोटबाट हिल्सा नाका हुँदै भित्रिने मैदाको पिठो लुकाएर ल्याउनुपर्ने बाध्यता छ । ‘धेरै सामान ल्याउन दिँदैन । दुई पिस बनाएर ल्याउनुपर्ने बाध्यता छ,’ नाम्खा गाउँपालिका-५ का निमा तामाङले भने ।
नाम्खामा उत्पादन कम हुन्छ । हिँउदमा खाने मैदा ल्याउन ताक्लाकोट पुग्नुपर्छ । दुई बोरा मात्रै ल्याउन पाइन्छ । त्यही पनि लुकाइलुकाइ सीमा नाकाबाट ल्याउनुपर्ने अवस्था रहेको उनले बताए । ‘यहाँका नागरिक चीनको भर पर्नुपर्दा असहज भएको छ,’ उनले भने ।
चीनको ताक्लाकोटदेखि ३० किलोमिटर दुरी रहेको हिल्सा नाकासम्म सामान ल्याउन गाडीभाडामा समेत सिन्डिकेट भएको स्थानीय बताउँछन् । ‘दुई पिस सामान ढुवानी गरेवापत झन्डै ८ हजार नेपाली रुपैयाँ तिनुपर्छ । यात्रुहरूले छुट्टै बस भाडा ८०० रुपैयाँ तिर्न बाध्य छन्,’ नाम्खा गाउँपालिका-४ का पुर्वु तामाङको गुनासो छ ।
२०७६ सालको कोरोना महामारीदेखि यहाँको नाका बन्द थियो । केही वर्ष अघिबाट नाका सहज भएपछि चिनियाँ पक्षबाट सीमा नाकाका नागरिक पीडित बन्दै गएका छन् ।
शहरबाट हिमालतिर बसाइँसराइ बढ्यो
केही वर्षयता हुम्लाभन्दा बाहिरी जिल्लाका नागरिक हिमालतिर बसाइँ सर्दै सीमा पास लिएर हिल्सा नाका हुँदै ताक्लाकोट पुग्ने गरेका छन् । दार्चुला र बझाङ जिल्लाका नाकामा चीनले कडाइ गरेपछि हुम्लाको हिल्सा नाका प्रयोग गरी चीन प्रवेश गर्नको संख्या बढेको हो ।
जिल्ला प्रशासन कार्यालय हुम्लाका तत्कालीन प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको अध्यक्षतामा राजनीतिक दलका प्रतिनिधि र पत्रकारहरूको उपस्थितिमा बसेको बैठकले नयाँ निर्णय गरेको थियो ।
बाहिर जिल्लाका नागरिकको हकमा बसाइँसराइ गरेको ३ वर्षसम्म जिल्ला प्रशासन कार्यालयबाट सीमापास जारी नगर्ने निर्णयलाई उल्ट्याएर सीमापास तत्काल दिने निर्णय भएको हो ।
जसका कारण बझाङ, डोटी, दार्चुला, प्युठान, ओखलढुंगा, सिन्धुपाल्चोक, खोटाङ, सोलुखम्बु लगायतका स्थानबाट हुम्ला जिल्लाको नाम्खा गाउँपालिकाका हेप्का, खगालगाउँ, मुचु, सिमकोट गाउँपालिका ठेहे दोजोम स्याडा लगायतका स्थानमा जग्गा खरिद गर्नेको संख्या पनि बढेको पाइएको छ ।
जग्गाधनी पुर्जा हुनेहरूले जिल्ला प्रशासन कार्यालयबाट सीमापास लिने गरेका छन् । केही महिला स्थानीयसँग विहेबारी गरी त्यहींको नागरिक भएका छन् । मालपोत कार्यालय हुम्लाको तथ्यांकमा २५ जनाले जिल्ला बाहिरबाट आएर गाउँघरको जग्गा खरिद गरेको समेत देखिन्छ ।
प्रतिक्रिया 4