+
+
Shares

अटोमोबाइल उद्योगको आवाज सुनेर सरकारले ल्याएको निर्णय स्वागतयोग्य : नाडा

नाडाले यस किसिमको निर्णायक कदमले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै देशको अर्थतन्त्रलाई पुनर्जीवित गर्न प्रतिबद्ध रहेको स्पष्ट सन्देश दिएको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते १९:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नाडा अटोमोबाइल्स एसोसिएनले आन्दोलनबाट प्रभावित उद्योग र व्यवसायका लागि सरकारले घोषणा गरेको राहत प्याकेजको स्वागत गरेको छ।
  • सरकारले बीमा क्षतिको ५० प्रतिशत अग्रिम भुक्तानी, कर्जा सहुलियत, भन्सार छुट र कर कटौती जस्ता सुविधा उपलब्ध गराउने व्यवस्था गरेको छ।
  • नाडाले एलटीभी सुविधा सम्पूर्ण सवारीसाधनमा विस्तार गर्न र दीर्घकालीन रूपमा ईभी रोडम्याप, भन्सार सुधार र पूर्वाधार विस्तारमा ध्यान दिन सरकारसँग आग्रह गरेको छ।

८ असोज, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएन अफ नेपाल (नाडा) ले हालै जेनजी आन्दोलन क्रममा सिर्जना भएको असामान्य परिस्थितिबाट प्रभावित उद्योग, व्यापार तथा व्यावसायिक प्रतिष्ठानहरूको पीर, मर्का र आवाज सम्बोधन गर्दै सरकारले घोषणा गरेको राहत प्याकेजको स्वागत गरेको छ ।

नाडाले यस किसिमको निर्णायक कदमले सरकार निजी क्षेत्रसँग सहकार्य गर्दै देशको अर्थतन्त्रलाई पुनर्जीवित गर्न प्रतिबद्ध रहेको स्पष्ट सन्देश दिएको जनाएको छ ।

नाडाका अध्यक्ष करणकुमार चौधरीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले केही समयअघि प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनालसँग भेटघाट गरी आन्दोलनका कारण गम्भीर रूपमा प्रभावित अटोमोबाइल उद्योग तथा व्यवसायलाई पुनर्जीवित गर्न विशेष राहत प्याकेज ल्याउन आग्रह गरेको थियो ।

सोही अनुरोधलाई सरकारले उच्च प्राथमिकता साथ सम्बोधन गरी निर्णयमा परिणत गरेको देख्दा उद्योगी–व्यवसायीले आत्मबल पाएको नाडाले उल्लेख गरेको छ । यसले सरकार निजी क्षेत्रको आवाज कदर गर्ने मात्र नभई तत्काल कार्यान्वयनमा जान तयार रहेको प्रमाणित भएको नाडाको भनाइ छ ।

अटोमोबाइल उद्योग नेपालको अर्थतन्त्रमा ठूलो योगदान गर्ने क्षेत्र हो । यसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हजारौं रोजगारी सिर्जना गर्दछ, कर–राजस्वको ठूलो हिस्सा प्रदान गर्दछ र आधुनिक जीवनशैली तथा गतिशील अर्थतन्त्रको मेरुदण्ड बनेको छ । तर, पछिल्ला घटनाले गर्दा यो क्षेत्रमा ठूलो धक्का पुगेको नाडाको भनाइ छ ।

प्रदर्शन र अशान्तिबाट धेरै शोरुम, गाडी, गोदाम र सम्पत्ति क्षतिग्रस्त भए, आपूर्ति शृङ्खला अवरुद्ध भयो र ग्राहकहरूको विश्वासमा समेत असर परेको थियो । यस्तो कठिन अवस्थामा सरकारले ल्याएको राहत प्याकेज उद्योगी–व्यवसायीका लागि ठूलो ढुक्क र हौसला दिने आधार बनेको नाडाले जनाएको छ ।

सरकारले घोषणा गरेका प्रमुख प्रावधान

बीमा सर्वेयरको प्रारम्भिक प्रतिवेदनका आधारमा भवन, सवारीसाधन, मालसामान, यन्त्र–उपकरण आदिमा भएको क्षतिको ५० प्रतिशत रकम अग्रिम रूपमा छिट्टै भुक्तानी गर्ने व्यवस्था ।

पुनर्बीमा प्रक्रियामा ढिलाइ भए बीमा कम्पनीहरूले ५० प्रतिशतसम्म अग्रिम भुक्तानी उपलब्ध गराउने सुविधा ।

आन्दोलनमा क्षति भएका व्यावसायिक सवारी वा ढुवानी साधन नयाँ खरिद गर्दा बैंक कर्जामा लोन टु भ्यालु (एलटीभी) न्यूनतम ८० प्रतिशत हुने व्यवस्था ।

आगजनी वा तोडफोडबाट क्षति भएका मालसामान पुनस्र्थापनाका लागि आयात गर्दा भन्सार महसुल तथा अन्तःशुल्कमा ५० प्रतिशत छुट दिने सुविधा ।

राष्ट्रिय पुनर्निर्माण कोषमा योगदान गरेको रकमलाई कर कटौतीमा गणना गर्ने व्यवस्था ।

बीमा नभएका मौज्दातमा मूल्यांकनका आधारमा लागत खर्च कट्टी तथा करकट्टी गर्न सक्ने सुविधा ।

आन्दोलन प्रभावित ऋणी उद्योग र व्यवसायका लागि साँवा तथा ब्याज भुक्तानी अवधि थप्ने व्यवस्था ।

प्रभावित उद्योग तथा व्यवसायलाई सहुलियत दरमा कर्जा उपलब्ध गराउने सुविधा ।

रोजगार सुरक्षित गर्न पारिश्रमिक संरक्षण सुविधा ल्याई २ प्रतिशत अनुदान सहित सहुलियत कर्जा दिने व्यवस्था ।

दशैंबाहेक अन्य बिदामा पनि व्यापार सहजीकरणका लागि सरकारी कार्यालय, बैंक तथा राजस्व संकलन गर्ने निकाय खुला रहने व्यवस्था ।

सकारात्मक प्रभाव र नाडाको अपेक्षा

नाडाले यी सबै प्रावधानले प्रभावित अटोमोबाइल उद्योगी तथा व्यवसायीलाई प्रत्यक्ष राहत दिलाउने अपेक्षा गरेको छ । अग्रिम दाबी भुक्तानी, कर्जामा सहजता, भन्सार छुट र करमा सहुलियतले तत्कालका कठिनाइ पार गर्न ठूलो योगदान पुर्‍याउने छ ।

साथै, पारिश्रमिक संरक्षण जस्ता योजनाले कर्मचारीहरूको रोजगारी सुरक्षित गर्ने भएकाले यसले सामाजिक स्थिरतामा पनि सहयोग गर्ने नाडाले जनाएको छ।

नाडाले सरकारलाई थप आग्रह गर्दै एलटीभी सहजता केवल आन्दोलन प्रभावित व्यवसायका लागि मात्र नभई सम्पूर्ण सवारीसाधनमा विस्तार गर्नुपर्नेमा जोड दिएको छ ।

यसो भए माग पुनर्जीवित हुने, बैंकिङ प्रणाली मार्फत लगानी प्रवाह बढ्ने, रोजगार सुरक्षित हुने र सरकारकै राजस्व आयमा निरन्तरता रहन सक्ने नाडाको तर्क छ । नाडाले सरकार यस विषयमा पनि चाँडै सकारात्मक निर्णयमा पुग्ने आशा राखेको छ ।

त्यस्तै दीर्घकालीन दृष्टिकोणमा ईभी रोडम्याप, भन्सार सुधार, र पूर्वाधार विस्तारमा समेत सरकारले ध्यान दिनुपर्ने नाडाको आग्रह छ । अटोमोबाइल क्षेत्रमा गरिएको नीतिगत प्रगतिले मात्र नभई हरित विकास, ऊर्जा सुरक्षाको मजबुतीकरण र अन्तर्राष्ट्रिय प्रतिबद्धताको सम्मान गर्ने मार्ग खुल्ने नाडाको विश्वास छ ।

नाडाले सरकारले घोषणा गरेको राहत प्याकेजलाई उद्योगी–व्यवसायीको आवाज सुन्ने र तत्काल कार्यान्वयन गर्ने सरकारको दृढता भएको प्रमाणका रूपमा लिएको छ ।

नाडाले सरकारसँग हातेमालो गर्दै यी प्रावधान कार्यान्वयनमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ । साथै, थप नीतिगत सुधार पनि निकट भविष्यमा हुने विश्वास राखेको छ ।

यस कदमले उद्योग, व्यवसाय र सरकारबीचको विश्वास अझ मजबुत बनाउने छ भन्ने नाडाको धारणा छ । नाडाले चाँडै नै अटोमोबाइल क्षेत्र पुनः स्थिरतामा फर्किने, माग पुनर्जीवित हुने, रोजगारी सुरक्षित हुने र नेपाललाई आर्थिक समृद्धितर्फ अगाडि बढाउने यात्रामा यो कदम महत्त्वपूर्ण मोड बन्ने आशा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?