
९ असोज, काठमाडौं । स्थानीय बजारमा सुकेको प्याजको भाउ फेरि बढ्न थालेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार सुकेको प्याजको भाउ बढेको देखाएको हो ।
पहिरोले राजमार्ग अवरुद्ध भएसँगै प्याजको भाउ बढेको व्यवसायीहरू बताउँछन् । काठमाडौं भित्रिने मुख्य नाका नागढुंगा–नारायणगढ सडकअर्न्तगत धादिङको जवाङखोला र चितवन तुइन खोलामा आएको पहिरोले प्याज लगायत तरकारी बोकेका ट्रक बाटोमै रोकिएका छन् ।
समितिको तथ्यांक अनुसार आज कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४० देखि अधिकतम ४४ रुपैयाँमा किनबेच भइरहेको छ । औसत मूल्य भने ४२ रुपैयाँ कायम छ ।
हिजो बुधबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ३५ देखि अधिकतम ३७ रुपैयाँमा किनबेच भएको थियो । औसत मूल्य भने ३६ रुपैयाँ थियो ।
९ दिन अवधिमा प्याजको मूल्य १७.३६ प्रतिशतले बढेको छ । १ भदौमा प्याजको प्रतिकिलो औसत मूल्य ३६ रुपैयाँ रहेकामा आजसम्म आइपुग्दा प्रतिकिलो ४२ रुपैयाँ कायम छ । तथ्यांक अनुसार ९ दिनमा प्याजको प्रतिकिलो थोक मूल्य ६ देखि ७ रुपैयाँसम्म बढेको देखिन्छ ।
दुई महिनाअघि सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४५ देखि अधिकतम ४७ रुपैयाँमा किनबेच भएको थियो ।
आपूर्तिका आधारमा प्याजको भाउ घटबढ हुन्छ । प्याजको मूल्य थोरै मात्रामा मात्रै घटबढ हुने व्यवसायीहरू बताउँछन् ।
प्रतिक्रिया 4