
९ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यो समयमा गुट जोगाउने काममा नलागी विवेक जगाउने कार्यमा लाग्नुपर्ने बताएका छन् ।
सप्तरीमा पार्टी कार्यालयको अवलोकनपछि महामन्त्री शर्माले अब पुरानो भावनाको कांग्रेस नवीन संभावना सहितको हुनुपर्ने बताएका छन् ।
‘लोकतन्त्र र संविधाननै खतरामा परेको बेला तपाईंले जोगाउने गुट होइन, तपाईं–हामीले जोगाउने र जगाउने विवेक हो,’ महामन्त्री शर्माले भने । विवेकको जगमा पार्टी, लोकतन्त्र र देशलाई उभ्याउनुपर्ने उनले बताए ।
नेता कार्यकर्तालाई महामन्त्री शर्माले यो बेला दाइ, भाउजू, काका, काकीले भनेकै कुरालाई आफ्नो विचार नबनाउन आग्रह गरे ।
उनले भने,‘उहाँहरूले जे भन्नुभयो त्यो विचार मेरो विचार हो नभन्नुहोस् । घरमा रहेका साना नानीबाबुको अनुहार हेर्नुस् , तिनले खोजेको परिवर्तन सम्भव तुल्याउने गरि अबको बाटो पहिल्याउनोस् ।’
जेनजी प्रदर्शनले अघि सारेको मुख्य ३ मुद्दा सामाजिक सञ्जाल खोल्नुपर्ने, भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने, सुशासन स्थापना गर्ने रहेको बताए ।
महामन्त्री शर्माले जेनजीको पहिलो माग सम्बोधन भइसकेको र थप दुई माग सम्बोधन गर्न समग्र राज्य प्रशासन र दलहरू गम्भीर एवं एक ढिक्का हुनुपर्ने धारणा राखे ।
‘पार्टीको अबको रणनीति बारे पार्टीभित्र दुई खाले मत हुनु स्वभाविक हो । हामी दुवै महामन्त्रीको प्रयास अत्यन्तै संयम र एकतासाथ आजको अवस्थाबाट एकढिक्का समाधान तर्फ लौजानुपमा रहनेछ,’ शर्माले भने ।
जेनजीको आन्दोलनपछि महामन्त्री शर्माले कोशी र मधेसका जिल्ला कार्यालयहरूको अवलोकन गरिरहेका छन् । मोरङ, झापा र सुनसरी पछि महामन्त्री शर्मा सप्तरी पुगेका छन् ।
प्रतिक्रिया 4