
९ असोज, काठमाडौं । अवकाशमा जान एक महिना बाँकी रहँदा विदेशस्थित कार्यालयमा कर्मचारी सरुवा गर्न धमाधम अन्तर्वार्ता लिइरहेका नेपाल वायससेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई पर्यटन मन्त्रालयले उक्त प्रक्रिया स्थगन गर्न निर्देशन दिएको छ ।
कार्यकारी अध्यक्ष अधिकारीले अवकाशमा जाने बेला ४५ जना पनि करारमा भर्ना गरेका थिए । त्यस्तै निगमका विदेशस्थित कार्यालयमा कर्मचारी सरुवा गर्न ‘आर्थिक लाभ लिँदै’ अन्तर्वार्ता लिइरहेको समाचार अनलाइनखबरमा आज बिहीबार प्रकाशित भएको थियो ।
समाचार प्रकाशित भएपछि पर्यटन मन्त्रालयले यस विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै कर्मचारी सरुवा प्रक्रिया हाललाई स्थगित गर्न र समाचारमा उठेको विषय सम्बन्धमा पछिसम्म फरक नपर्ने गरी २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई स्पष्टीकरण सोधेको छ ।
नेवानिका कार्यकारी अध्यक्ष अधिकारीले विदेशस्थित कार्यालयमा कर्मचारी सरुवा गर्ने अन्तिम तयारी थालेका छन् । नेवानिका विभिन्न अन्तर्राष्ट्रिय कार्यालयमा कन्ट्री म्यानेजर तथा एकाउन्ट म्यानेजर लगायत पदमा सरुवाका लागि अधिकारीले अहिले धमाधम अन्तर्वार्ता लिइरहेका छन् ।
विदेशमा राम्रो कमाइ हुने भएकाले ती स्टेसनमा सरुवा हुन चाहनेसँग आर्थिक लाभ लिएर मात्रै अधिकारीले सरुवा गर्ने गरेको नेवानिकै अर्का एक अधिकारीले बताए । नेवानिले देश बाहिरका विभिन्न कार्यालयमा १३ जना कर्मचारी सरुवा गर्ने तयारी थालेको थियो ।
नेवानिले दुबई, मुम्बई र ग्वान्जाओमा आठौं तहका एक–एक जना कर्मचारीलाई कन्ट्री म्यानेजरका रूपमा सरुवा गर्दैछ । त्यसरी सरुवा भएर जान चाहने कर्मचारीसँग कार्यकारी अध्यक्ष अधिकारीले मंगलबार अन्तर्वार्ता लिएका छन् ।
त्यस्तै नयाँदिल्ली र बैंककमा सातौं तहका एक–एक कर्मचारीलाई एयरपोर्ट/स्टेसन म्यानेजरमा नेवानिले पठाउँदै छ । त्यका लागि पनि उनले मंगलबार नै अन्तर्वार्ता लिएर भ्याएका छन् ।
त्यस्तै दिल्ली, मुम्बई र ग्वान्जाओमा सातौं तहका एक–एक जना लेखा प्रबन्धक पठाउने तयारी उनले गरेका छन्, जसका लागि बुधबार अन्तर्वार्ता लिइएको छ ।
दिल्ली, बैंकक र ग्वान्जाओमा छैटौं तहका तीन जना एसरपोर्ट/स्टेसन म्यानेजर पठाउने तयारी उनले गरेका छन् । त्यसका लागि बुधबार नै अधिकारीले अन्तर्वार्ता लिएका छन् । बैंकक र दोहामा एक–एक जना छैटौं तहका लेखा प्रबन्धक सरुवा गर्ने तयारी उनको छ । यो पदमा जान इच्छुकसँग उनले बिहीबार अन्तर्वार्ता लिएका छन् ।
यसअघि १ साउनमा नै नेवानिले सूचना प्रकाशित गरी यी स्थानमा जान चाहनेसँग आवेदन माग गरेको थियो । त्यसरी आवेदन दिनेसँग अन्तर्वार्ता भइरहेको छ ।
तर, देखाउनका लागि मात्रै प्रक्रिया पूरा गरे पनि यथार्थमा आर्थिक लाभका आधारमा सरुवा हुने गरेको नेवानिकै कर्मचारीहरू बताउँछन् । आफ्नो कार्यकाल एक महिना मात्रै बाँकी भएको अवस्थामा कर्मचारी सरुवाका लागि भरमग्दुर प्रयास गर्नुले यसको पुष्टि हुने सम्बद्ध स्रोतले बतायो ।
हेर्नुहोस् विज्ञप्ति :
प्रतिक्रिया 4