
९ असोज, काठमाडौं । नेपाल बौद्धिक परिषद्ले नेकपा एमालेको नेतृत्व तत्काल हस्तान्तरण गर्नुपर्ने निष्कर्ष पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएको छ ।
पार्टी निकट बुद्धिजिवीहरूको परिषद्ले तत्काल राष्ट्रिय महाधिवेशन सम्भव नरहेकाले केन्द्रीय कमिटी बैठकबाट नेतृत्व हस्तान्तरण गर्नुपर्ने निष्कर्ष निकालेको छ । गत १ असोजको सचिवालय बैठकबाट नेतृत्व हस्तान्तरणबारे भएको निर्णय अध्यक्ष ओली र महासचिव शंकर पोखरेललाई बुझाइएको स्रोतले जनाएको छ ।
‘बौद्धिक परिषद्को सचिवालय बैठकले गरेको निर्णयहरू समेटेर तयार पारिएको सुझाव पत्र अध्यक्ष र महासचिवलाई बुझाइएको छ,’ स्रोतले भन्यो । जेनजी विद्रोहपछि विकसित परिस्थितिमा एमालेप्रति इतिहासमै बढी आक्रोश देखिएकाले पार्टी पुनर्गठन गर्नुपर्ने निष्कर्ष परिषद्ले निकालेको छ ।
‘पार्टीको नेतृत्व विधिवत् रुपमा हस्तान्तरण गर्न पार्टीको महाधिवेशनको आयोजना गर्नुपर्ने र तत्काल सो काम गर्न प्राविधिक रुपमा सम्भव नहुने भएकाले विद्यमान विधानकै अधिनमा रही कार्यकारी केन्द्रीय कमिटीबाट यथाशीघ्र निर्णय गर्नु उपयुक्त देखिन्छ,’ बौद्धिक परिषद्ले बुझाएको सुझाव पत्रमा भनिएको छ ।
पार्टीको नेतृत्व हस्तान्तरण नयाँ नेतृत्व निर्माण गरिनुपर्ने मत पनि बुझाइएको छ । ‘विगतमा विभिन्न नेतृत्वदायी भूमिकामा देश र आन्दोलनलाई योगदान गरिसक्नुभएका आदरणीय नेताहरू अभिभावकीय भूमिकामा बसेर नयाँ नेतृत्वलाई आफ्नो सिकाइ र भोगाइका अनुभवबाट प्रेरित र प्रशिक्षित गर्नु उपयुक्त देखिन्छ,’ पत्रमा लेखिएको छ ।
दोस्रो बुँदामा आगामी २१ फागुनमा तोकिएको चुनावमा उम्मेदवार चयनको मापदण्ड र विधिबारे सुझाव दिइएको छ । परिषद्का अध्यक्ष गजेन्द्रप्रसाद थपलियाले बुझाएको पत्रको तेस्रो बुँदामा भने आफ्नै आत्मसमीक्षा उल्लेख छ ।
मुलुकमा विकसित घटनाक्रमबारे पूर्वअध्ययन गर्न नसकेको र उपयुक्त सुझाव पार्टीलाई दिन नसकेकोप्रति गल्ती स्वीकार गरिएको छ । ‘पार्टीको अभिन्न अंग नेपाल बौद्धिक परिषद्को विगतको भूमिकाको बारेमा बैठकमा गम्भीर आत्मसमीक्षा भएको छ,’ ओलीलाई बुझाइएको पत्रमा भनिएको छ, ‘देशमा विकसित जेनजीको उच्च आक्रोश र शत्रु वर्गका विभिन्न शक्ति केन्द्रहरुको षडयन्त्रलाई बेलैमा अनुमान र अध्ययन गरी पार्टीलाई उपयुक्त सुझाव दिन नसक्नु परिषदको कमजोरीको रुपमा स्वीकारेका छौं ।’
जेनजी विद्रोहपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएर १० दिन सैनिक ब्यारेकमा सुरक्षा लिएका ओली गत २ असोजदेखि गुन्डुमा सरेका छन् । गुन्डूमै बसेर एमाले नेतृत्वमा रहिरहन नेताहरूसँग एक्लाएक्लै भेटवर्ता गरिरहेका ओलीलाई परिषद्ले नेतृत्व छोड्ने सुझाव सहितको पत्र बुझाएको छ ।
प्रतिक्रिया 4