
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म ‘हरिबहादुरको जुत्ता’ असोज १३ गतेदेखि प्रदर्शन हुने भएको छ र यसको कथावस्तु जेनजी आन्दोलनसँग मिल्दोजुल्दो छ।
- अभिनेता हरिवंश आचार्यले फिल्मको कथा गतवर्ष तयार भएको र अहिलेको युवापुस्ताको मागसँग मेल खाने बताएका छन्।
- फिल्मले भ्रष्टाचार र नातावादलाई सशक्त रूपमा चित्रण गरेको र कमेडी शैलीमा मनोरञ्जन दिने बताइएको छ।
काठमाडौं । सोमबार फूलपातीदेखि प्रदर्शन तयारीमा रहेको फिल्म ‘हरिबहादुरको जुत्ता’ अहिले प्रचारप्रसारमा ब्यस्त छ ।
बिहीबार आयोजित पत्रकार भेटघाटमा फिल्मका निर्माता, निर्देशक र अभिनेताले फिल्म किन हेर्न आवश्यक छ भन्ने कुराबारे चर्चा गरे ।
ट्रेलरबाट नै यो फिल्मको कथावस्तु जेनजी आन्दोलन र उनीहरूका मागसँग मिल्दोजुल्दो रहेको झल्को प्रस्तुत गरिएको थियो ।
पत्रकार भेटघाटमा पनि अभिनेता हरिवंश आचार्यलाई यो प्रश्न सोधियो । उनले गतवर्ष नै कथा तयार भएको बताए ।
‘अहिलेको युवापुस्ताले जे माग राखेर आवाज उठाउनुभयो, त्यही नै हाम्रो चलचित्रको पनि कथा हो’ उनले भने ।
उनले अघि भने, ‘हाम्रो चलचित्र केहि समय अगाडी नै तयार भएर, सेन्सर समेत पास भैसकेको छ । यो फिल्मलाई २ महिनापछि प्रदर्शन गरेको भए दर्शकले जेनजी पुस्ताले उठाएको विषयमा चलचित्र बनाएछन् भनिन्थ्यो होला, तर यही असोज १३ गतेदेखि नै प्रदर्शन हुने भएकाले हामीले उठाएको विषय हरेकको मनमा रहेछ भन्ने प्रमाणित हुने भएको छ ।’
उनले फिल्मको कथावस्तु र जेनजी पुस्ताको आवाज मिल्नु संयोउग मात्र भएको बताए ।
उनले कमेडी शैलीमा बनेको फिल्मले दर्शकलाई भरपुर मनोरञ्जन दिने समेत बताए । यो फिल्मले केही गहन विषय उठाएको महसुस गरेको हरिवंशको बुझाइ छ ।
जेनजी आन्दोलनमा एउटा जुत्ता आन्दोलनको प्रतीक बनेको थियो । ‘हरिबहादुरको जुत्ता’ पनि सांकेतिक रुपमा प्रतीक बनेको उनको भनाइ छ ।
‘यो संयोग आफैमा गज्जबको बनेको छ’ उनले भने । भ्रष्टाचारको विषयमात्र होइन नातावादको कुरालाई पनि फिल्मले सशक्त ढंगले चित्रण गरेको उनले बताए ।
दीपेन्द्र के खनालद्वारा निर्देशित यो फिल्ममा हरिवंशसहित स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियङ्का कार्की, हरिहर शर्मा, दिव्यदेव पन्त, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणी नेपाल लगायतको अभिनय छ ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको यो फिल्मलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् । कृष्णबहादुर थापाद्वारा छायांकन गरिएको फिल्मको दृश्य सम्पादन नहकुल खड्काले गरेका हुन् ।
वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत निर्देशन छ ।
प्रतिक्रिया 4