
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल वायुसेवा निगमले चीनको ग्वान्झाउमा प्रवर्द्धनात्मक उडानका लागि टिकट बिक्री गर्दा उडान स्वीकृत नभएको कारण उडान रद्द भएको छ।
- १ सय ४३ जना यात्रु उडान रद्द भएपछि होटेलमा राखिएका छन् र अर्को उडान कहिले हुने भन्ने औपचारिक जानकारी छैन।
- सरकारले विदेशी भ्रमणमा रोक लगाएको अवस्थामा निगमले प्रवर्द्धनात्मक उडानमा तीन दर्जनभन्दा बढी कर्मचारी र अतिथिलाई भ्रमण गराउने योजना बनाएको छ।
१० असोज, काठमाडौं। तनहुँका सजित पौडेल चीनको छान्झोऊमा दुई वर्षदेखि काम गरिरहेका छन् । दशैंमा घर फर्कन उनी टिकट काट्न विभिन्न विकल्प हेर्दै थिए, ग्वान्झाउबाट नेपाल एअरलायन्सकै उडान रहेको देखे।नेपाल एअरलायन्स नै हुँदाहुँदै अरु जहाज किन चढ्नु भनेर उनले २५ सेप्टेम्बर अर्थात् विहीबारका लागि टिकट लिए ।
छान्झोउबाट २ घण्टा १५ मिनेटको हवाइयात्रापछि ग्वान्झाउ आइपुगेका उनी अहिले नेपाल एअरलायन्सको टिकट लिएकोमा पछुतो मानिरहेका छन् । किनभने निर्धारित समयमा चीनको समयअनुसार शुक्रवार बिहान साढे ५ बजे निगमको उडान हुन सकेन । विमान चढ्नुपर्ने बेलामा अचानक उडान क्यान्सिल भएको खबर आयो तर कारण खुलाइएन ।
पौडेलसहित १ सय ४३ जना यात्रुलाई वायुुसेवा निगमले अहिले होटेलमा लगेर राखेको छ । अहिलेसम्म पनि उनीहरुलाई अर्को उडान कहिले हुने भन्ने जानकारी दिइएको छैन, कसरी नेपाल फर्काउने भन्ने पनि औपचारिक रुपमा बताइएको छैन । तर, अनौपचारिक रुपमा भने शनिवार विहान सोही समयमा उडान हुने सम्भावना रहेको उनीहरुले जानकारी पाएका छन्।
नेपाल वायुसेवा निगमले विहीबार राती १० बजे चीनको ग्वाञ्झाउमा पहिलो उडान गर्ने योजना बनाएको थियो । प्रवर्द्धनात्मक भनिएको त्यो उडानमा तामझामका साथ करिब तीन दर्जन मानिसहरुलाई निगमले आफ्नै खर्चमा लैजाँदै पनि थियो । त्यसबाहेक केही यात्रु पनि निगमको जहाज चढेर ग्वान्झाउ जाँदै थिए ।
स्वयम् निगमका अध्यक्ष युवराज अधिकारी पनि सो उडानमा ग्वान्झाउ जाँदै थिए । तर, बोर्डिङ पाससमेत लिइसकेपछि अधिकारीलगायतले झल्याँस्स सम्झे, ‘विमानस्थलमा अवतरण गर्नका लागि उडान योजना त स्वीकृत नै भएको रहेनछ।’ त्यसपछि निगमको सो उडान पछि सारिएको सूचना निगमका आधिकारिक ग्रूपहरुमा हालियो, शुक्रवार दिनको १ बजे अर्को उडान हुने भनियो। तर, कारण खुलाइएन ।
उडान योजना स्वीकृत नगराईकन विमानस्थलमा अवतरण नै गर्न मिल्दैन, अर्थात् उडान र अवतरणका लागि स्लट नै प्राप्त हुँदैन । प्रवर्धनात्मक भनिएको पहिलो उडानकै लागि फ्लाइट प्लान स्वीकृत नगराई टिकट बेचेर निगमले अन्तर्राष्ट्रिय रुपमा देशको बेइज्जत गरेको छ ।
शुक्रबार दिउँसो बल्ला फ्लाइट प्लान अप्रुभ भएर आएको राती १० बजे उडान गर्ने तयारी रहेको निगम स्रोत बताउँछ ।
‘निगमको पहिले उडानमा नेपाल जाने भनेर टिकट काट्नेहरुमा नेपाली मात्रै होइन, चिनियाँ, जापानी, कोरियन नागरिक पनि रहेछन्,’ पौडेल भन्छन्, ‘नेपालको ध्वाजावाहक नेपाल एअरलायन्सले पहिलो उडानमै यसरी यात्रुहरुलाई अलपत्र पारेपछि फेरि यो जहाज कहिल्यै नचढ्ने उनीहरु बताउँछन् ।’
प्रवर्द्धनात्मक उडानका लागि निगमले अतिथिका रुपमा ग्वान्झाउ लैजाँदै गरेका व्यक्तिहरु पनि निगमको लापरवाही देखेर चकित परेका छन् । ‘प्रमोसनल फ्लाइट भनेर राती एअरपोर्ट बोलाए, बोर्डिङ पास लिइसकेपछि उता फ्लाइट प्लान अप्रुभल नै भएको रहेनछ भनेर फर्काए,’ एक सरकारी अधिकारीले अनलाइनखबरसँग भने, ‘यो त हदैसम्मको लापरबाही भयो ।’
विगतमा यसैगरी प्राविधिक कारणले भारतको नयाँ दिल्लीमा उडान ढिलाइ भएपछि मन्त्रालयले छानबिन समिति नै बनाएर अनुसन्धान गरेको थियो । तर, निगमले यति गम्भीर लापरबाही गर्दा मन्त्रालयले त्यस विषयमा कुनै चासो देखाएको छैन ।
निगमले लामो समयको प्रयासपछि ग्वान्झाउमा उडान थालेको थियो । २५ सेप्टेम्बरमा प्रवर्द्धनात्मक उडान र २८ सेप्टेम्बरमा दोस्रो उडानको तालिका बनाइए पनि त्यसपछि भने नियमित उडानको तालिका निगमले सार्वजनिक गरेको छैन ।
नियमित उडानको ग्यारेन्टी नै नभई प्रवर्द्धनात्मक उडान थाल्नु नै गम्भीर विषय भएको एक उच्च सरकारी स्रोतले बतायो ।
‘नयाँ ठाउँमा गर्नुपूर्व खासमा व्यापारको सम्भावना छ कि छैन, नियमित उडान गर्ने क्षमता छ कि छैन भनेर हेर्नुपर्नेमा निगमले अरु नै कुरा हेर्ने गरेको छ,’ ती अधिकारीले भने, ‘पहिलो– त्यस ठाउँमा निकट विक्रीका लागि तोकिने जीएसए नियुक्तिमा आर्थिक चलखेल गर्ने र दोस्रो– त्यो स्टेसनमा नयाँ कर्मचारी पठाउन पाइने अवसर ।’
यसरी हरेक पटक निगमको स्रोतको दुरुपयोग हुने गरी गरिने कार्यले निगमलाई नै धरासायी बनाउने उनी बताउँछन् ।
बिहीबार राती १० जाने उडानमा निगमले पर्यटन मन्त्रालयका उच्च अधिकारीहरु निगमका सञ्जालक तथा पदाधिकारी, विभिन्न ट्राभल एजेन्सीका प्रतिनिधि, कलाकारलगायतलाई लैजाँदै थियो । त्यसबाहेक ८ जनाको टोली नृत्यका लागि भनेर लैजाने योजना थियो ।
निगमले ग्वाञ्झाउ लैजाने टोलीले चार दिनसम्म चीन भ्रमण गराउने र २९ तारिखमा नेपाल फर्काउने योजना थियो । तर, पहिलो दिनको उडान रद्द भएपछि केही मानिसहरुले आफू ग्वाञ्झाउ नजाने जानकारी गराएको बताएका छन् ।
सुशीला कार्की मन्त्रिपरिषद्ले ५ असोजमा पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा खर्च कटौतीसम्बन्धमा गरेको निर्णयमा नेपाल सरकार, प्रदेश सरकार स्थानीय तह, संस्थान, प्रतिष्ठान र नियामक निकायको खर्चमा अत्यावश्यक अवस्थामा बाहेक विदेश भ्रमणमा रोक लगाउने भन्ने उल्लेख छ । त्यस्तै, नेपाल सरकारको प्रतिनिधित्व सम्बन्धित नियोगबाट हुनसक्ने अवस्था भएमा सम्बन्धित नियोगलाई नै अख्तियारी दिने निर्णय पनि भएको छ ।
सरकारको प्रतिनिधित्व अनिवार्य भएको अन्तर्राष्ट्रिय सभा सम्मेलनमा राष्ट्र प्रमुख वा सरकार प्रमुखको नेतृत्वमा हुने प्रतिनिधिमण्डल बढीमा १० जना र नेपाल सरकारको स्रोतमा हुने अन्य प्रतिनिधिमण्डलमा बढीमा ३ जना मात्र सदस्य रहने भन्ने निर्णय पनि सरकारले गरेको छ ।
तर, नेपाल सरकारको लगानी भएको संस्थान नेपाल वायुसेवा निगमले गर्न लागेको ग्वाञ्झाऊ उडान अत्यावश्यक नभएर प्रवर्द्धनात्मक हो । यस्तो उडानमा नेपाल सरकार तथा अन्य निकायका तीन दर्जनभन्दा बढी मानिसहरुलाई निगमकै खर्चमा भ्रमण गराउन लागिएको हो ।
प्रतिक्रिया 4