
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति भंग गरी महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका छन्।
- वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा चुनावपछि फागुन २१ मा महाधिवेशन गर्ने उपयुक्त हुने बताएका थिए।
- १० वटै समूहले प्रचण्डको प्रस्तावमा ९५ प्रतिशतभन्दा बढी समर्थन जनाएका छन् र बैठक आजै निर्णयसहित सकिनेछ।
१० असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक अन्तिमतिर पुगेको छ । समूहगत निष्कर्ष सुनेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिन थालेका छन् ।
बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माको डकुमेन्ट प्रस्तुत भएका थिए । प्रचण्डले केन्द्रीय समिति भंग गरेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव राखेका छन् । आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए ।
वरिष्ठ उपाध्यक्ष श्रेष्ठले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभाको चुनाव पछाडि महाधिवेशन गर्नु उपयुक्त हुने बताएका थिए । नेतृत्वको सन्दर्भमा अध्यक्ष प्रचण्डले छोड्ने र कार्यवहाक अध्यक्ष आफूले पाउनुपर्ने प्रस्ताव राखेका थिए ।
उपमहासचिव जनार्दन शर्माले सबै पदाधिकारी नआउने गरी नयाँ टिम ल्याउने प्रस्ताव राखेका थिए । हाल रहेका पदाधिकारी निर्देशक समितिमा रूपान्तरित भएर रहने उनको प्रस्ताव थियो ।
तीन वटै प्रस्तावमाथि छलफल गरेर समूहगत निष्कर्ष प्रस्तुत गर्नेक्रम सकिएको छ । त्यसपछि प्रचण्डले जवाफ दिन थालेका हुन् ।
नेताहरूका अनुसार १० वटै समूहले अध्यक्ष प्रचण्डकै प्रस्तावमा समर्थन जनाएका छन् । एक नेता भन्छन्, ‘९५ प्रतिहशत बढी मत अध्यक्षको प्रस्तावको समर्थनमा प्रष्ट छ । केही प्रतिशत तटस्थ जस्तो छ र उपमहासचिव शर्माको प्रस्तावमा केही समर्थन छ ।’
समूहगत निष्कर्ष प्रस्तुत गर्दा सँगै पदाधिकारीहरूले पनि धारणा राखेका थिए । धारणा राखेका पदाधिकारीमध्ये राम कार्की बाहेक अधिकांशले प्रचण्डकै प्रस्तावमा समर्थन जनाएका थिए । कार्कीले भने प्रदेश अध्यक्ष कामय राख्ने र अन्य सबै समिति भंग गरेर महाधिवेशनमा जाने प्रस्ताव राखेका थिए ।
प्रचण्डले जवाफ दिएपछि निर्णय लिएर आजै केन्द्रीय समितिको बैठक सकिनेछ ।
प्रतिक्रिया 4