
११ असोज, काठमाडौं । अमेरिकी डिभी लट्रीको आवदेन फारम भर्नेहरुले अब एक डलर शुल्क तिर्नुपर्ने भएको छ । पहिले डिभी आवेदन फारम भर्दा शुल्क लाग्दैनथ्यो । तर अमेरिकी विदेश मन्त्रालयको निर्णय अनुसार अब आवेदन फारमसँगै एक डलर शुल्क तिर्नुपर्ने छ ।
धोकाधडी घटाउने र प्रशासनिक खर्च सबै आवेदकमा वितरण गर्ने उद्देश्यले सबै आवेदकबाट एक डलर शुल्क लिने निर्णय गरिएको अमेरिकाको फेडरल रजिष्टरले जारी गरेको सूचनामा उल्लेख छ ।
यो नयाँ नियम सन् २०२७ को डिभी लट्री कार्यक्रमदेखि लागू हुनेछ, जुन सन् २०२५ को अक्टुबरको सुरुमा खुल्दैछ ।
डिभीको फारम भर्दा पासपार्ट अनिवार्य चाहिने नियम यथावत राखिएको छ । साथै डिभी परिसकेपछि भिसा शुल्कवापत तिर्नुपर्ने ३३० डलर शुल्क पनि यथावत राखिएको छ ।
आवेदन शुल्क कसरी तिर्ने ?
अमेरिकी विदेश मन्त्रालयले डिभी लट्री तिर्दा लाग्ने शुल्क, भुक्तानी गर्ने तरिका र यो नयाँ नियम लागु हुने देशबारे छिट्टै विस्तृत जानकारी सार्वजनिक गर्ने जनाएको छ ।
तर यहाँ बुझ्नुपर्ने कुरा के हो भने आवेदन शुल्क अमेरिकी सरकारको आधिकारिक भुक्तानी पोर्टलमार्फत् तिर्न सकिन्छ । अनलाइन फारम भरेर बुझाउने बेला नै शुल्क तिर्ने अप्सन आउने छ । शुल्क तिरिसकेपछि मात्रै फारम सबमिट हुनेछ ।
अनतर्राष्ट्रिय भुक्तानीमा प्रयोग हुने भनेका भिसा, मास्टर कार्ड, पेपल, अमेरिकन एक्सप्रेस आदि कार्डहरु हुन् । नेपालमा सबैभन्दा भरपर्दा र सुरक्षित भनेका भिसा र मास्टर कार्ड नै हुन्, जुन नेपालका बैंकहरुले जारी गर्छन् । तर ती कार्डबाट भुक्तानीको रकम सीमाबारे बुझेर पहिल्यै स्पष्ट हुनुपर्छ ।
प्रतिक्रिया 4