+
+
Shares
जिज्ञासा र जवाफ :

फाइलहरु जलेर नष्ट भए, सर्वोच्च अदालतले अब कसरी हेर्छ मुद्दा ?

अब जलेको फाइलको फोटोकपी पेश गर्दा अदालतले अनिवार्य रुपमा डिजिटल कपी सुरक्षित रुपमा राख्ने भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १२ गते २१:३४
जेनजी प्रदर्शनका क्रममा भवन जलाइएपछि टेन्टबाट सेवा दिंदै सर्वोच्च अदालत ।

१२ असोज, काठमाडौं । जेनजी युवा प्रदर्शनका क्रममा आगजनी हुँदा सर्वोच्च अदालतका सबैजसो फाइलहरु नष्ट भए । अदालतमा करिब २५ हजार मुद्दा विचाराधीन रहेकोमा करिव ३ हजार फाइल मात्रै जोगिएका छन्, ती पनि सद्दे छैनन् । त्यसमाथि देशभरका अरु कतिपय अदालतमा आगजनी र तोडफोड भएको छ ।

यस्तो अवस्थामा अदालतहरुले जलेर नष्ट भएका मुद्दाका फाइलहरु कसरी जम्मा गर्छन् ? तिनलाई के आधारमा आधिकारिक मान्नेछन् र सुनुवाई गरी मुद्दाको फैसला गर्नेछन् भन्नेवारे अनलाइनखबरले तयार पारेको जिज्ञासा र जवाफ :

अदालतमा जलेका फाइलहरु अन्त कहाँ–कहाँ हुन सक्छन् ?

सामान्यतया न्याय माग्ने पक्षले अदालतमा आरोपपत्र वा फिरादपत्र दर्ता गरेपछि मुद्दाको सिर्जना हुन्छ । मुद्दा दर्ता गर्ने क्रममा अदालतमा मात्रै फाइल रहदैन, मुद्दाको पक्षसँग पनि कम्तिमा त्यसको एक प्रति रहन्छ ।

मुद्दाको प्रारम्भिक सुनुवाइ भएको रहेछ र अर्को पक्ष पनि त्यसमा सामेल भइरहेको रहेछ भने उसले पनि सबै फाइलको नक्कल (फोटोकपी) लिएर गएको हुन्छ । फौजदारी मुद्दा हो भने त्यस्तो कपी सरकारी वकिलको कार्यालय वा महान्यायाधिवक्ता कार्यालयमा रहन्छ ।

देवानी मुद्दामा कम्तिमा पनि एउटा पक्षसँग त्यो फाइल हुन्छ । रिट निवेदनहरुको हकमा निवेदकहरु वा जवाफ पेश गरिसकेको भए सरकारी कार्यालयहरुमा पनि तिनको प्रति भेटिने सम्भावना रहन्छ ।

सर्वोच्च अदालतले के तयारी गरेको छ ?

जलेका प्रमाण र कागजात खोज्न सर्वोच्च अदालतले ‘विशेष परिस्थितिका कारण नष्ट भएका मिसिल कागजातको प्राप्ति र प्रमाणीकरण सम्बन्धी निर्देशिका, २०८२’ जारी गरेको छ । गत साता सर्वोच्च अदालतको पूर्ण बैठकबाट पारित निर्देशिका अनुसार अब जलेर नष्ट भएका कागजात वा प्रमाणको कपी खोल्ने प्रयास शुरु हुनेछ ।

आगजनी भएको सर्वोच्च अदालत

शुरुमा सर्वोच्च अदालत प्रशासनले नै अब नष्ट भएका कागजातको विवरण तयार पार्नेछ । उनीहरुले मुद्दाको पक्ष/विपक्ष, उनीहरुको सम्पर्क नम्बर, मुद्दाको अवस्था लगायतका सबै विवरण खुलाइ प्रतिवेदन तयार गर्नुपर्नेछ ।

ती कागजात अदालतले कसरी पाउनेछ ?

सर्वोच्च अदालतले नष्ट भएको कागजात माग्नका लागि सूचना निकाल्नेछ । करिव दुई महिनाको अवधि दिएर उसले दिएको सूचनाका आधारमा मुद्दाका पक्षहरुले कागजात सर्वोच्च अदालतमा बुझाउनुपर्नेछ ।

निर्देशिकामा फाइल पाउनका लागि सम्बन्धित मुद्दाको पक्ष, सरकारी वकिल कार्यालय, वकिलहरु वा अरु सरोकारवाला निकायहरुलाई अनुरोध गर्ने उल्लेख छ । उसले अरु कुनै निकाय वा व्यक्तिबाट फाइल पाउने अवस्था भएमा त्यसलाई पनि स्विकार्न सकिने जनाएको छ ।

मुद्दाको बारेमा जसले दिएको कागजात पनि अदालतले स्विकार्छन् ?

सर्वोच्च अदालतले फाइल प्राप्त गर्ने प्राथमिकताक्रम पनि निर्धारण गरेको छ । नष्ट भएका फाइल अरु कुनै अदालत वा निकायमा रहेछन् भने उसले त्यहीँबाट ती फाइल झिकाउनेछ ।

सर्वोच्च वा सरकारी निकायमा फैसला वा अरु कागजात अपलोड गरेको भए त्यसलाई पनि आधार मान्नेछ । मुद्दाको अध्ययन गर्न वा फैसला लेख्न कतिपय न्यायाधीशले कागजात लिएका हुन्छन् । न्यायाधीश र कर्मचारीहरुसँग रहेका कागजातलाई पनि सर्वोच्चले आधार मान्नेछ ।

सर्वोच्च अदालतमा आगजनी हुँदा जलेका कागजात

मुद्दाको फैसला भइसकेका र नभएका कतिपय फाइलहरु विभिन्न अदालत, सरकारी निकाय वा न्यायाधीश र कर्मचारीहरुबिच इमेल वा अरु माध्यमबाट आदानप्रदान भएको हुनसक्छ । सर्वोच्चले त्यो आधारमा पनि फाइल प्राप्त गर्न सकिने जनाएको छ ।

लुटिएका फाइल पनि कसैले बुझाउन सक्छन् ?

सर्वोच्च अदालतले सोझै लुटिएको फाइल बुझाउन सकिने भन्ने शब्द प्रयोग गरेको छैन । तर कुनै सक्कल मिसिल वा कागजात अदालत बाहेकका निकाय वा व्यक्तिसँग पुगेको भए फिर्ता गर्न आग्रह गरेको छ । उसले त्यसरी फाइल फिर्ता गर्नेको विवरण गोप्य राख्ने भनेको छ । अनि फाइल फिर्ता गरेको विषयलाई कानूनी कारवाहीको आधार नबनाइने स्पष्ट पारेको छ ।

सरोकारवालाहरुले बुझाउने फाइल स्वत: आधिकारिक मानिन्छ ?

आगजनीले नष्ट भएको फाइलको कपी बुझाए पनि सर्वोच्च अदालतले त्यसको आधिकारिकता परीक्षण र प्रमाणीकरण गर्नेछ । त्यसका लागि छुट्टै समिति पनि गठन गरेको छ ।

अब जलेको फाइलको फोटोकपी पेश गर्दा अदालतले अनिवार्य रुपमा डिजिटल कपी सुरक्षित रुपमा राख्ने भएको छ ।

सर्वोच्च अदालतमा मुद्दा हेर्ने रजिष्ट्रार, मुद्दा महाशाखा हेर्ने सहरजिष्ट्रार सहित फाँटको सुपरीवेक्षकको समिति रहन्छ । विशेष अदालत र अरु जिल्ला अदालतमा पनि अदालतकै कर्मचारीहरु रहने समितिको परिकल्पना छ ।

‘समितिले प्राप्त गरेका कागजातहरुको आधिकारिता, सान्दर्भिकता र विश्वसनीयता जस्ता पक्षहरुलाई बिचार गरी मिसिल प्रमाणीकरण गर्नेछ’ निर्देशिकामा भनिएको छ, ‘प्रमाणीकरण गर्दा मुद्दाका पक्षहरु, कानून व्यवसायी, सरकारी वकिल कार्यालय वा अन्य निकायबाट प्राप्त कागजातहरु एकापसमा भिडाउने, सनाखत गराउने लगायतका आवश्यक र उपयुक्त उपाय अवलम्बन गर्न सक्नेछ ।’

पेश भएको कागजातमा अर्को पक्षले प्रश्न उठाउन सक्छ ?

प्रमाणीकरणका लागि पेश भएको कागजातमा अर्को पक्षले प्रश्न उठाउन सक्छन् । उसले तथ्यसहित प्रमाण पेश गरेमा अदालतले गठन गर्ने समितिले अर्कोथरी प्रमाणलाई पनि मुद्दाको फाइलमा साथै राख्नुपर्नेछ, त्यो विवाद भने इजलासबाट न्यायाधीशहरुले टुंग्याउनेछन् ।

अरु के–के व्यवस्था हुँदैछ ?

अब जलेको फाइलको फोटोकपी पेश गर्दा अदालतले अनिवार्य रुपमा डिजिटल कपी सुरक्षित रुपमा राख्ने भएको छ ।

नष्ट भएको फाइलको कपी तयार भएपछि अदालतले दुवै पक्षलाई खबर गरिसकेपछि मात्रै मुद्दा अघि बढाउनुपर्नेछ ।

नष्ट भएका फाइलहरुको मुद्दाको फैसलाको पूर्णपाठमा अब देखि आगजनीका कारण नष्ट भएको फाइलको मुद्दा भने स्पष्ट रुपमा लेख्नुपर्ने व्यवस्था निर्देशिकामा छ ।

सर्वोच्च अदालतले आगजनीबाट जलेर नष्ट भएको फाइलको झुटा कागजात पेश गर्न नहुने जनाएको छ, र कसैले पेश गरेमा प्रचलित कानून बमोजिम कारवाही गर्ने चेतावनी पनि दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?