
१२ असोज, काठमाडौं । जेनजी युवाका केही प्रतिनिधिहरुले सरकारसँग सम्झौता गर्नका लागि भन्दै वार्ता टोली गठन गरेका छन् ।
टोलीमा पुरुषोत्तम यादव, मिराज ढुंगाना, प्रवेश दाहाल, बब्लु गुप्ता, टिकाराम लिम्बु, योग्यता भण्डारी, जेम्स कार्की, कासिफ महम्मद मिया र अर्पित कुवर छन् ।
वार्ता टोलीमा रक्षा बमको पनि नाम उल्लेख भए पनि उनको हस्ताक्षर भने छैन ।
यो टोलीले आन्दोलनरत पक्षको तर्फबाट प्रतिनिधित्व गर्ने गरी नेपालका राष्ट्रपति नेपालका प्रधानमन्त्रीको रोहबरमा वृहत सम्झौता गर्ने निर्णय गरेको छ । उक्त वृहत सम्झौतामा उल्लेख हुने एजेण्डाका विषयमा सम्झौता पत्र समेत तयार पारेर राष्ट्रपति समक्ष पेस गर्ने म्याण्डेड सो वार्ता टोलीले पाएको छ ।
गत भदौ २३ र २४ गते जेनजी युवा पुस्ताको अगुवाइमा भएको आन्दोलन र प्रदर्शनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए । त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी युवा प्रतिनिधिहरुसँग समेत छलफल गरेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा अन्तरिम सरकार गठन गरी ताजा जनादेशका लागि फागुन २१ गते आम निर्वाचन घोषणा गरेका छन् ।
जेनजी युवाको अगुवाइमा यति ठूलो राजनीतिक उथलपुथल हुँदा पनि आन्दोलनरत पक्ष र सरकारबीच सम्झौताको दस्ताबेज छैन । सोही सम्झौताको गृहकार्यका लागि जेनजी युवाका केही प्रतिनिधिहरुले शनिबार वार्ता टोली गठन गरेका हुन् ।
वार्ता टोलीको सदस्यको रुपमा रक्षा बमको पनि नाम उल्लेख छ । तर उनले आफ्नो संलग्नता नभएको बताएकी छन् ।
रक्षा बमले भनिन्– साथीहरुले गलत गरे
रक्षा बमले सामूहिक माग लिएर सरकारसँग छलफलमा जानु लोकतान्त्रिक अधिकार भएको बताएकी छन् । आफू लोकतन्त्रकै पक्षमा रहेको भन्दै उनले वार्ता टोलीको सदस्य भनेर आफ्नो नाम आफूलाई थाहै नदिई राखेर गलत गरेको टिप्पणी गरेकी छन् ।
‘साथीहरूले मेरो नाम मलाई नै थाहा नदिई जसरी एकतर्फी ढंगले राखेर सार्वजनिक गर्नुभएको छ, त्यो नितान्त गलत गर्नुभएको छ,’ उनले सामाजिक सन्जाल फेसबुकमा लेखेकी छन्, ‘यसैक्रममा त्यहाँ मेरो नाम किन छ भन्ने प्रश्न गर्नको लागि मैले सो समूहका केही साथीहरूसँग हिजो छलफलमा पनि बसे । र स्पष्टसँग ’तपाईंहरूले गलत गर्नुभयो’ भनेर पनि भने ।’
त्यहाँ भएका नामहरू सहितको टोली गठनको प्रकृया र उद्देश्यबारे आफू अनभिज्ञ भएको भन्दै उनले लेखेकी छन्, ‘त्यससँगै सो माइन्युटमा भएका कुनै पनि बुँदा मैले नपढेको जानकारी गराउँछु । त्यसकारण हर–एक बुँदामा पढ्दैनपढी र छलफल नगरी म ऐक्यबद्धता जनाउन नसक्ने कुरामा प्रष्ट छु ।’
प्रतिक्रिया 4