
News Summary
Generated by OK AI. Editorially reviewed.- मंगलबार राति मध्य फिलिपिन्सको सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्पले कम्तीमा ६० जनाको ज्यान गएको छ।
- प्राथमिक प्रकोप व्यवस्थापन एजेन्सीले १४७ जना घाइते र २२ वटा पूर्वाधार क्षतिग्रस्त भएको जनाएको छ।
- सेबुका गभर्नरले प्रभावित क्षेत्रहरूमा राहत सामग्री पुर्याउन आदेश दिएका छन् र स्कूलहरू बन्द गरिएको छ।
१५ असोज, काठमाडौं। मंगलबार राति मध्य फिलिपिन्समा आएको शक्तिशाली भूकम्पमा परेर कम्तीमा ६० जनाको ज्यान गएको छ। कयौं घाइते भएका छन्।
थुप्रै भवनहरू भत्किए र उद्धार कार्य चलिरहेकाले मृतक र घाइतेको अझै एकिन हुन नसकेको अधिकारीहरूले जनाएका छन्। भूकम्पको अत्यधिक क्षति शहरी क्षेत्रहरूमा भएको छ।
फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञानले स्थानीय समय अनुसार राति १० बजेभन्दा ठीक अगाडि ३२ लाख मानिस बसोबास गर्ने सेबु प्रान्तमा ६.९ म्याग्निच्युडको भूकम्प आएको रिपोर्ट गरेको छ। त्यसपछि लगातार साना परकम्पहरू आइरहेका छन्।
फिलिपिन्सको प्राथमिक प्रकोप व्यवस्थापन एजेन्सी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले ६० जनाको मृत्यु भएको पुष्टि भएको र कम्तीमा १४७ जना घाइते भएको बताएको छ। एजेन्सीका अनुसार कम्तिमा २२ वटा पूर्वाधार क्षतिग्रस्त भएका छन् र तीनवटा पुल र एउटा सडक चल्न नसक्ने अवस्थामा छन्।
फिलिपिन्सको नागरिक रक्षा सञ्चार तथा वकालत विभागका प्रवक्ता डिएगो ए मारियानोले सञ्चार सुविधाहरू पुनर्स्थापित गर्न तीव्रताका साथ काम भइरहेको बताएका छन्।
सेबुका प्रवक्ता एइनजेलिज डे ला टोरे–ओरोङका अनुसार सेबुका गभर्नर पाम बारिकुआत्रोले प्रभावितहरूलाई पानी र औषधि सहित राहत सामग्री तुरुन्तै पुर्याउन आदेश दिएका छन् र सडकहरू खाली गर्न र उद्धार कार्यमा मद्दत गर्न उपकरणहरू पठाएका छन्।
निरन्तरको भारी वर्षा र भत्किएका पूर्वाधारले राहत प्रयासमा बाधा पुर्याएको अधिकारीहरूले जनाएका छन्। सान रेमिगियोका उपमेयर अल्फोन्सिन कोरोमिनास–गोन्जालेसले स्थानीय रेडियो स्टेशनलाई बताइन् कि धेरै पुलहरू असहज भएकाले उद्धारकर्मीहरूले प्रभावित समुदायहरूमा राहत पुर्याउन कठिन भएको छ। उनले भनेकी छन््, ‘मानिसहरू पानी, खाना र आश्रयको अभावसँग जुधिरहेका छन्, धेरै क्षेत्रहरूमा बिजुली अवरुद्ध भइरहेको छ।’
भूकम्पपछि बुधबार सेबुमा स्कूल र सरकारी भवनहरू बन्दको घोषणा गरिएको छ।
प्रतिक्रिया 4