१८ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नागरिकको सुरक्षा नै सरकारको सर्वोपरी चिन्ता रहेको बताएकी छिन् ।
बाढी पहिरो बढ्दै गएपछि देशबासीका नाममा जारी भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री कार्कीले आवश्यक सहयोग लिनका लागि अप्ठेरो नमान्न पनि आग्रह गरेकी छिन् ।
‘कुनै पनि कार्य गर्दा जोखिमको पूर्व आकलन गरी सुरक्षालाई उच्च प्राथमिकता दिएर गर्नुहोस् । तपाईंहरूको सुरक्षा नै हाम्रो सर्वोपरी चिन्ता हो, आवश्यक सहयोग लिन अप्ठेरो नमान्नुस्,’ उनले भनेकी छिन्, ‘हामी तपाईंहरूको चिन्ता र कठिनाईलाई बुझ्छौं । म प्रष्ट पार्न चाहन्छु, तपाईं यसमा एक्लो हुनुहुन्न । राज्यका सम्पूर्ण स्रोत तपाईंहरूसँगै छन् ।’
बाढी पहिरो, डुबान र कटानको उच्च जोखिममा रहेको बताउँदै उनले यो परिस्थिति अझै बढ्ने क्रममा रहेको जानकारी गराएकी छिन् ।
सबै सरकारी निकायहरू उद्धार र राहतका लागि प्रतिकूल परिस्थितिका बाबजुत उच्च मनोबलका साथ पूर्ण तयारीका अवस्थामा रहेको पनि उनले बताएकी छिन् ।
‘हामी बाढी पहिरो, डुबान र कटानको उच्च जोखिममा छौं । जोखिमको परिस्थिति बढ्ने क्रममा छ । हाल नदीनालाहरूको बहाव उच्च सतर्कताको तहमा छ । निरन्तर वर्षाका कारण खतराको तहमा जानसक्ने सम्भावना अधिक छ । धेरै स्थानमा पहिरोको जोखिम पनि उत्तिकै छ,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन्, ‘यो चुनौतीपूर्ण समयमा म सबै नागरिकलाई आश्वास्त पार्न चाहन्छु कि सबै सरकारी निकायहरू उद्धार र राहतका लागि प्रतिकूल परिस्थितिका बाबजुत उच्च मनोबलका साथ पूर्ण तयारीका अवस्थामा छन् ।’
नेपाल प्रहरी, सशस्त्र, नेपाली सेना, स्वास्थ्यकर्मी, प्रशासन र अन्य सेवादायी निकायहरू आपतकालिन सेवा नागरिकलाई यथाशक्य चाँडो सहयोग प्रदान गर्न २४ सै घण्टा तयार अवस्थामा रहेको उनले बताएकी छिन् ।
महत्त्वपूर्ण राजमार्ग र अन्य पूर्वाधारको सक्रिय रुपमा निगरानी गरिरहेको उनले सन्देशमार्फत जानकारी गराएकी छिन् ।
‘तपाईं जहाँ हुनुहुन्छ त्यहाँ सुरक्षित रहनुस् र अरुलाई पनि सुरक्षित रहन प्रेरित गर्नुहोस्,’ प्रधानमन्त्रीको आग्रह छ ।
प्रतिक्रिया 4