
१९ असोज, काठमाडौं । शनिबार बिहानदेखि आइतबार बिहानसम्म २४ घण्टाको अवधिमा रौतहटको महेशपुरमा सबैभन्दा बढी ३५८ मिलिमिटर वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार अत्यधिक वर्षा भएका मधेश, कोशी र बाग्मतीका मापन केन्द्रहरुको विवरण अनुसार रौतहटमा अतिभारी वर्षा भएको हो ।
३०० मिलिमिटरभन्दा बढी वर्षा मापन भएका केन्द्रहरुमा इलाम जिल्लाको हिमाली गाउँ केन्द्र (३३२.६ मिलिमिटर) र कन्याम टि स्टेट केन्द्र (३१४.२ मिलिमिटर), पर्सा जिल्लाको मुडली केन्द्र ( ३२८.६ मिलिमिटर) र गौर केन्द्र ( ३१५.० मिलिमिटर) रहेका छन् ।
शनिबार बिहान ०४:३० बजेदेखि आइतबार बिहान ०४:३० बजेसम्मको वर्षा मापन गरिएको थियो ।
असोज १९ गते बिहान ०८:४५ बजे २९५ वटा वर्षा मापन केन्द्रहरू (मानव सञ्चालित : ७९ र स्वचालित : २१६) मा मापन गरिएको गत २४ घण्टाको वर्षाको विवरण अनुसार १८६ वटा केन्द्रहरुमा वर्षा भएको छ ।
जसमध्ये १०५ वटा केन्द्रहरुमा ५० मिलिमिटर भन्दा बढी वर्षा भएको छ । ६८ वटा केन्द्रहरुमा १०० मिलिमिटरभन्दा बढी, २१ वटा केन्द्रहरुमा २०० मिलिमिटरभन्दा बढी र ५ वटा केन्द्रहरुमा ३०० मिलिमिटर भन्दा बढी वर्षा मापन भएको छ ।
‘भारी वर्षा’ भनेको २४ घण्टामा ५० मिलिमिटरदेखि १०० मिलिमिटरसम्म वर्षा हो भने ‘धेरै भारी’ भनेको १०० मिलिमिटरदेखि २०० मिलिमिटर पानी पर्नु हो । २४ घण्टाको अवधिमा २०० मिलिमिटरभन्दा धेरै वर्षा भएमा ‘अति भारी’ वर्षा भनिन्छ ।
बाढी घट्दो क्रममा
तीन वटा प्रदेशका बागमती, त्रिशुली, पूर्वी राप्ती, लालबकैया, कमला लगायतका नदीहरूमा जलसतहले सतर्कता तह पार गरेको छ । हाल घट्दो क्रममा छ ।
आइतबार सप्तकोशी नदीले खतरा तह पार गरेको छ । सप्तकोशीका सहायक नदीहरू तमोर, सुनकोशी र अरुण नदीहरूमा समेत खतरा तह पार भई हाल घट्दो क्रममा छन् ।
त्यसैगरी कन्काई, बुढीखोला, लोहन्द्रा, खेशलिया, विरिङ लगायतका चुरे महाभारत उद्गम भई बहने नदीहरूमा समेत खतरा तह पार भएका छन् । तर अहिले घट्दो क्रममा रहेको विभागले जनाइएको छ ।
वर्षा गराउने न्यून चापीय मौसम प्रणाली नेपालबाट बहिरिएर मनसुन कमजोर भई मौसममा सुधार आइसकेको भए तापनि मनसुन बहिर्गमन भइनसकेकाले हालको अवस्थामा मौसम र बाढीको सम्भावित अवस्थाको नियमित अनुगमन गरिरहेको विभागले जनाएको छ ।
प्रतिक्रिया 4