+
+
Shares

विपद्‌मा सरकार : गत वर्षभन्दा ‘भिजिबिलिटी’ बढेको हो ?

यसपालीको वर्षाको स्वभाव र शैली गतवर्षको भन्दा फरक भएकाले काठमाडौंमा ठूलो क्षति हुन पाएन । त्यसका साथै सरकारले देखाएको तदारुकता र सक्रियताले कयौंको ज्यान तलमाथि हुनसक्ने जोखिम टारेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १९ गते १५:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सरकारले भारी वर्षाको चेतावनीपछि देशभरका स्थानीय प्रशासनलाई सक्रिय बनाएर जोखिम न्यूनिकरणमा प्रभावकारी काम गरेको छ।
  • गतवर्षको तुलनामा यसपाली सरकारले राजमार्गमा सवारी आवागमन रोक्ने नीति अपनाएर जनधनको ठूलो क्षति रोक्न सफल भएको छ।
  • हालसम्म ४९ जनाको मृत्यु भइसकेको छ भने इलाममा ३७ जनाको ज्यान गएको र रसुवामा चार जना बेपत्ता भएका छन्।

१९ असोज, काठमाडौं । भारी वर्षा हुने मौसमविद्हरुको चेतावनीपछि सरकारले त्यसबाट हुनसक्ने सम्भावित जोखिम टार्न सक्रियता देखाएको छ ।  जोखिमयुक्त क्रियाकलापमा बन्देज र र पूर्वतयारीका कारण दुई दिनको वर्षाबाट हुनसक्ने सम्भावित ठूलो जोखिम टरेको छ । यद्यपी मानवीय र भौतिक क्षति नै नभएको चाहीँ छैन । हालसम्म ४९ जनाको मृत्यु भइसकेको छ ।

खासगरी गतवर्ष १२ असोजको बाढीपहिरोमा सरकारले देखाएको हेलचेक्राई र लापरवाहीको तुलनामा अहिले सरकारले जोखिम रोक्न एकपछि अर्को प्रयासहरू गरेकोमा त्यसको  प्रशंसा भइरहेको छ ।

भारतको केरलामा विकसित प्रणाली विहारबाट मधेश हुँदै काठमाडौं भित्रिने र त्यसले ठूलो विध्वंश मच्चाउन सक्ने चेतावनी मौसमविद्हरुको थियो । त्यसपछि सरकारले गरेका केही प्रयासले सम्भावित केही  जोखिम टरेको छ ।

सरकारले प्रकोप जोखिमको पूर्वसूचनालाई गम्भीरतापूर्वक लियो । गृह प्रशासनले तदारुकता देखायो, देशभरका स्थानीय प्रशासन परिचालन भए । अनि प्रधानमन्त्री सुशीला कार्की स्वयंले भिडियो सन्देश जारी गरेर सबैलाई सजग रहन र खतराबाट बच्न आग्रह गरिन् ।

जलवायु एवं प्रकोपको जोखिम न्यूनिकरणको क्षेत्रमा कार्यरत ङमिन्द्र दाहाल गतवर्षको तुलनामा यसपाली मौसमी आँधीको लय फरक रहेको बताउँदै गतवर्ष काठमाडौं उपत्यका र काभ्रेमा केन्द्रित आरीघोप्टे वर्षा(क्लाउड ब्रस्ट)यसपाली पूर्वी नेपालतिर पुगेको संकेत देखिने बताउँछन् ।

उनले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै मौसम पूर्वानुमानको सूचना सम्प्रेषण, विपद् न्यूनिकरणका लागि क्रियाशिलताले सम्भावित क्षति पनि घटाउन सघाएको बताउँछन् ।

सरकारको तदारुकता

भीषण वर्षाको चेतावनीपछि शुरुवातदेखि नै सरकारले देशभरका स्थानीय प्रशासनलाई सक्रिय बनाएको थियो । मौसमविद्हरुको पूर्वानुमानका आधारमा स्थानीय प्रशासनहरूले रातीकै समयमा भएपनि दशैं लगत्तै जोखिमयुक्त राजमार्गहरुमा सवारी साधन आवागमन रोक्न थालेका थिए ।

त्यसमाथि प्रधानमन्त्री सुशीला कार्कीले विपद्‌बाट जोगिन अपिल गर्दै आफैंले भिडियो सन्देश जारी गरिन् । दशैं विदाभर गृह प्रशासनले सक्रियता देखाएर सम्भावित जोखिम रोक्न अग्रसरता लियो । प्रधानमन्त्री मुलुक बाहिर भएको बेलामा गतवर्ष सम्भावित जोखिमहरू रोक्न गृह प्रशासन असफल भएको थियो ।

त्यसमाथि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको गैरजिम्मेवार अभिव्यक्तिका कारण पनि चौतर्फी आलोचना भएको थियो । यसपाली प्रधानमन्त्रीले नै अग्रसरता लिएपनि मातहतका निकायहरू सक्रिय बनेका थिए । यो घटनाले प्रकोप न्यूनिकरणमा मुलुकको नेतृत्व सक्रिय भएपछि मातहतका निकायहरू स्वतः क्रियाशील हुने रहेछन् भन्ने सन्देश दिएको छ ।

‘सरकारको प्रभावकारी समन्वय र निर्णायक नेतृत्वले ठूलो परिवर्तन ल्याउन सक्ने रहेछ’ विपद् जोखिम न्यूनिकरणमा सक्रिय प्रदीप खतिवडाले लेखेका छन्, ‘प्रभावकारी समन्वय र तत्कालीन प्रतिक्रियामार्फत जोखिम न्यूनिकरणमा काम गर्न सकिने रहेछ ।’ उनी स्वयं पनि भारी वर्षाअघि गृहमन्त्रालयले समन्वयका लागि गरेका कामहरूमा संलग्न थिए ।

जलवायु विशेषज्ञ दाहाल मौसम पूर्वानुमानका सूचना सम्प्रेषण गर्ने विगतको शैली रुपान्तरण भएको बताउँछन् । विगतमा उसले सम्प्रेषण गर्ने नियमित प्रकृतिको हुने गरेकोमा यसपाली आत्मविश्वासका साथ सूचना सम्प्रेषण गरेको र त्यसले प्रभावकारी रुपमा काम गरेको उनको विश्लेषण छ ।

प्रशासन र सुरक्षा संयन्त्रको परिचालन सक्रियता

गतवर्षको तुलनामा यसपालीको वर्षा तुलनात्मक रुपमा कम भएपनि स्थानीय प्रशासन र सुरक्षा संयन्त्रले सक्रियता देखाएको थियो । एक महिनाअघिको आगजनीबाट कमजोर भएको सुरक्षा संयन्त्रले सीमित स्रोतसाधनका बावजुद सम्भावित डुबानका क्षेत्रहरूमा माइकिङ गर्ने, खोला किनाराका सडकहरूमा आवागमनमा रोक लगाउने गरेर नागरिकहरूलाई जोखिमबाट टाढा राख्न खोजेको थियो ।

पटकपटक मौसमविद्हरुको छलफल र त्यसपछि स्थानीय प्रशासनलाई परिचालन गरेर गृहमन्त्रालयले बाटोमा अलपत्र परेका, जोखिममा रहेकाहरूलाई सुरक्षित ठाँउमा सार्ने प्रयास गरेको छ । जिल्ला तहमा प्रशासनिक संयन्त्रलाई सक्रिय बनाएर सम्पर्क नम्बर बाँड्नेदेखि अलपत्र परेकाहरूलाई तत्काल उद्दारको काम भयो ।

सरकारले आपतकालीन अवस्थामा उद्दारका लागि हेलिकप्टरहरूलाई समेत तम्तयार अवस्थामा राखेको थियो । त्यसमाथि नीजि क्षेत्रमा हेलिकप्टर सञ्चालकहरू समेत विपद् व्यवस्थापनका लागि समन्वयमा थिए, उनीहरुले उपत्यकाभित्र हुने उद्धार र परिचालनमा निःशुल्क सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका थिए ।

‘विपद न्युनिकरण प्राधिकरणले सुरक्षा अंगलाई सतर्क रहन निर्देशन दिने परिपाटीबाट अलि माथी उठेर राजमार्गमा आवतजावत रोक लगाउने आँटिलो कामको सुरुवात गर्‍यो, यसको प्रभावकारिता र व्यवहारिकताको मूल्यांकन हुन बाँकी नै छ’ जलवायु विशेषज्ञ दाहाल लेख्छन्, ‘सुरक्षा निकायका ट्राफिक, सशस्त्र प्रहरी र नेपाली सेनाको उद्धार दस्ताको सक्रियताले धेरैलाई आस्वस्त पार्न उल्लेख भूमिका खेलेको छ ।’

राजमार्ग र डुबान क्षेत्रमा सजगता

सामान्य झरीमा पनि पहिरो झरेर जोखिमयुक्त बनेका राजमार्गका कतिपय ठाँउमा सवारी आवागमनको निषेध गर्ने सरकारी नीतिले यात्रुहरू असुरक्षित हुन पाएनन् । मौसमविद् लगायत सरोकारवालाहरूले बारम्बार शनिबार बिहानदेखि यात्राको निर्णय नलिन र सुरक्षित ठाँउमा रहन सर्वसाधारणहरूलाई अपिल गरे, जसलाई सरकारले पनि साथ दियो ।

पहिरोको जोखिम बढ्दै गएपछि स्थानीय प्रशासनहरूले राजमार्गमा सवारी आवागमन नै रोके । जसले गर्दा पहिरोबाट यात्रुबाहक सवारीसाधनका साथै जनधनको क्षति हुने जोखिम घट्यो । गतवर्ष सिमलताल र झ्याप्लेखोलामा पहिरोले बस पुरिएर ३५ जनाको मृत्यु भएको थियो ।

स्थानीय प्रशासनले कडाई नगरेको भए पहिरो खसेका कैयौं  ठाँउमा यात्रुहरूले दुःख मात्रै पाउने थिएनन्, उनीहरूको ज्यान समेत जोखिममा पर्थ्यो ।

ट्राफिक प्रहरीले काठमाडौं बाहिरिन लागेका सवारीसाधनहरूलाई नागढुंगाबाटै फर्काइदिएको थियो । गतवर्षको तुलनामा यसपाली दशै मानेर हिंडेका यात्रुहरूको आवतजावत ज्यादा थियो । गन्तव्यमा फर्किने क्रममा रहेकाहरूलाई सुरक्षित राख्न सरकारले राजमार्गमा कठाई गर्ने नीति लिएको थियो ।

गतवर्ष १२ असोजको तुलनामा यसपाली त्यसक्रममा स्थानीय प्रशासनले सवारी आवतजावत नरोकेको भए माथिबाट खसेको पहिरो कुनै न कुनै सवारीसाधनमा लाग्ने जोखिम हुन्थ्यो । मुग्लिङ–नारायणगढ सडकमा मात्रै तीन ठाँउमा पहिरो गएर राजमार्ग अवरुद्ध छ ।

यसपाली स्थानीय प्रशासनहरूले जोखिममा परेका राजमार्गहरूमा रातीको समय सवारी आवागमन रोके । त्यसलगत्तै दिउँसो समेत आवतजावत रोकेर सम्भावित जोखिम टारेका थिए ।

नागढुंगा प्रहरीले त माइकिङ नै गरेर गाडीहरूलाई फर्काइदिएको थियो । यो प्रयासले यात्रुहरूलाई गन्तव्यमा पुग्न एक दिन ढिला भएपनि प्रकोपका बेलामा यात्रा गर्दा हुने ज्यानको जोखिम घटेको देखिन्छ ।

सरकारले स्थानीय प्रशासनलाई सक्रिय बनाएर बाढी र डुबानका सम्भावित क्षेत्रहरूका बासिन्दालाई सतर्क बनायो । कतिपयलाई सुरक्षित स्थानमा सारेको छ ।

सुरक्षाकर्मीहरूले काठमाडौंको नदीकिनाराका बासिन्दाहरूलाई सार्वजनिक विद्यालयमा सारेका थिए । जसले गर्दा उनीहरू प्रभावित हुने र बगाउने खतरा घट्यो ।

गतवर्ष बाढी र डुबानमा परेकाहरू आफ्ना सामान जोगाउन खोज्दा कयौं बगेका थिए । नख्खुक्षेत्रमा घरको छानामा पुगेर हारगुहार माग्दा समेत उद्दार हुन सकेको थिएन । यसपाली त्यो तहको बाढी र डुबान नभएपनि सरकारले सम्भावित प्रभावितहरूलाई पहिले नै स्कूलहरूमा सारेर सुरक्षित बनाएको थियो ।

पीडाप्रति संवेदनशील

जनधनको क्षति रोक्न सरकारले देखाएको सजगतामा आम मानिसहरूले अपनत्व महशुस गरेका हुन् । उद्दार र अरु पूर्वतयारीका कामहरु काठमाडौं केन्द्रित थिए, तर मौसमविद्हरूले काठमाडौंमै ज्यादा पानी पर्ने चेतावनी दिएकाले त्यसलाई समेत अस्वाभाविक मान्न मिल्दैन ।

गतवर्ष बाढीमा फसेकाहरुको उद्दारमा हेलिकप्टर पठाउन नसकेको भनी आलोचना खेपेका गृहमन्त्री रमेश लेखकले ‘भिजिबिलीटी कम भएको’ भनी जवाफ दिएका थिए । मुलुक प्रकोपको विपत्तिमा पर्दा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली भ्रमण छोट्याउन हतारिएनन् ।

नेपाल फर्केपछि विमानस्थलमा ‘मौसमविद्हरुले पानी पर्छ भने पनि यहाँ यहाँ पहिरो जान्छ भनेका थिएनन्’ भनी रुखो प्रतिक्रिया दिएका थिए । जसले पीडितहरूलाई थप चोट पर्नु स्वभाविक थियो । बाढी र पहिरोपछि तामझाम सहित हेलिकप्टरबाट निरीक्षण गर्ने कर्मकाण्डी अभ्यास पनि यो पटक रोकिएको छ ।

यसपालीको बाढी पहिरोमा पनि कयौंको ज्यान गएको छ । इलामको पहिरोमा हालसम्म ३७ जनाको ज्यान गएको छ भने रसुवामा खोलामा बगेर चार जना बेपत्ता भएका छन् । यसपाली घना बादल महाभारतभन्दा उत्तरतिर मोडिएकाले कोशीका पहाडले ठूलो विपदको सामना गर्नुपर्ने संकेत देखिएको जलवायुविद् दाहाल बताउँछन् ।

यसैपनि झरीले तराईका जमिन डुबानमा परेका बेला पहाडी क्षेत्रको भलपहिरोले थप क्षेत्र डुबानमा पार्ने भन्दै उनी लेख्छन्, ‘थप वर्षाले ठूलो क्षेत्र डुबान हुने खतरा देखिएको छ । आजदेखि उच्च सतर्कता र विपत प्रतिकार्यतिर केन्द्रित हुन ढिलाइ गर्नु हुँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?