
१९ असोज, काठमाडौं । लगातार परेको अत्यधिक पानीका कारण आएको बाढी तथा पहिरोका कारण १०५ मेगावाट क्षमताका १३ आयोजनाको उत्पादन बन्द भएको छ । उत्पादन बन्द भएका सबै विद्युत आयोजनाहरु इलाम जिल्लामा रहेका छन् ।
विगत तीन दिनदेखि भइरहेको अत्यधिक वर्षाबाट सबैभन्दा ठूलो क्षति इलाम जिल्लामा पुगेको छ । हालसम्म इलाममा मात्रै पहिरोका कारण ३७ जनाको मृत्य भइसकेको छ ।
त्यस्तै, इलाममा रहेका अधिकांश जलविद्युत आयोजनामा बाढी पहिरोले क्षति पुर्याएको निजी ऊर्जा उत्पादकहरुको संस्था (इपान)ले जनाएको छ ।
इपानले संकलन गरेको प्रारम्भिक तथ्याङ्कअनुसार हालसम्म सञ्चालनमा रहेका १०५.४ मेगावाटका १३ आयोजनाको उत्पादन बन्द छ ।
निर्माणाधीन अवस्थाका ९३ मेगावाटका ५ आयोजनामा बाढीले क्षति पुगेको पनि इपानले जनाएको छ ।
इलामा रहेका माइखोला, माइखोला क्यासकेड, सुपरमाइ, सुपरमाई ए तथा त्यसको क्यासकेड, जोगमाईखोला र त्यसको क्यासकेड, तल्लो जोगमाइ, माइबेनी, माथिल्लो माइखोला, माई सी क्यासकेड आयोजनाको उत्पादन पूर्ण रुपमा बन्द भएको छ ।
ती आयोजनाको इन्टेक, पावरहाउस, सबस्टेसन, हेडवर्क्स, प्रसारण लाइनलगायतमा बाढीले क्षति पुर्याएको पनि इपानले जनाएको छ ।
त्यस्तै, निर्माणाधीन अवस्थामा रहेका पाँचथरको सभाखोला बी र हेवाखोलामा क्षति पुगेको छ । त्यस्तै, इलाममा रहेको सिद्धिखोला तथा सिन्धुपाल्चोकका ब्रम्हायणी र अपर ब्रम्हायणी विद्युत आयोजनामा पनि क्षति पुगेको इपानले जानकारी दिएको छ ।
ती आयोजनाहरुको पनि हेडवर्क्स, एक्सेस रोड, पावर हाउसलगायतमा क्षति पुगेको छ भने निर्माण सामग्री बाढीले बगाएको इपानले जनाएको छ ।
प्रतिक्रिया 4