
News Summary
Generated by OK AI. Editorially reviewed.- सहरी विकास मन्त्रालयले चोभार गल्छीका चट्टानहरू हटाउने कुनै उद्देश्य नरहेको स्पष्ट पारेको छ।
- विपद् जोखिम न्यूनीकरण प्राधिकरणको निर्देशन अनुसार डुबान न्यूनीकरणका लागि नेपाली सेनासँग समन्वय गरी काम गर्ने मन्त्रालयले जनाएको छ।
- मन्त्रालयले चोभार गल्छीको धार्मिक, सांस्कृतिक तथा प्राचीन पहिचान अक्षुण्ण राख्दै दीर्घकालीन समाधानका लागि प्राविधिक अध्ययन गर्ने योजना बनाएको छ।
२० असोज, काठमाडौं । सहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकाको पानी निकास हुने चोभार गल्छीका चट्टानहरू हटाउने कुनै उद्देश्य नरहेको स्पष्ट पारेको छ ।
१४ असोजमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको ३२औं बैठकले ‘अविरल वर्षाको समयमा चोभार गल्छीबाट हुने नदी प्रवाहमा अवरोध सिर्जना हुँदा वरपरको क्षेत्रमा डुबान हुने गरेकाले आगामी दिनमा उक्त समस्या दोहोरिन नदिन आवश्यकता अनुसार नेपाली सेनासँग समेत समन्वय गरी विपद् जोखिम न्यूनीकरण गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिने’ भन्ने पत्र प्राप्त भएको सहरी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार उक्त निर्णय कार्यान्वयन सम्बन्धमा विभिन्न सामाजिक सञ्जाल तथा राजनीतिक दलहरूमा फरक–फरक विचार प्रेषित भई जनमानसमा दुविधा पर्न गएको छ ।
काठमाडौं उपत्याकाको पानीको निकास बिन्दु चोभारमा रहेको गल्छीको धार्मिक, सांस्कृतिक तथा प्राचीन पहिचान अक्षुण्ण राख्दै चोभार गल्छी वरपर क्षेत्रमा हुन सक्ने डुबान न्यूनीकरणका लागि चोभार गल्छीभन्दा माथि विगतमा बगाएर ल्याएको फोहोर हटाउने, पहिरो जान सक्ने सम्भावित क्षेत्र पहिचान गरी रोकथाम गर्ने मन्त्रालयले जनाएको छ ।
‘यसको दीर्घकालीन समाधानका लागि आवश्यक प्राविधिक अध्ययन गरी कार्ययोजना समेत तयार गर्ने मन्त्रालयको उद्देश्य रहेको छ,’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा छ, ‘त्यसकारण चोभार गल्छी चौडा गर्ने तथा परापूर्वकालदेखि प्राकृतिक रूपमा रहेका चट्टानहरू हटाउने कुनै पनि उद्देश्य छैन ।’
हेर्नुहोस् विज्ञप्ति :
प्रतिक्रिया 4