
२१ असोज, काठमाडौं । नेकपा एमालेका इलाम क्षेत्र नम्बर २ का निवर्तमान सांसद सुहाङ नेम्वाङले इलामलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न तथा नियमित हवाइ उडान सञ्चालन गर्न माग गरेका छन् ।
जिल्ला विपद व्यवस्थापन समितिको निर्णय तथा सिफारिस समेतको आधारमा इलामलाई तत्का ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न उनले सरकारसँग माग गरेका छन् ।
गत शुक्रबार र शनिबार आएको बाढीपहिरोका कारण इलाममा ३९ जनाले ज्यान गुमाइसकेका छन् । सोही क्षेत्रका निवर्तमान जनप्रतिनिधि रहेका नेम्वाङले हिजो सरकारका मन्त्रीहरूलाई समेत भेटेर ध्यानाकर्षण गराएका थिए ।
‘अविरल वर्षाका कारण इलाम जिल्लामा व्यापक जनधनको क्षति, सडक अवरुद्ध, विद्युत् आपूर्तिमा अवरोध र जनजीवन पूर्णरूपमा अस्तव्यस्त भएको छ,’ उनले भनेका छन्, ‘पहिरो, सडक ध्वस्त र सम्पर्क विच्छेदका कारण राहत तथा उद्धार कार्यमा समेत गम्भीर चुनौती उत्पन्न भएको वर्तमान अवस्थालाई मध्यनजर गर्दै तथा जिल्ला विपद व्यवस्थापन समितिको निर्णय तथा सिफारिस समेतको आधारमा इलाम जिल्लालाई तत्काल ‘संकटग्रस्त क्षेत्र’ घोषणा गर्न सरकारसँग आग्रह गर्दछौं ।’
राहत तथा अन्य सामग्रीका लागि फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित हवाइ उडान सञ्चालन गर्न पनि उनले माग गरेका छन् ।
‘जिल्ला केन्द्र र राजधानीबीचको भौगोलिक कठिनाइ र सडक अवरोधका कारण आवश्यक राहत सामग्री, औषधि र जनसञ्चार अवरुद्ध भइरहेकाले फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित हवाइ उडान सञ्चालन गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं,’ उनले भनेका छन् ।
प्रतिक्रिया 4