
२१ असोज, काठमाडौं । सरकारले हालैको बाढीपहिरोबाट घर गुमाएकालाई तत्काल अस्थायी बसोबासको व्यवस्था मिलाउने भएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकपछि आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले यस्तो जानकारी गराएका हुन् ।
सरकारले बाढीपहिरो प्रभावितलाई तत्काल राहत रकम पनि उपलब्ध गराउने भएको छ ।
बाढीपहिरोबाट कसैको घरभत्केको पाइएमा सरकारले तत्काल अस्थायी आवासमा सार्ने र दीर्घकालीन रूपमा स्थायी आवासको व्यवस्था मिलाउने निर्णय भएको उनले जानकारी दिए ।
उनका अनुसार अस्थायी आवासका लागि विपद् प्राधिकरणबाट ५० हजार रुपैयाँ उपलब्ध गराइने छ । सो रकममध्ये २५ हजार रुपैयाँ तत्काल र २५ हजार रुपैयाँ एक लेबलको घरको संरचना बनेपछि मापदण्ड अनुसार उपलब्ध गराइने छ ।
महामारी फैलिन नदिन सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने
विपद्पछि महामारी फैलिन सक्ने सम्भावना रहेको भन्दै यसका लागि तीनै तहका सरकारले चनाखो भएर काम अघि बढाउने निर्णय पनि बैठकले गरेको छ ।
महामारी फैलिन सक्ने सम्भावना रहेकोले त्यसो हुन नदिनका लागि स्वास्थ्य मन्त्रालयका साथै प्रदेश सरकार र स्थानीय सरकारको संयुक्त पहलमा यो संकट आउन नदिन आवश्यक काम अघि बढाउने निर्णय भएको भट्टले जानकारी दिए ।
महामारी फैलिन नदिनका लागि जनचेतना फैलाउने, स्वास्थ्य शिविर सञ्चालन गर्ने, मनोसामाजिक परामर्श उपलब्ध गराउने लगायतका कामहरू संयुक्त रूपमा सञ्चालन गर्ने निर्णय भएको छ ।
तीनै तहको पहलमा अवरुद्ध सडकहरू तत्काल सञ्चालनमा ल्याइन्
बाढीपहिरोका कारण देशभरिका विभिन्न स्थानमा अवरुद्ध भएका सडकहरू तीनै तहको पहलमा तत्काल सञ्चालनमा ल्याइने निर्णय भएको छ ।
विभिन्न स्थानमा अवरुद्ध भएका सडकहरू यथाशीघ्र सञ्चालन गर्ने व्यवस्था सम्बन्धित निकाय (भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रदेश सरकार र स्थानीय तह) ले मिलाउने निर्णय भएको उनले बताए ।
बाढीपहिरोबाट अवरुद्ध खानेपानी, विद्युत्, सञ्चार लगायतका अत्यावश्यक सेवाहरू सञ्चालन गर्न खानेपानी सेवा प्रदायक संस्था, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल विद्युत् प्राधिकरणले यथाशीघ्र गर्ने गरी सम्बन्धित मन्त्रालयले व्यवस्था मिलाउने निर्णय भएको उनको भनाइ छ।
प्रतिक्रिया 4