
२१ असोज, काठमाडौं । नेपालमा मुख्य पर्यटन सिजनमै पर्यटक आगमन संख्या घटेको छ । सेप्टेम्बर २०२५ मा ७८ हजार पर्यटक नेपाल भित्रिएका छन् ।
नेपाल पर्यटन बोर्डका अनुसार गत सेप्टेम्बरमा ७८ हजार ७ सय ११ पर्यटक नेपाल घुम्न आएका हुन् । यो संख्या सेप्टेम्बर २०२४ को तुलनामा १८.३ प्रतिशत कम हो ।
नेपालमा सेप्टेम्बर, अक्टोबर र नोभेम्बर महिनालाई पर्यटक आगमनको प्रमुख सिजन मानिन्छ । अघिल्लो वर्ष सेप्टेम्बरमा ९६ हजार ३ सय २ पर्यटक नेपाल घुम्न आएका थिए । २०१९ को तुलनामा समेत यस वर्ष पर्यटक आगमन खस्किएको छ । त्यसबेला ९२ हजार ६ सय ४ पर्यटक आएका थिए ।
दक्षिण एसियाली देशबाट गत वर्ष सेप्टेम्बरमा ३३ हजार ६ सय ११ र यस वर्ष २४ हजार २ सय ८५ पर्यटक आएका छन् । जुन २७.७ प्रतिशत कम हो ।
यस्तै एसियाका अन्य देशबाट १२ हजार ५ सय ९०, युरोप १६ हजार ५ सय ९७, अमेरिका ११ हजार ५ सय २३, ओसेनिया ७ हजार ३ सय १४ र मध्यपूर्वबाट २ हजार ३ सय २८ पर्यटक आएको पर्यटन बोर्डले जनाएको छ ।
२३ र २४ भदौमा भएको जेनजी आन्दोलनको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेको छ । आन्दोलनपछि नेपाल असुरक्षित भएको भन्दै घुम्न आउन बुकिङ गरेका पर्यटकले धमाधम बुकिङ रद्द गरेका थिए ।
पर्यटन बोर्डको तथ्यांक अनुसार सेप्टेम्बरमा आएकामध्ये १९.८ प्रतिशत पर्यटक भारतीय छन् । उक्त महिना १५ हजार ५ सय ५६ भारतीयले नेपाल घुमेका थिए । गत वर्ष सोही अवधिमा २२ हजार ९ सय ८४ भारतीय आएका थिए । गत वर्ष सोही महिनाको तुलनामा यो वर्ष भारतीय पर्यटक ३२.३ प्रतिशतले घटेका छन् ।
यस्तै अमेरिकाबाट ९ हजार ६ सय ७९ पर्यटकले सेप्टेम्बरमा नेपाल भ्रमण गरे । २०२४ को सोही महिनामा १० हजार ८४ पर्यटक नेपाल आएका थिए ।
सेप्टेम्बरमा अस्ट्रेलियाबाट ६ हजार ८ सय २४, चीन ५ हजार २ सय ३७ र बेलायतबाट आएका ४ हजार ९ सय ८१ पर्यटकले नेपाल घुमेका छन् ।
प्रतिक्रिया 4