
२२ असोज, काभ्रेपलाञ्चोक । काठमाडौं–रामेछाप–सोलु उडान गर्ने विमानले अब काठमाडौं–रामेछाप–काठमाडौं पनि उडान गर्ने भएका छन् ।
रामेछापको मन्थलीमा रहेको विमानस्थलबाट जिल्लाकै बासिन्दाले सेवा लिन नपाएको गुनासो बढेपछि समिट, सिता र तारा एयरले हप्तामा तीन उडान भर्ने सहमति गरेका हुन् ।
अविरल वर्षाका कारण सडक क्षतविक्षत हुँदा समेत रामेछापको विमानस्थल स्थानीयहरुको प्रयोगमा नआएको भन्दै आक्रोशित थिए । शान्तिदीप युवा क्लबले तीन दिनभित्र रामेछाप–काठमाडौं उडानका लागि अल्टिमेटम दिएको थियो ।
स्थानीयको माग अनुसार अब प्रत्येक बुधबार समिट, शुक्रबार सिता र शनिबार तारा एयरलाइन्सले काठमाडौं–रामेछाप–काठमाडौं उडान भर्ने सहमति भएको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए ।
यी तीनमध्ये समिटको नागरिक उड्यन प्राधिकरणबाट अनुमति आइसकेको छ । समिट एयरलाइन्सको प्रधान कार्यालयमा पूर्वसांसद पूर्णबहादुर तामाङ (कान्छाराम) सहितको उपस्थितिमा रामेछापमा प्रत्येक बुधबार स्थानीयहरू बोक्ने गरी समिट एयरले उडान गर्ने निर्णय गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
तर सिता र ताराको भने काठमाडौं–रामेछाप–काठमाडौं उडान अनुमति आउन बाँकी छ ।
यसअघि विमान कम्पनीहरूले काठमाडौं–रामेछाप–सोलु उडानको क्रममा पर्यटकहरूलाई मात्रै ओसार्ने काम गर्दै आएका थिए । कहिलेकाहीँ ती कम्पनीका जहाजहरू काठमाडौं जाने र यात्रु नभएको खण्डमा मात्रै केही यात्रुहरू एकतर्फी लैजाने गरेका थिए । सर्वसाधारणका लागि अहिलेसम्म नियमित उडान थिएन । यसपटक भने बारहरु तोकेर नियमित उडान गर्ने सहमति भएको छ ।
स्थानीय शान्तिदीप युवा क्लबका अध्यक्ष सुरेश उदासका अनुसार मंगलबार विमानस्थलका प्रमुख अमित चौरसियाको उपस्थितिमा भएको छलफलमा तीनवटा उडानका लागि नेपाल उड्यन प्राधिकरणसँग अनुमति लिने निर्णय भएको छ । ‘जिल्लामा भएको विमानस्थलबाट नागरिकहरूले सेवा पाउनको लागि समिट, सिता र तारा एयरले हप्तामा तीन उडान भर्ने सहमति भएको छ,’ उदासले भने, तिहारसम्मलाई भनेपनि त्यसपछि पनि निरन्तरता दिलाउन लाग्छौं ।’
रामेछाप विमानस्थलबाट सीता, समिट र तारा एयरलाइन्सहरूले पर्यटकहरूलाई सेवा दिँदै आएका छन् । रामेछाप विमानस्थलबाट लुक्ला सरदर दैनिक २० देखि ३५ उडानसम्म हुने गरेको प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।
प्रतिक्रिया 4