+
+
Shares

साइबर ब्यूरोमा डेढ घण्टा बयान दिएका एमाले नेता महेशको मुद्दा के हो ?

शोभा पाठकले ब्यूरोमा दिएको उजुरीमाथि भने कुनै कारबाही नै भएको थिएन । बरु उक्त उजुरी ३१ भदौमा तामेलीमा राख्न पठाइयो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते २०:१४

२२ असोज, काठमाडौं । साइबर अपराधको कसुरमा नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले आज बुधबार डेढ घण्टासम्म लिखित बयान दिए ।

प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीमा पुगेर पुगेर उनले डेढ घण्टा बयान दिए । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्देशनपछि ब्यूरोले नेता बस्नेतलाई बयानका लागि बोलाएको थियो । सोही अनुसार उनी बुधबार बिहान ब्यूरोको कार्यालयमा हाजिर भएर लिखित बयान दिएको ब्यूरोका एसपी तथा प्रवक्ता दीपक राज अवस्थीले बताए ।

ब्यूरो स्रोतका अनुसार, बस्नेतले डेढ घण्टासम्म लिखित बयान दिए । सरकारी वकिल कार्यालयले नै पठाएको प्रश्नको उनले लिखित जवाफ दिए ।

बस्नेत अहिले प्रहरी कार्यालय उपस्थित भएर बयान दिनुपर्ने कारण बुझ्न केही अघिको घटनामा फर्कनुपर्छ । धादिङ घर भएकी शोभा भनिने जानुका पाठकले बस्नेतविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् ।

पाठकले ब्यूरोमा दिएको उजुरीमाथि भने कुनै कारबाही नै भएको थिएन । बरु उक्त उजुरी ३१ भदौमा तामेलीमा राख्न पठाइयो ।

बस्नेतले आफ्नै फेसबुकबाट ‘नेपालको राजनीतिमा एउटा…पछिल्लो अवस्थामा जहाँ पनि छरपष्ट बौलाउँदै हिँडिरहेको छ भन्दै’ अमर्यादित शब्द लेखेर पोस्ट गरेका थिए ।

यतिमात्रै होइन महेश बस्नेत फ्यानक्लबबाट अश्लिल म्यासेज गरिएको थियो । बस्नेतले आफूमाथि सामाजिक सञ्जालमार्फत गालीजलौज गरेको भन्दै पाठकले जाहेरी दिएकी थिइन् ।

उनै पाठकले दिएको जाहेरी तामेलीमा राख्ने नभई अनुसन्धान गर्न भन्दै ५ असोजमा सरकारी वकिल कार्यालयले प्रहरीलाई निर्देशन दिएको थियो ।

जिल्ला न्यायाधीवक्ता उदयचन्द अधिकारीद्वारा हस्ताक्षरित पत्रमा ‘यसबारे प्रतिवादी महेश बस्नेतविरुद्ध कागज गराई खुलाउने र उनको नाममा खोलिएको फ्यान क्बल कसको नाममा खोलिएको छ सो समेत अनुसन्धान गरी राय पश गर्न’ भन्दै निर्देशन भएको थियो ।

सोही निर्देशन अनुसार प्रहरीले अहिले बस्नेतमाथि लिखित बयान दिएको हो । पाठक पनि कुनै समय नेकपा एमालेमै आवद्ध थिइन् । त्यतिबेला बस्नेत र पाठक नजिक रहेको सम्बन्धमा दरार आएपछि आरोप प्रत्यारोपमा उत्रिएका थिए ।

यो प्रकरणमा अहिले बस्नेतमाथि विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार अनुसनधान अघि बढाइएको छ ।

ऐनको दफा ४७ मा विद्युतीय स्वरुपमा गैरकानूनी कुरा प्रकाशन गर्न नहुने उल्लेख छ । दफा ४१ को (१) मा ‘कम्युटर, इन्टरनेट लगायत विद्युतीय सञ्चार माध्यमहरूमा प्रचलित कानूनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनि रोक लगाएका सामग्रीहरू वा सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्धेक्ष् फैलाउने वा विभिन्न जात, जाति र सम्प्रदायबीचको सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने, वा यस्तै अन्य कुनै किसिमका अमर्यादित कार्य गर्ने वागर्न लगाउन नहुने’ उल्लेख छ ।

यस्तो कार्य गर्नेलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कै वा दुबै सजाय हुनसक्ने व्यवस्था ऐनमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?