+
+
Shares

गृहको अनुरोध- धर्ना, जुलुस गर्नुअघि संवादबाट समाधानको प्रयास गरौं

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते १८:४७

२२ असोज, काठमाडौं । गृह मन्त्रालयले धर्ना जुलुस लगायतका कार्यक्रम गर्नु अगावै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्नेतर्फ अग्रसर हुन आग्रह गरेको छ ।

बुधबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै धर्ना, जुलुसलगायत विरोधका कार्यक्रमहरू गर्नुपर्दा सभ्य, मर्यादित र शान्तिपूर्ण बनाउन समेत अपिल गरेको छ ।

‘मुलुकमा शान्ति सुव्यवस्था र अमनचयन कायम राख्दै निर्वाचनलाई सफल बनाउन सबै नागरिकले आफ्ना आवाज, अपेक्षा र असन्तुष्टिहरू शान्तिपूर्वक राख्न र धर्ना, जुलुसलगायत विरोधका कार्यक्रमहरूलाई सभ्य, मर्यादित र शान्तिपूर्ण बनाउन मन्त्रालय सबैसँग अनुरोध गर्दछ,’ गृहले भनेको छ ।

आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनको वातावरण तयार गर्नेतर्फ सरकार क्रियाशील रहेको पनि गृहले जनाएको छ ।

‘नागरिकका चासो, सरोकार र मागलाई गम्भीरतापूर्वक वार्ता एवम् छलफलमार्फत समाधान गर्न सरकार सधैं सकारात्मक रहेको व्यहोरा अनुरोध गर्दै धर्ना जुलुस लगायतका कार्यक्रम गर्नु अगावै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्नेतर्फ अग्रसर हुन सबैमा हार्दिक अनुरोध छ,’  गृहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसअघि हिजो वरिष्ठ प्रहरी अधिकारीहरूले जेनजीको सडक प्रदर्शनका दौरान घुसपैठ भएर अप्रिय घटना हुनसक्ने भन्दै प्रदर्शन रोक्न गृहमन्त्रीले नै अग्रसरता लिनुपर्ने सुझाव दिएका थिए ।

जेनजी समूहले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्नुपर्ने माग गर्दै प्रहरी कार्यालयमा दबाब बढाएपछि सोमबार साँझ प्रहरी प्रमुखसहितका वरिष्ठ अधिकारीहरु गृहमन्त्री ओमप्रकाश अर्याललाई भेट्न पुगेका थिए ।

सो भेटमा प्रहरी अधिकारीहरुले अहिलेको तरल अवस्थामा सडक प्रदर्शन हुँदा कस्ता जोखिम हुन्छन् भनेर ब्रिफिङ गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?