+
+
Shares

कृषि बालीमा पुगेको क्षतिको लगत सङ्कलन सुरू

वर्षाले जिल्लाभरका किसानले ठूलो नोक्सान ब्यहोर्नु परेको गुनासो आएसँगै स्थानीय तहबाट क्षतिको विवरण लिन सुरु गरिएको हो ।

रासस रासस
२०८२ असोज २३ गते ७:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नुवाकोटमा अविरल वर्षाका कारण कृषि बालीमा पुगेको क्षतिको विवरण सङ्कलन सुरु गरिएको छ।
  • जिल्लाका सबै स्थानीय तहले किसानबाट बाली क्षतिको विवरण लिन वडा कार्यालयमार्फत सूचना जारी गरेका छन्।
  • विदुर नगरपालिकाले किसानलाई बाली, क्षेत्रफल र नोक्सानी उल्लेख गरी वडा कार्यालयमा निवेदन दिन आग्रह गरेको छ।

२३ असोज, नुवाकोट । हालै परेको अविरल वर्षाका कारण नुवाकोटको कृषि बालीमा पुगेको क्षतिको लगत सङ्कलन सुरु गरिएको छ ।

वर्षाले जिल्लाभरका किसानले ठूलो नोक्सान ब्यहोर्नु परेको गुनासो आएसँगै स्थानीय तहबाट क्षतिको विवरण लिन सुरु गरिएको हो । त्यसका लागि प्रत्येक स्थानीय तहको वडा कार्यालयमार्फत किसानलाई कृषि बालीमा पुगेको क्षतिको विवरण उपलब्ध गराउन सूचना जारी गरिएको छ ।

बाढी, पहिरो र डुबानले कृषि बालीमा ठूलो क्षति पुगेको जनाउँदै जिल्लाका विभिन्न स्थानीय तहका कृषि शाखाले वडा कार्यालयमार्फत बाली क्षतिको विवरण लिन थालेको हो । जिल्ला कृषि विकास कार्यालय नुवाकोटका प्रमुख केशव खनालले नुवाकोटमा रहेका बाह्रवटै पालिकाले बर्सातका कारण पुगेको क्षतिको विवरण सङ्कलन सुरु गरेका बताए ।

यथार्थ विवरण प्राप्त भएमा क्षति ब्यहोरेका किसानलाई राहत दिनका लागि बजेटको स्रोत नभए पनि कुनै विशेष कार्यक्रममार्फत विभिन्न निकायबीच समन्वय गरी आवश्यक पहल गरिने उनको भनाइ छ ।

विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले किसानले आफ्नो बालीमा पुगेको क्षतिको विवरण, बालीको प्रकार, क्षेत्रफल, अनुमानित नोक्सानी र क्षतिको कारण उल्लेख गरी सम्बन्धित वडा कार्यालयमा निवेदन दिन भनिएको जानकारी दिए ।

उहाँका अनुसार बालीमा क्षति पुगेका सबै किसानलाई समयमै वडा कार्यालयमा सम्पर्क गर्न आग्रहसहितको सूचना जारी गरिएको छ।

‘वर्षाका कारण किसानले खेतबारीमा लगाएका धान, कोदो, तरकारी, फलफूललगायत बालीमा ठूलो क्षति पुर्‍याएको छ। यसबाट किसानले ठूलो नोक्सान ब्यहोरेका छन् । क्षतिको यथार्थ विवरण प्राप्त भएपछि कृषकलाई राहत, क्षतिपूर्ति, अनुदान तथा पुनः लगानी गर्न सक्ने कार्यक्रम सञ्चालन गर्नेछौँ’, नगरप्रमुख श्रेष्ठले भने ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?