
२३ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विपद्ग्रस्त क्षेत्रमा वितरण गर्ने खाद्यान्न, पानी तथा लत्ता कपडाहरुको गुणस्तरीयता कायम राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
डुबानग्रस्त क्षेत्रका पानीका मुहानहरु डुबानमा परी दूषित भएको अवस्था रहेकाले पिउने पानीको स्वच्छता सुनिश्चित गर्न नसके एक साताभित्र हैजा लगाएतका महामारी र प्रकोप देखापर्न सक्ने भन्दै मन्त्रालयले त्यसतर्फ गम्भीर हुन आग्रह गरेको हो ।
स्वास्थ्य मन्त्रालयका सहसचिव एवं प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले संकटको समयमा वितरण गरिने पिउने पानी र खाद्यान्न स्तरहीन भए विपद्ग्रस्त क्षेत्रमा महामारी र प्रकोप फैलनसक्ने जोखिम रहेकाले त्यसतर्फ ध्यानाकर्षण गराएका हुन् ।
‘मानवीय संवेदनामा सचेत भएर काम गरिदिनुएन भने अबको एक/दुई हप्तामा फेरि महामारी फैलिन्छ । अहिलेको अवस्थामा जुनसुकै स्रोत वा मुहानको पानी भएपनि उमालेर मात्र पिउनुपर्छ भन्ने कमन म्यासेज जानुपर्छ । त्यसकारण सबै नागरिकलाई त्यहीअनुसारको निर्देशन दिनुहोस्,’ उनले भने ।
नत्र पानी प्रदूषण भएकै कारण हैजा, झाडापखाला, टाइफाइड जस्ता रोगहरुको प्रकोप फैलिने सम्भावना रहने उनको भनाइ छ । उनले वितरण गरिने खाद्यान्न, पानी र लत्ताकपडाको गुणस्तरियता कायम राख्न सबैलाई आग्रह गरे ।
प्रतिक्रिया 4