+
+
Shares

सम्झनामा हाइटी मिसन

भनिन्छ, कथा प्रायः फूलकै लेखिन्छन्, तर काँडाको पनि गुनासो हुन्छ। हाइटी जस्तो मुलुकको चर्चा, परिचर्चा र वर्णन गर्न पाउँदा मेरो मन गहिरो हर्षले भरिन्छ।

श्रीहरि केसी श्रीहरि केसी
२०८२ असोज २४ गते ८:३२

सानै उमेरदेखि नै मलाई घुम्न, नयाँ ठाउँ हेर्न र अनुभव बटुल्न मन पर्थ्यो। यही रुचिले स्वदेश मात्र होइन, विदेश घुम्ने र विभिन्न स्थानको जानकारी लिनेतर्फ पनि आकर्षित भएँ। गाउँघरतिरका आफन्त, नातागोता र छरछिमेकीका छोराछोरी शान्तिसेनामा गएर फर्कंदा उनीहरूलाई देखेर मनभित्रै एउटा रहर पलाउँथ्यो- ‘कसरी होला ? कहिले आउला मेरो जीवनमा पनि त्यस्तो अवसर ?’

भनिन्छ नि, ‘कुनै नदी पार गर्न चाहन्छौ भने किनारामा बसेर मात्रै हुँदैन, स्वयम् नदीमै हाम फाल्नुपर्छ।’ यही सोचका साथ मैले आफ्नो अध्ययनलाई पनि त्यसैअनुरूप अघि बढाएँ। स्नातकोत्तर तहमा राजनीति शास्त्र पढ्दा अन्तर्राष्ट्रिय शान्ति, द्वन्द्व र विकास विषयमा विशेष ध्यान केन्द्रित गरें। त्यसमाथि संयुक्त राष्ट्रसंघ (यूएन) का विभिन्न तालिम र कोर्सहरू पनि लिएर डिग्री हासिल गरें।

त्यसपछि विभिन्न मुलुकका ऐन, नियम, कानून र संविधान बुझ्ने उद्देश्यले नेपाल ल क्याम्पसमा एलएलबी अध्ययन गरी उत्तीर्ण गरें। यसले झन् मेरो मनमा एउटा निष्कर्ष स्थापित गरिदियो- अब म शान्ति मिसनमै जानुपर्छ। त्यही तयारीको क्रममा बिहान–बेलुका समय मिलाएर बागबजारस्थित ओसिस ल्याङ्ग्वेज सेन्टर र भृकुटीमण्डपस्थित विश्वभाषा क्याम्पसमा अंग्रेजी र फ्रेन्च दुवै भाषा सिक्न थालें। नयाँ कुरा गर्ने चाहना, जोश र साहस मेरोभित्र सधैं जागिरहन्थ्यो।

नेपाल प्रहरीले तोकेका विभिन्न मापदण्ड र क्राइटेरिया पूरा गर्दै हामी १२५ जना संयुक्त राष्ट्रसंघको शान्ति मिसन एफपीयू (फर्म्ड पोलिस युनिट) को ८औं समूहमा छनोट भयौं। त्यसै क्रममा म मिसन हाइटी जाने भाग्यशाली सूचीमा पर्न सफल भएँ।

त्यतिबेला जागिर लागेको करिब चार-पाँच वर्ष मात्रै भएको थियो। मेरो असई ब्याचका झण्डै ३८२ जनामध्ये संयुक्त राष्ट्रसंघीय ग्लोबल पिस किपिङ मिसनमा सहभागी हुने पहिलो अवसर पाउने सौभाग्य मलाई नै आयो।

उमेर पनि त्यतिखेर निकै कलिलो थियो। त्यसैले मिसनमा सहभागी हुन पाउनु मेरो जीवनकै एउटा अमूल्य क्षण बन्न पुग्यो। त्यो केवल जागिरको एउटा पाटो मात्र थिएन, बरु मेरो व्यक्तित्व निर्माणको महत्वपूर्ण अध्याय थियो। अन्तर्राष्ट्रिय भूमिमा नेपालको पहिचान बोक्दै, आफैंलाई चिन्ने, अवसर र चुनौतीको सामना गर्ने अनमोल अवसर मिलेको थियो।

त्यो समयमा नेपाल प्रहरीबाट दुई देश- हाइटी र सुडानमा मात्र एफपीयू मार्फत प्रतिनिधित्व भइरहेको थियो भने, युएनपीओएल मार्फत अन्य देशहरूमा पनि सहभागिता थियो। हाम्रो समूहको नेतृत्व तत्कालीन प्रहरी उपरीक्षक पुष्कलराज रेग्मीले गर्नुभएको थियो। पाँच जना प्रहरी नायव उपरीक्षक, १० जना निरीक्षक र अन्य दर्जाका महिला-पुरुष प्रहरी कर्मचारीहरू मिसनमा सहभागी थिए।

मिसनमा जानुअघि हामीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, सामाखुसीमा करिब ६० दिन लामो पूर्व-प्रशिक्षण गरेका थियौं। त्यहाँ संयुक्त राष्ट्र शान्ति सेनाका अनुभव सम्पन्न प्रशिक्षकहरूले बिहान शारीरिक अभ्यास गराउँथे, दिउँसो शान्ति मिसन सम्बन्धी कक्षा चलाइन्थ्यो र बेलुकी विभिन्न हातहतियारको अभ्यास गराइन्थ्यो।

तालिमका दिनहरूमा राजधानीमा विभिन्न बन्द, हड्ताल र जुलुस भइरहन्थे। हामीलाई ती परिस्थितिमा ड्युटीमा खटिनुपर्थ्यो। कठोर तालिम र चुनौतीपूर्ण वातावरणले मेरो जीवनलाई सिकाइपूर्ण, जिम्मेवार र अनुशासित बनायो। सन् १९५८ देखि नै संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा सहभागी हुँदै आएको नेपाल प्रहरी आजसम्म विश्वका थुप्रै ग्लोबल मिसनहरूमा उल्लेखनीय सफलता हासिल गर्न सफल भएको छ।

अस्थिरता नियन्त्रण, गस्ती, दंगा नियन्त्रण, सुरक्षा व्यवस्था, नागरिकको ज्यान-धनको रक्षा, जनादेशको संरक्षण, आतङ्ककारी समूह र विद्रोही गतिविधि नियन्त्रण, मानवअधिकार प्रवर्धन, महिला, बालबालिका, युवा र वृद्धको सुरक्षा, कानूनको शासन कार्यान्वयन- यी सबै कार्य सरल थिएनन्

लेबनान, कंगो, सियरालियोन, इष्ट टिमोर, हाइटी, डार्फर, दक्षिण सुडान, पूर्व युगोस्लाभिया लगायत द्वन्द्वग्रस्त मुलुकमा नेपाली सुरक्षाकर्मीहरूले छोडेको छाप नै नेपाल प्रहरीको गौरवपूर्ण इतिहास बनेको छ। यही गौरवशाली इतिहासलाई नजिकबाट अनुभव गर्ने अवसर पाउँदा म अत्यन्तै लालायित, खुसी र उत्साहित थिएँ।

तालिमले मलाई धेरै कुरा सिकायो। ज्ञानसँगै आत्मबल पनि बढ्यो। यति ऊर्जावान् भएँ कि मानौं भित्रैभित्रै कुनै दिव्य शक्ति नै प्राप्त भएको होस्। त्यो क्रममा मैले इतिहासबारे महत्वपूर्ण तथ्यहरू पनि बुझ्ने अवसर पाएँ।

सन् १९५८ मा नेपालले संयुक्त राष्ट्रसंघीय पर्यवेक्षक समूह (यूएनओजीआईएल) मा पाँच जना पर्यवेक्षक पठाएर शान्ति मिसनमा पहिलो यात्रा सुरु भएको रहेछ। तर नेपाल प्रहरीको प्रत्यक्ष सहभागिता भने सन् १९९२ मा पूर्व युगोस्लाभियामा संयुक्त राष्ट्रसंघीय सुरक्षा फौज (यूएनपीआरओएफओआर) अन्तर्गत नागरिक प्रहरीको रूपमा शुरु भएको थाहा पाए।

त्यसयता, नेपालले विश्वका विभिन्न द्वन्द्वग्रस्त क्षेत्रमा सैनिक, प्रहरी र नागरिक प्रशासकहरू पठाएर शान्ति स्थापनामा महत्वपूर्ण योगदान दिंदै आएको छ भन्ने कुरा तालिम मार्फत थाहा पाउँदा झन् गर्व र आत्मविश्वास बढेको थियो। अन्ततः म आफैंलाई सन् २००८, अगष्टदेखि सन् २००९ मार्चसम्मको हाइटी मिसनमा सहभागी बन्ने मौका मिल्यो।

बिदाइको क्षण

तत्कालीन प्रहरी महानिरीक्षक ओमविक्रम राणाले प्रहरी प्रधान कार्यालयको अपरेशन हलमै सम्पूर्ण नेपाल एफपीयू टोली सदस्यलाई आवश्यक नीति–निर्देशन दिएर शुभकामना व्यक्त गर्नुभयो। उहाँले एक–एक जनासँग हात मिलाउँदै बिदाइ गर्दा हामी सबैभित्र मिसन यात्राको उत्साह झन् थपिएको थियो।

भोलिपल्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तत्कालीन प्रहरी अतिरिक्त महानिरीक्षक रूपसागर मोक्तानले अन्तिम बिदाइ गर्नुभयो। उहाँले पनि संक्षिप्त नीति–निर्देशन र ब्रिफिङ दिंदै सफलताको शुभकामना प्रकट गर्नुभयो। त्यसपछि हामी नेपाल एफपीयू टोलीका सदस्यहरू रसियन भिम एयरलाइन्सको विशेष उडान मार्फत नेपाल आर्मीको टोलीसँगै संयुक्त रूपमा हाइटीको राजधानी पोर्ट–ओ–प्रिन्सतर्फ प्रस्थान गर्‍यौं।

नेपाल आर्मी र नेपाल प्रहरीका केही टोली सदस्यहरू भने पन्ध्र–बीस दिनअघि नै प्रस्थान गरिसकेका थिए। हामी भने तत्कालीन नेपाल आर्मीका मेजर थमन बस्नेत र नेपाल प्रहरीका नायब उपरीक्षक कृष्णबहादुर कुँवरको नेतृत्वमा संयुक्त टोलीका रूपमा उडान भरेका थियौं।

यात्राक्रममा पाकिस्तानको लाहोर, नर्वेको ओस्लो र क्यानाडाको ग्यान्डर सिटी हुँदै ट्रान्जिट लिएर हामी गन्तव्यतर्फ अघि बढ्यौं। मेरो लागि त्यो उडान केवल आकाश चुम्ने यात्रा मात्र थिएन। मनमा लागिरहेथ्यो- ‘यो यात्रा मेरो जीवनको सीमारेखा होइन, बरु नयाँ सुरुवातको संकेत हो।’

विभिन्न प्राविधिक कारणले गर्दा हाम्रो टोलीलाई क्यानाडाको ग्यान्डर सिटी एयरपोर्टमा लामो समय ट्रान्जिट गर्नुपर्‍यो। त्यस क्रममा हामीलाई रोयल शिङबाद होटलमा करिब साढे चार दिन बस्न व्यवस्था गरियो, जुन सम्पूर्ण व्यवस्थापन रसियन भिम एयरलाइन्सले मिलाएको थियो।

हामीलाई कतिखेर उडान हुन्छ भन्ने निश्चित नभएकाले निरन्तर ‘रेडी टु मुभ’ अवस्थामै बस्नुपर्‍यो। लामो प्रतीक्षापछि, अन्ततः सोही भिम एयरलाइन्स मार्फत हामी हाइटीतर्फ प्रस्थान गर्‍यौं। केही घण्टाको उडानपछि हाम्रो विमान हाइटीको राजधानी पोर्ट-ओ-प्रिन्समा अवतरण गर्‍यो।

त्यहाँ नेपाल आर्मीले युएन लेखिएका सेता गाडी र बस मार्फत हामीलाई लग बेस (लग बेस) पुर्‍यायो। छोटो विश्रामपछि युएनको अफिसमा प्रवेश गराइयो र त्यहाँ युएन आइडी कार्ड, ड्राइभिङ कार्ड लगायत आवश्यक कागजात बनाइयो।

पोर्ट–ओ–प्रिन्समा केही दिनको बसाइपछि, सम्पूर्ण नेपाल एफपीयू टोली सदस्यले सामूहिक रूपमा एमओपी (मुभमेन्ट अफ पर्सोनेल) फर्म भरेर युएनको विशेष विमान मार्फत आफ्नो कार्यक्षेत्र क्याप-हाइसियनतर्फ प्रस्थान गर्‍यो। त्यहाँ पुग्दा पुरानो टोलीले हामीलाई स्वागत गर्‍यो। तत्पश्चात् आवश्यक ब्रिफिङ, वस्तुस्थितिबारे जानकारी दिइयो र हामीलाई हाम्रो नेपाल बेस क्याम्पको निरीक्षण समेत गराइयो। नयाँ ठाउँ, नयाँ चुनौती र नयाँ जिम्मेवारीसँगको त्यो पहिलो भेट मेरो जीवनमा अझै पनि अविस्मरणीय छ।

त्यसपछि सबै सदस्यको जिम्मेवारी बाँडफाँट र ड्युटी तोकियो। जब डेस्क्रिप्सन अनुसार कार्य विभाजन भएपछि दैनिक गतिविधि निर्धारित तालिकामा अघि बढ्न थाल्यो।

हाइटी- एउटा देश, जहाँ पीडाले पहिचान बनाएको छ

The Fragile Humanitarian Crisis in Haiti - Katoikos

जहाँ मृत्युलाई पनि रंगीन फूलले सजाइन्छ। जहाँ रंगहरूको प्रतीक गहिरो छ। हाइटीको संस्कृति, पोशाक, खाना, उत्सव र अन्त्येष्टि- हरेकले आफ्नै कथा बोकेका छन्। ती कथा केवल हाइसियनहरूको मात्र होइनन्, सम्पूर्ण मानव अस्तित्वका कथा हुन्, सङ्घर्षका कथा हुन्।

नेपाल प्रहरीका जवानदेखि वरिष्ठ अधिकृतसम्मले हाइटीमा शान्ति स्थापनार्थ बहुआयामिक भूमिका खेले। अस्थिरता नियन्त्रण, गस्ती, दंगा नियन्त्रण, सुरक्षा व्यवस्था, नागरिकको ज्यान-धनको रक्षा, जनादेशको संरक्षण, आतङ्ककारी समूह र विद्रोही गतिविधि नियन्त्रण, मानवअधिकार प्रवर्धन, महिला, बालबालिका, युवा र वृद्धको सुरक्षा, कानूनको शासन कार्यान्वयन- यी सबै कार्य सरल थिएनन्।

विभिन्न राष्ट्रका सेना, प्रहरी र नागरिकसँग सहकार्य गर्दै हामीले प्रभावकारी ढङ्गले यी जिम्मेवारीहरू पूरा गर्‍यौं।

हामी कहिले अफिसियल काम गर्थ्यौं, कहिले गस्तीमा निस्किन्थ्यौं, कहिले क्याप–हाइसियन जेलको सुरक्षा गर्थ्यौं त कहिले शहर बजारमा शान्ति सुरक्षार्थ खटिन्थ्यौं। यस्तै कार्यहरूको निरन्तरताले हाइटीका शहर–गाउँमा शान्ति स्थापनाका लागि बगाइएको हाम्रो पसिनालाई साँच्चै अमूल्य, मननयोग्य र प्रशंसनीय बनायो।

यससँगै म पोर्ट–ओ–प्रिन्स, ले काई, गोनाइभ्स, क्याप-हाइसियन, फोर्ट लिबर्टे, ज्याकमेल, सिटाडेल लगायत विभिन्न स्थानमा शान्तिदूतको रूपमा खटिएँ। ती ठाउँमा भ्रमण मात्र होइन, अवलोकन, अन्तरक्रियात्मक कार्यक्रम, राहत वितरण र संरक्षणका कार्यहरूमा समेत सहभागी भएँ। विविधता र व्यक्तिवादलाई सम्मान गर्दै, नेपाल सहित विभिन्न मुलुकबाट आएका शान्तिदूतहरूसँग हातेमालो गर्दै हाम्रो टोलीले आफ्ना जिम्मेवारी पूरा गर्‍यो।

हामीले गरेको त्यो सहकार्य र समन्वय हाइटीको शान्ति स्थापनाको यात्रामा एउटा जीवन्त उदाहरण बनेको छ। बेसक्याम्पभित्र बेला–बेलामा विभिन्न सांस्कृतिक, औपचारिक र अनौपचारिक कार्यक्रमहरू आयोजना हुने गर्थे। महिला दिदी–बहिनी र दाजुभाइहरू नाचगान र संगीतमा रमाउँथे।

स्वदेशी र विदेशी अतिथिहरूको स्वागत–सम्मान गरिन्थ्यो। यही कारण हाम्रो नेपाल एफपीयू बेसक्याम्पलाई सबैले “स्वर्गद्वारी क्याम्प” भनेर चिन्थे। साँच्चिकै स्वर्ग झैं लाग्थ्यो त्यो क्याम्प।

७औं टोलीसम्म यसलाई सामान्यत: नेपाल एफपीयू बेसक्याम्प भनिन्थ्यो। तर हाम्रो बसाइको अन्त्यतिर एउटा भव्य औपचारिक कार्यक्रम आयोजना गरी मेडल परेड सम्पन्न गरिएको थियो। सो अवसरमा मैले संयुक्त राष्ट्रसंघको झण्डा समाएर परेड खेलेको क्षण आज पनि मेरो मानसपटलमा उतिकै ताजै छ।

त्यस कार्यक्रममा नेपाल एफपीयूका सम्पूर्ण सदस्यलाई युएनका पोलिस कमिस्नर, चिफ अफ अपरेसन, चिफ अफ स्टाफ, पोलिस एड्भाइजरलगायत विशिष्ट अतिथिहरूको हातबाट पदक प्रदान गरियो। पदक पाएपछि हामी सबैले खुसी साट्यौं-अँगालो हाल्यौं, मुस्कान बाँड्यौं, हर्ष र खुशीका आँसु झार्यौं। त्यो क्षण हाम्रो लामो समयको कडा परिश्रम, अनुशासन र समर्पणको परिणाम थियो। त्याग र तपस्याले दिएको प्रतिफल थियो।

मैले ती बिताएका प्रत्येक क्षण अझै पनि झन् गहिरिएर सम्झनामा आउँछन्। कार्यक्षेत्रमा बितेका सुख-दुःखका पलहरू, अप्रत्यासित घटनाहरू-ती सबैमा सहकर्मी र वरिष्ठ सरहरू खम्बा जस्तै दृढ भएर अगाडि उभिनुभयो। उनीहरूको आड, भरोसा, माया, ममता र हौसला मेरो जीवनभर अमिट सम्झना बनेर रहिरहनेछ।

बिदाइको क्षण झन् अविस्मरणीय थियो। जतिसुकै आँसुका धारा रोक्न खोजे पनि रोक्न सकिनँ, किनभने हाइटीसँगको मेरो प्रेम असाधारण र गहिरो थियो। अल्बर्ट आइन्स्टाइनले भने झैं, ‘प्रकृतिलाई गहिरिएर हेर, अनि तिमीले सबै कुरा राम्रोसँग बुझ्न सक्नेछौ।’

साँच्चै लामो बसाइका कारणले पनि होला, म त्यहाँको प्रकृतिसँग रम्न पाएँ, आत्मसात् गर्न पाएँ। जल, जंगल, जमिन, माटो र मानिसहरूसँगको मेरो आत्मीय सम्बन्ध गाँसिएको थियो।

भनिन्छ, कथा प्रायः फूलकै लेखिन्छन्, तर काँडाको पनि गुनासो हुन्छ। हाइटी जस्तो मुलुकको चर्चा, परिचर्चा र वर्णन गर्न पाउँदा मेरो मन गहिरो हर्षले भरिन्छ। संसारले प्रायः युरोप वा अमेरिका जस्ता विकसित मुलुकका चम्किला कथा मात्र लेख्छ। तर मेरो मन भने भित्रैदेखि भन्छ- फूलसँगै काँडाको पीडाबारे पनि बोलिनुपर्छ।

म आफ्नो मिसनका हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेर फर्किएँ। तर हाइटीमा बिताएको त्यो एक यात्रा, त्यो मिसन र ती सम्झनाहरू मेरो मानसपटलमा स्थायी चित्र झैं कोरिएका छन्। र मैले गहिरो अनुभूति गरें- जीवन केवल बाँच्ने कुरा होइन; बाँच्दाबाँच्दै इतिहास रच्ने कुरा हो, आफू पनि इतिहासको एउटा अंश बन्ने कुरा हो।

(केसी प्रहरी वरिष्ठ नायब निरीक्षक हुन्।)

लेखक
श्रीहरि केसी

श्रीहरि केसी प्रहरी वरिष्ठ नायब निरीक्षक हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?