+
+
Shares

रास्वपाले कात्तिक १५ भित्र उम्मेदवार छनोटको तयारी सुरु गर्ने

कार्यदललाई सुझाव संकलनको लागि सात दिनको अवधि तोकिएको छ । कार्यदलको सुझावको आधारमा  कात्तिक १५ भित्र उम्मेदवारी आव्हानको तयारी गर्ने प्रवक्ता मनिष झाले जानकारी गराए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते १७:०६

२४ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १५ कात्तिकभित्र उम्मेदवारको तयारी सुुरु गर्ने भएको छ । २२ र २४ असोजमा बसेको सचिवालय बैठकले उम्मेदवार छनोटको विधि बनाउन सहमहामन्त्री विपीनकुमार आचार्यलाई जिम्मेवारी दिइएको छ ।

एकीकृत निर्वाचन खाका अन्तर्गतको उम्मेदवार छनोट विधिमा प्रदेशमार्फत् जिल्ला, निर्वाचन क्षेत्र, पालिका तहसम्मको सुझाव संकलन गरी मस्यौदा तयार गर्न आचार्यलाई तोकिएको छ । प्रदेश सभापति तथा केन्द्रीय निर्वाचन आयोगका प्रतिनिधि सम्मिलित सुझाव संकलन कार्यदल गठन गर्ने निर्णय रास्वपाले गरेको छ ।

उक्त कार्यदललाई सुझाव संकलनको लागि सात दिनको अवधि तोकिएको छ । कार्यदलको सुझावको आधारमा  कात्तिक १५ भित्र उम्मेदवारी आव्हानको तयारी गर्ने प्रवक्ता मनिष झाले जानकारी गराए ।

उपसभापति डा.स्वर्णिम वाग्लेलाई उच्च संवाद समितिको संयोजन गर्ने जिम्मेवारी तोकिएको छ । वर्तमान राजनीतिक परिवेशमा राष्ट्रिय हित, एकता र सौहार्दता प्रवर्द्धनका लागि विभिन्न सामाजिक–राजनीतिक शक्ति र समूहसँग वार्ता गर्ने गरी वाग्लेलाई जिम्मेवारी तोकिएको हो । पार्टीले बनाएका समितिहरूको कार्यक्षेत्रलाई एकरूपता दिँदै वृहत्तर राजनीतिक सहकार्य र निकासको वातावरण बनाउन उच्च तहको संवाद वाग्लेले गर्ने प्रवक्ता झाले जानकारी गराए ।

केन्द्रीय सल्लाहकार परिषद् गठन

रास्वपाले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । पाँच सदस्यीय परिषद्मा विज्ञ, लब्ध प्रतिष्ठित मनोनित गरिएको रास्वपाले जनाएको छ । परिषदमा मनोनित हुनेहरुमा चितवनका जगन्नाथ पौडेल, तनहुँका नमस्तेलाई भूमि, ललितपुरकी शोभा जोशी विजुक्छे, सप्तरीका बुद्धीलाल विश्वकर्मा, र महोत्तरीका जयकिशोर लाल छन् ।

वरिष्ठ अधिवक्ता समेत रहेका पौडेल नेपाली कांग्रेस परित्याग गरेका चितवनका नेता हुन् । परिषद्का अर्का सदस्य नमस्तेलाल सर्वाङ्गीण विकास एवं सरसफाई विज्ञ हुन् । विजुक्छे समाजसेवी, उद्यमी हुन् । विश्वकर्मा पेशाले इन्जिनियर हुन् भने जलस्रोत एवं सिंचाइ विज्ञ समेत हुन् । जयकिशोर लाल जनकपुर नर्सिङ  क्याम्पस पूर्व प्रमुख हुन् ।

रास्वपाले विस्तारित बैठक चितवनमा गर्ने निर्णय गरेको छ । कात्तिक १४ र १५ गते चितवनमा हुने विस्तारित बैठकको व्यवस्थापनको संयोजकमा केन्द्रीय सदस्य हरि ढकाल तोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?