
News Summary
Generated by OK AI. Editorially reviewed.- जेनजी आन्दोलनमा करिब ७५ जनाको मृत्यु भएको र हजारौं घाइते भएका छन्, जसमा अझै अस्पतालमा उपचाररत छन्।
- नेपाली कांग्रेसका विभिन्न जिल्लाका पार्टी कार्यालय र नेताहरुका घरहरु आगजनी र तोडफोडमा परेका छन्।
- नेपाली कांग्रेसले असोज २६ गते बैठक बस्ने तयारी गरिरहेको छ जसले पार्टीभित्रका विचारहरुको वैधानिक निकास खोज्नेछ।
हामीले पार्टीभित्र पटक-पटक भन्यौं लोकतान्त्रिक संस्कारमा संसदभित्रको गणितले स्थापित सरकारको प्रत्येक निर्णयको बैधताको मापक ‘नागरिक अनुमोदन’ हो । संसदीय गणितका आधारमा जतिसुकै बलियो सरकार निर्माण भए पनि स्थायी प्रतिपक्ष ‘सञ्चार जगत, नागरिक समाज, बौद्धिक जगत र अझ गम्भीर प्रतिपक्ष त बिहानदेखि बेलुकासम्म काम गर्दा पनि माम खान नपाउँदा निर्माण हुने चिन्ता र जलन हो।
तर दुर्भाग्य, सत्ताको अहंकार र आशक्तिको कक्टेलको आदत निर्माण भएको नेतृत्वलाई हाम्रो प्राङ्गारिक सल्लाह त पाच्य भएन भएन, श्रवणीय पनि रहेन । फलत: कुहिएको अण्डाको अप्रयोजन र आयुजस्तै गर्ल्यामगुर्लुङ्ग नेपाली कांग्रेससमेत सम्मिलित केपी ओली नेतृत्वको सरकार ढल्यो।
सत्ताको अहंकार र आशक्तिको उप-उत्पादनको भुङ्ग्रोले निर्माण गरेको खरानीमा अबको नेपाली समाज र संस्कृतिको सहज भविष्यको खोजी थप चुनौतीपूर्ण बनेको छ। हाम्रै छोरा-छोरी, भतिजा-भतिजी (जेनजी) ले सामाजिक सञ्जालको निर्वाध प्रयोगको अधिकार, भ्रष्टाचारविहीन सरकारी संयन्त्र र सुशासनको प्रत्याभूति लगायतका प्राकृतिक मागहरू उठान गरे ।
माइतीघर मण्डलामा जम्मा भएको उत्साहित स्वर्णिम परिकल्पनाको द्रष्टा र नवचेतनायुक्त आवाजको बेगलाई एकातिर सरकारले नजरअन्दाज गर्यो भने अर्कोतिर वातावरणलाई धमिलो पारेर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने समूहले दुरुपयोग गर्यो।
तसर्थ जेनजीको भावनालाई ठगी गर्नेहरुको धन्दा जति निन्दनीय छ, त्यति नै आन्दोलनको सम्भावित बेगको शान्तिपूर्ण रोकथामको तयारी र सम्भावित परिणामको विश्लेषण गर्न चुकेको तत्कालीन सरकार जिम्मेवारी वहनबाट भाग्न पाउँदैन । जेनजी आन्दोलनमा करिब ७५ जनाको अमुल्य ज्यान गुमेको छ । हज्जारौं संख्यामा घाइते भएका छन् र सयौंको संख्यामा अझ पनि अस्पतालहरुमा स्वास्थ्यलाभ गरिरहनुभएको छ ।
महाभारतका पात्र राजा धृतराष्ट्र पात्र मात्रै होइनन्, बिम्ब पनि हुन्। प्रश्न उठ्छ, धृतराष्ट्रको आँखाको शल्यक्रिया किन गरिएन ? बिम्बात्मक उत्तर प्रष्ट छ, सत्ताको आँखा हुँदैन, कान मात्र हुन्छ ।
सामाजिक सम्वादको महत्त्व भुलेका वा सचिवालयरुपी मुखहरुमा भर पर्ने हाम्रो नेतृत्वले आँखा चिम्लियो । उनीहरुमा हेक्का भएन, आफूले आँखा चिम्लिँदैमा दिउँसै रात पर्दैन । लोकतन्त्रको व्यापकतालाई पार्टीतन्त्र, गुटतन्त्र र गिरोहतन्त्रमा सीमित गरियो । तसर्थ आन्दोलनका कच्चा पदार्थहरु निर्माण भए । आन्दोलन उठ्यो, आन्दोलन भट्काइयो आदि-आदि । अहिले अपूरणीय क्षतिको पहाड, पहाडभन्दा अग्लो आगोको ज्वाला र धुँवाको मुस्लोले वेचैनी र छटपटाहट बढाएको छ ।
सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन, अख्तियारको कार्यालय आदि जल्यो, जलाइयो । संविधानका संरक्षक, नेपाली सेनाका परमाधिपति राष्ट्रपतिको कार्यालय पनि सग्लो रहेन । उपेन्द्र महतोदेखि मीनबहादुर गुरुङसम्मका निजी निवासहरु जलाइयो ।
प्रधानमन्त्री पद त्याग गरेर त्यागी नेताको उपमासहित राजालाई घुमाउरो सन्देश ‘प्रजातन्त्रमा प्रधानमन्त्री नागरिकको चाहनाबमोजिम हुन्छ’ भन्ने गणेशमान सिंहको पुरातात्त्विक महत्त्वको निवास खरानी भयो । छाता, सुराही र ट्याङ्का लिएर प्रधानमन्त्रीनिवास बालुवाटार प्रवेश गरेका र संविधान निर्माण एवं निष्पक्ष निर्वाचनपछि ट्याक्सी चढेर डेरा फर्किएका सन्त नेता कृष्णप्रसाद भट्टराई बाँडेगाँऊस्थित आश्रम जलाइयो । मानौं व्यवस्थाविरोधी आन्दोलनको नेतृत्व गरेका नेताहरुमा प्रतिशोध साँचियो ।
असोज ५ गते बिहानै कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले फोन गरेर भन्नुभयो ‘गुरागाईजी, तयारी अवस्थामा रहनू, आजै काठमाडौं छोड्नुपर्छ । केही जिल्लाहरूमा पुगेर ५/६ दिनपछि फर्कौला । मैले तत्कालै हुन्छ भनेँ । हामी यात्रामा जुट्यौं । साथमा हुनुहुन्थ्यो मदन कट्टेल सर र दाङका पदम शर्मा ।
अघिल्ला यात्राहरु भन्दा यसपटकको जिल्ला यात्रामा केही फरक अनुभूति भयो ।
मोरङ : कोइराला निवास ध्वस्त
बिराटनगर कोशी प्रदेशको राजधानी । वीपी कोइरालाका पिता कृष्णप्रसाद कोइरालाको गृहनगर । नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापा, उपसभापति रमेशजङ्ग रायमाझी, प्रदेश महामन्त्री भुपेन्द्र राईलगायत साथीहरुसँग कोइराला निवास पुग्यौं ।
निवासमा कांग्रेस जिल्ला सचिव ललित श्रेष्ठ, युवा नेता बिक्रम लिम्बू लगायत झण्डै २ दर्जन साथीहरु प्रतिक्षामा हुनुहुन्थ्यो । यही घरबाट राणा प्रधानमन्त्रीलाई च्यातिएको भोटो र टोपी उपहार पठाएर नेपाली जनताको अवस्था जानकारी गराएवापत कृष्णप्रसाद कोइरालाको सपरिवारले प्रवासी जीवन यापन गर्नुपरेको थियो ।
नेपाली प्रजातान्त्रिक समाजवादको प्रणेता, प्रथम जन-निर्वाचित प्रधानमन्त्री वीपी कोइराला तथा शान्ति नायक पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको घर पूर्णरुपमा ध्वस्त पारिएको दृश्यले मन अमिलो भयो । मनमनै लाग्यो, के ऐतिहासिक पुरातात्विक महत्त्वको घर नष्ट गर्नेहरुलाई थाहा थिएन प्रजातान्त्रिक आन्दोलनका दर्दहरु ?
साथीहरूसँगको कुराकानीपश्चात् कोइराला निवासमै चिया पिइयो । जलाएर नष्ट पारिएको जिल्ला पार्टी कार्यालय, कोशी प्रदेशको संसद भवन र नेपाली कांग्रेस कोशी प्रदेशको आंशिक क्षतिग्रस्त कार्यालय अवलोकन गरियो ।
रङ्गेलीबाट झापातर्फको यात्राको बिदाइ कांग्रेसका मोरङका सचिव मोदराज धिमिरेले गर्नुभयो ।
झापा : निसानामा नेताका दराज
नेपाली कांग्रेस झापाको जिल्ला कार्य समितिका सदस्य शिव कँडेल लगायतका साथीहरूसहित हामी सुरुङ्गामा अवस्थित पार्टी सभापति देउमान थेवेको निजी निवासमा पुग्यौं । तोडफोड र आगजनीले घर क्षतविक्षत थियो । आगलागीको रापले नजिकका बोट बिरुवासमेत सुकेका थिए ।
सुरुङ्गाकै वडाध्यक्ष र पार्टीका साथीहरूको तोडफोड गरिएका घरहरूको अवलोकन गरियो । रात परिसकेको थियो तथापि एमाले पार्टीबाट कन्काई नगर पालिकामा निर्वाचित नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको आगजनी र तोडफोडमा परेको निवासमा पुग्यौं । ‘९३ वर्षको हाराहारीकी आमाको मनमा के पर्यो होला’ भन्ने उहाँको भनाइले साह्रै नरमाइलो लाग्यो । रात परिसकेको थियो, त्यहीँ बास बस्यौं ।
घटस्थापनाको दोस्रो दिन अर्थात् असोज ७ गते पासाङ ल्हामु हलमा नेपाली कांग्रेस झापा क्षेत्र नम्बर १ ले आयोजना गरेको जेनजी आन्दोलनमा जीवन गुमाएकाप्रति श्रद्धाञ्जली एवं अबको राजनीति र अबको नेपाल’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी भयौं ।
निर्धारित समयमा कार्यक्रमस्थल पुग्दा आधाजस्तो मात्र हल भरिएको थियो । बिस्तारै हल पुरै भरियो । हलभित्र र बाहिर गरेर हाराहारी ९ सय जनाको उपस्थितिमा भव्य कार्यक्रम सम्पन्न भयो ।
विशेषत: ‘फ्लोर ओपन’ गरेर जनजीलाई जिज्ञासा र नेपाली कांग्रेसले लिनुपर्ने अबको बाटोबारे आफ्नो अवधारणा राख्न छुट्टयाइएको आधा घन्टाको समय डेढ घन्टाभन्दा समय चलेको थियो ।
नेपाली कांग्रेसका जिल्ला सभापति देउमान थेबे, उपसभापति केशव पाण्डे, प्रदेश सांसद गोपाल तामाङ, नेता राम कट्टेल लगायत नेताहरुको उपस्थितिमा महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो धारणा र उठेका जिज्ञासाबारे प्रष्ट पार्नु भयो ।
कार्यक्रमलगत्तै मेची नगर पालिकाको जलेको भवन, एमाले नेताहरु रविन कोइराला र श्रीप्रसाद मैनालीको घर, नेपाली कांग्रेसका प्रदेश सांसद गोपाल तामाङ, उपसभापति केशव पाण्डे र मेची नगर प्रमुख गोपालचन्द्र बुढाथोकीको घर अवलोकन गर्यौं । नगरका वार्ड कार्यालयहरु आदिको अवलोकन गर्दागर्दै साँझ छिप्पियो । विश्वप्रकाश दाइको फुटाइएको घरमा पुग्यौं र विश्राम लियौं।
भोलिपल्ट पनि मेचीनगर नगरपालिकाका विविध वडा कार्यालय, नेताहरूका तोडफोड र आगजनी गरिएका घरहरुको अवलोकनपश्चात् बिर्तामोडस्थित सुधीर सिवाकोटीको निवासमा पुगेर वर्तमान अवस्थाको बारेमा विश्लेषण गरियो । जिल्ला पार्टी कार्यालयमा पुगेर नेता कृष्णप्रसाद सिटौलासँग कुराकानी गरियो र कार्यालयको अवलोकन गरियो ।
महामन्त्री विश्वप्रकाश शर्माकै प्रस्तावमा हामी नेकपा एमालेको जिल्ला कार्यालयमा गयौं । कार्यालयको अवलोकनपश्चात् एमाले पार्टी कार्यालयको प्राङ्गणमा चिया पानी पिएर छुट्टियौं।
झापाको तोडफोडको कथा फरक थियो । सिधै घरको छतमा पुगेर पानी ट्याङ्की फुटाउने । ट्वाइलेट तोडफोड गर्ने । माथिल्लो तलामा आगजनी गर्ने । अनि दराज निसानामा परेको पाइयो । यसबाट प्रष्ट हुन्छ, आतंक सिर्जना गरेर धन-सम्पत्ति कुम्ल्याउने ।
झापा छोड्ने बेलामा मैले नेपाली कांग्रेस क्षेत्र नं १ का सभापति इन्द्रबहादुर बुढाथोकी, मेची नगर सभापति सुदय पनेरू, धनकाजी खत्रीलगायत साथीहरूलाई मैले स्वर्ण पदकधारीहरु भनेँ ।
उहाँहरुले प्रश्न गर्नुभयो किन ? मैले उत्तर दिएँ, राजनीतिक गतिरोधपश्चात् पहिलो औपचारिक कार्यक्रम झापा क्षेत्र नं १ को मेचीनगरमा भयो नि त । वास्तवमै कार्यक्रमको सफलतापूर्वक सम्पादनपछि डर हराएको थियो । श्वासप्रश्वास सजिलो भयो ।
सुनसरी : वीपीको शालिक ढल्यो
सुनसरीको पार्टी कार्यालय पुग्दा लगभग दिन ढल्किसकेको थियो । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, पूर्वसांसद सीताराम मेहता, जिल्ला सचिव वीरेन्द्र साह, नेता राजन मेहता, सुनील साहका साथै युवा साथीहरु सरोज गुरागाईं, जीवन राईलगायत सयौं साथीहरूको उपस्थितिमा पार्टी कार्यालयको अवलोकन गरियो ।
फुटाइएको वीपी कोइरालाको शालिक, तोडफोड र आगजनी गरिएको कार्यालय भवन नियाल्दा मन खल्लो भयो ।उसो त तराईका जिल्लामा भएका मधेसका क्षेत्रीय दलहरुको आन्दोलन र जेनजी आन्दोलनमा कम्तिमा पनि नेपाली कांग्रेसका पार्टी कार्यालयहरु दुई-तीन पटक फुटाइएका र जलाइएका छन् ।
सप्तरी : आफ्नै पार्टीको सरकारसँग रोष
हनुमाननगरको बाटो हुँदै हामी सप्तरीको सदरमुकामतर्फ बढ्यौं । मित्र इर्शाद अन्सारीले सिधै पार्टी कार्यालयमा पुर्याउनु भयो । पार्टी सभापति रामदेव साह लगायत जिल्ला नेतृत्वका साथीहरूले स्वागत गर्नु भयो ।
फोरिएको र जलाइएको पार्टी कार्यालय केन्द्रीय सदस्य दिनेश यादवसहित अवलोकन गर्यौं । पुराना कुर्सी टेबल जलाइएकाले केही नयाँ कुर्सीहरुको व्यवस्था गरिएको थियो ।
जिल्ला सचिव सनत कुमार मण्डल, युवा नेता अनिल देव, कञ्चनपुर नगर पालिकाका प्रमुख ललन गुप्ता लगायतका साथीहरूले आ-आफ्नो राय प्रस्तुत गर्नुभयो ।
आफ्नो सम्पूर्ण सम्पत्ति जलाइएको र लुटिएको उहाँले बताउनुभयो । संघीय सरकारका मन्त्रीहरुसँग नगर पालिकाको विकासमा सहयोग माग्दा नपाएको भन्दै उहाँहरुले रोष प्रकट गर्नु भयो ।
धनुषा : जलेको संसदबाट संकल्प प्रस्ताव
धनुषाको जनकपुरधाम मधेस प्रदेशको राजधानी हो । हामी सिधैं नेपाली कांग्रेस जिल्ला कार्यालय गयौं। पार्टी सभापति योगेन्द्र पञ्जियार (जोगी) लगायत करिब चार दर्जन साथीहरूले हामीलाई स्वागत गर्नुभयो। महोत्तरी निवासी कांग्रेस नेता बजरंग नेपाली पनि सँगै हुनुहुन्थ्यो ।
यहाँको पनि अन्य पार्टी कार्यालयको जस्तै तस्बिर थियो। अवलोकनपश्चात् छलफल चल्दै गर्दा नेपाली कांग्रेसका प्रदेश सभापति कृष्ण यादव, प्रदेश अर्थमन्त्री एवं रौतहट पार्टी सभापति सुनील यादव (जितेन्द्र) पनि सहभागी हुनु भयो। प्रदेश सरकारको काम कारवाहीप्रति असन्तुष्टिका स्वरहरु उठे । मानिसबाट कमजोरी हुने र सच्याएर लैजाने प्रतिवद्दता कृष्ण यादवले गर्नु भयो।
त्यसपछि हामीले कांग्रेसको प्रदेश कार्यालयका साथै नेता विमलेन्द्र निधि र सहमहामन्त्री महेन्द्र यादवको घर अवलोकन गर्यौं । नेता महेन्द्र यादवकी जीवनसंगिनी घर जलेको र लुटिएको पीडाभन्दा पनि छोराहरु ठूला भइसकेकोमा ढुक्क देखिनुहुन्थ्यो।
हामीले नेता महेन्द्र यादवसहित मधेस-प्रदेशको जलेको संसद भवनको अवलोकन गर्यौं । सभामुखले हामीलाई स्वागत गर्नु भयो । तोडफोड र आगजनी पश्चात् संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको निमित्त संकल्प प्रस्ताव पेश भएको उहाँले जानकारी दिनु भयो।
रौतहट : गौरमा छलफल
चन्द्रनिगाहापुर नगरका प्रमुख सञ्जय काफ्ले र नेपाली कांग्रेसका पूर्वसांसद देवी तिमल्सिनाका क्षतिग्रस्त घरहरुको अवलोकनपश्चात् हामी नेपाली कांग्रेसको जिल्ला कार्यालयमा पुग्यौं । कांग्रेसको जिल्ला कार्यालय गौरमा छ ।
पार्टी सभापति जितेन्द्र यादव (सुनील) ले तोडफोड र आगजनीमा परेको भवनमा स्वागत गर्नु भयो । पार्टी सचिव मित्र मिथलेश मिश्रले केही भूमिकासहित छलफलका लागि फ्लोर खुल्ला गर्नु भयो । सूर्य थापा, श्याम चौलागाईं, दीपक सिंह आदि साथीहरूले आफ्नो अवधारणा राख्नु भयो ।
कार्यक्रममा प्रदेश सभा सदस्य नगेन्द्र शाह, गडिमाई प्रमुख श्यामबाबु यादव, माधव नारायण नगरपालिका प्रमुख वैजु यादव, कटहरिया नगरपालिकाका प्रमुख अजय कुशवाह, परोहा नगर पालिका प्रमुख शेख वकिल लगायत सयौं साथीहरूको उपस्थिति थियो । चन्द्र निगाहापुर नगरपालिका प्रमुख सञ्जय काफ्ले अघिल्लो दिनदेखि हामीसँगै हुनुहुन्थ्यो ।
बारा : कांग्रेसले नै फोडे आफ्नो कार्यालय
युवा मित्र निजामुद्दिनसँगै हामी नेपाली कांग्रेस बाराको पार्टी कार्यालय पुग्यौं । पार्टी सभापति राजेश राय यादव, उपसभापति मनोज भट्ट लगायत साथीहरूसहित वीपीको प्रतिमा र तोडफोड गरिएको कार्यालयको अवलोकन गर्यौं । लामो छलफल भयो । भवन बन्छन्, वीपीको शालिक फेरि बनाउँला तर गम्भीर विषय पार्टीका साथीहरुकै संलग्नतामा कार्यालय फोडिएको चर्चाले नमज्जा लाग्यो । हदभन्दा ज्यादा गुटबन्दी वा लखेट्नै पर्ने प्रवृत्ति समयले निर्क्योल गर्ला ।
पर्सा : निवर्तमान मन्त्रीको जलेको घर अवलोकन
रौतहटबाट सँगै रहेका मिथिलेस मिश्र, सञ्जय काफ्लेलगायतका साथीहरूसहित हामी बीरगञ्जको रामगडुवामा अवस्थित नेपाली कांग्रेसको जिल्ला पार्टी कार्यालयमा पुग्यौं । पार्टी कार्यालयको अवस्था अन्य जिल्लाको जस्तै थियो ।
पार्टी कार्यालयमै पार्टी सभापति जनार्दन क्षेत्रीको सभापतित्वमा अन्तरक्रिया भयो । कार्यक्रममा कांग्रेस नेता सुरेन्द्र चौधरी, उपसभापति रामनारायण कुर्मी, सचिव दिनेश चौधरी, विजय सर्राफ, वीरगञ्ज नगर सभापति मणिन्द्र नेपाली, श्याम पटेल, सन्तोष सिंह, मनोज यादव, कन्हैया झा लगायत करिब डेढ सय साथीहरूको उपस्थिति थियो ।
कार्यक्रम पश्चात् नेपाली कांग्रसका केन्द्रीय सदस्य अनिल रुङ्गाटा र निवर्तमान मन्त्री अजय चौरासियाको आगजनी गरिएको निवासको अवलोकन गरियो ।
मकवानपुर : काठमाडौंपछिको ठूलो क्षति
काठमाडौंपछि धेरै तोडफोड, आगजनी र विध्वंस बेहोर्ने सदरमुकाममा पर्दोरहेछ वाग्मती प्रदेशको राजधानी हेटौंडा । यहाँ कांग्रेसका जिल्ला सभापति बुद्ध लामा, रसुवाका प्रदेश सांसद एवम् वर्तमान प्रदेश अर्थमन्त्री प्रभात लामा लगायतका साथीहरूसँग प्रारम्भिक भेटघाट भयो ।
सिद्धार्थ टोलस्थित कांग्रेस चोकमा जलेको पार्टी कार्यालय अवलोकन गरियो । जिल्ला सभापति बुद्ध लामा, सचिव भीमसेन महत, सह-सचिव इन्द्रिरा न्यौपाने, प्रदेश सभापति दामोदर खनाल, हेटौंडा उपमहानगर उप-प्रमुख राजेश बानियाँ, नेताहरु प्रभात दाहाल, प्रदीप कोइराला, नवराज खतिवडा, दिपक तिवारी लगायत सयौं साथीहरूको उपस्थितिमा छलफल र प्रश्नोत्तर कार्यक्रम भयो ।
भेटघाट र छलफलपछि जलेको प्रदेश संसद भवन, उपमहानगरपालिकाको कार्यालय, कांग्रेसको वाग्मती प्रदेश कार्यालय र मुख्यमन्त्री इन्द्र बाँनियाको निजी निवासको अवलोकन गरियो ।
कांग्रेस सच्चियोस्
जिल्ला भ्रमणका क्रममा निराशा, आक्रोश र दृढताको मनोविज्ञानको अनुभूति नजिकबाट गरियो । दृढताको सम्मान गर्दै निराशा र आक्रोशको न्यूनीकरणको मार्गमा हिँड्नुको विकल्प छैन ।
वर्तमान अवस्था सिर्जनामा नेपाली कांग्रेसको भागमा पर्ने जिम्मेवारी बहन गर्नै पर्दछ । गल्तीहरु स्वीकार गर्ने, माफी माग्ने र काम मार्फत सच्चिएको अनुभुति नागरिकमा सञ्चार गर्न नेपाली कांग्रेस चुक्नु हुँदैन । सच्चिएको कांग्रेसको प्रत्याभूति दिलाउन सामाजिक मनोविज्ञानलाई नेपाली कांग्रेसले गहि गरी बुझ्नु पर्दछ ।
एकातिर सुखद भविष्यको खोजीमा विदेश पलायनको न्यास्रोले निराशा पैदा गरेको छ । अर्कोतिर स्वदेशमा रहँदा बेरोजगारीको तनावले आक्रोश थपिँदो छ । उद्योग, व्यवसायको वातावरण नष्ट भएको छ । स्थापित उद्योगी, व्यवसायीहरु पनि कालो सुचिमा परिरहेका छन् । तनाव व्यवस्थापनमा दुर्व्यसनको मात्रा बढेको छ ।
हाम्रो सार्वभौमिकता चारैतिरबाट चेपुवामा परेको छ । यस परिस्थितिको सामना परम्परागत गुटीय वकालतबाट सम्भव छैन । तसर्थ, असोज २६ गते बस्ने नेपाली कांग्रेसको बैठक सर्वाधिक महत्त्व र चासोको विषय बनेको छ । बदलिएको परिस्थितिको सम्बोधन र पार्टीभित्रका विचारहरुको वैधानिक निकासमा नेपाली कांग्रेस पुग्नै पर्दछ ।
नेपाल देशले व्यहोरेको मानसिक पीडाको निवारणको मार्गचित्र परिपक्व नेपाली कांग्रेसको नेतृत्वले अवश्य गरोस् ।
(हाल काठमाडौं निवासी गुरागाई नेपाली कांग्रेसका महासमिति सदस्य हुन् । )
प्रतिक्रिया 4