
२६ असोज, धनगढी । कैलालीमा मध्यरातमा घरमा आक्रमण गरेपछि भागेका युवक मृत अवस्थामा फेला परेका छन् । मृत भेटिनेमा गोदावरी नगरपालिका–१० ओलानीका ३५ वर्षीय शेरबहादुर चौधरी रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रणबहादुर चन्दले चौधरी मंगलबार गोदावरी र ओलानी खोलाको दोभानमा मृत अवस्थामा भेटिएको बताए । प्रहरीकाअनुसार सोमबार राति दुई जना युवकले घरमै आक्रमण गरेपछि उनी भागेका थिए ।
भागेर बेपत्ता भएका चौधरी सम्पर्कमा नआएपछि खोज्ने क्रममा मृत फेला परेको डीएसपी चन्दले बताए । चौधरीको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । सोमबार मध्यराति चौधरीको घरमा आक्रमण गर्न पुगेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चौधरीका छिमेकी समेत रहेका लक्की मल्ल र डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका विकास मल्ल रहेको डीएसपी चन्दले बताए । उनकाअनुसार दुवै जनाविरुद्ध ज्यान सम्बन्धी मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको छ ।
दोहोरी साँझमा भएको थियो लफडा
२३ असोजको साँझ मृतकको घरमा पुगेर अहिले पक्राउ परेका विकास र लक्की मल्लले लोकल कुखुरा र मदिरा खाएको खुलेको छ । मृतकका सहोदर भाइ रमेश चौधरीसँगै कुखुरा र मदिरा सेवन गरेका उनीहरू सोही राति अत्तरियामा रहेको दोहोरी साँझमा गएका थिए ।
प्रहरीकाअनुसार दोहोरी साँझमा रमाइलो गर्ने क्रममा रमेश चौधरीको त्यहाँका कर्मचारीसँग विवाद भएको थियो । विवादका क्रममा सँगै रहेका लक्कीले उनको गालामा झापट हानेर विवाद नगर्न भनेका थिए ।
तर, रमेशले तत्कालै फोन गरेर दाजु शेरबहादुर (मृतक) चौधरीलाई बोलाएका थिए । छिमेकी नवराज भट्टसहित दोहोरी साँझ पुगेका शेरबहादुरले भाइलाई कुटपिट गरेको भन्दै लक्की मल्ललाई झापट हानेका थिए ।
भाइ रमेशलाई लिएर घर गएका थिए तर विकास र लक्की मल्ल पनि उनीहरुको पछिपछि गएका थिए । पिछा गर्दै चौधरीको घरमा पुगेका उनीहरूले ढोका फुटाएर आक्रमण गरेपछि शेरबहादुर चौधरी राति नै भागेका थिए ।
छिमेकी नवराज भट्टलाई टेलिफोन गरेर आक्रमण गरेपछि आफू भागेको बताउँदै शेरबहादुरले आक्रमण गर्न घरमै आइरहेको सूचना दिएका थिए । उक्त सूचनापछि नवराजकी आमाले उनलाई लुकाएर राखेकी थिइन् भने तत्काल प्रहरीलाई खबर गरिएको थियो ।
इलाका प्रहरी कार्यालय मालाखेतीबाट आएको प्रहरी टोलीले दुवै जनालाई नवराज भट्टको घरमा आक्रमण गर्न गएका बेला पक्राउ गरेको थियो । घरमा आक्रमण गरिएपछि भागेका शेरबहादुर चौधरी मृत भेटिएपछि घटना शंकास्पद रहेकाले प्रहरीले अनुसन्धान अघि बढाइएको जनाएको छ । चौधरीका परिवारले भने उनको हत्या गरिएको भन्दै दोषीलाई कारबाहीको माग गरेका छन् ।
प्रतिक्रिया 4